
१४ असार, डोटी । कञ्चनपुरको गड्डाचौकी सीमा नाका खोल्न भारतीय व्यापारीहरुले माग गरेका छन् । भारतीय सीमावर्ती बजार वनवसाका व्यापारीहरुले आफ्नो व्यापार व्यवसाय ठप्प रहेको भन्दै सीमा नाका खोल्न माग गरेका हुन् ।
प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवसा (चम्फावत)ले भारतस्थित नेपाली दूतावासलाई ज्ञापनपत्र पठाउँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेको हो । भारतीय सीमा क्षेत्रमा रहेका व्यापारीहरुको कारोबार करिब ९५ प्रतिशत नेपालमा निर्भर रहेको र लामो समयदेखि व्यापार ठप्प हुँदा आफूहरु मर्कामा परेको उनीहरुको भनाइ छ ।
ज्ञापन पत्रमा नेपालको महेन्द्रनगर लगायतका क्षेत्रका व्यापारीबाट वनवसाका व्यापारीबाट मालसामान उधारो लिएको लाखौं रुपैयाँ सीमा सिल भएका कारण असुल हुन नसकेको उल्लेख छ । नेपालका व्यापारीहरुबाट उधारो असुली हुन नसक्दा उताका व्यापारीको उधारो तिर्न समस्या भएकोले नाका खुलाउन माग गरिएको प्रान्तीय यव्यापार मण्डल वनवसाका जिल्ला उपाध्यक्ष संजय अग्रवालले बताए ।
उत्तराखण्ड प्रदेशका मुख्यमन्त्रीमार्फत नयाँ दिल्लीस्थित दूतावासमा पठाइएको ज्ञापन पत्रमा उधारो पैसा असुल गर्न र नयाँ कारोबार सञ्चालन गर्न सहज वातावरण सिर्जना गरिनु पर्ने माग गरिएको अग्रवालले वताए ।
ज्ञापन पत्रमा भारतीय सेनाबाट सेवानिवृत्त सैनिकहरुलाई निवृत्त भत्ता बुझ्नका लागि सीमा नाकामा सहजै आउजाउ गर्न दिइएको प्रसंग उल्लेख गर्दै भारतीय व्यापारीहरुलाई पनि सोही व्यवस्था गर्न माग गरिएको छ । कोरोना महामारीका कारण गत मार्च २१ बाट नाका अवरुद्ध भएको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रतिक्रिया 4