
१४ असार, काठमाडौं । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक–साँगा खण्डमा सडक छेउको रुख काट्न सुरु रहेको छ । रुख बुढो भएको र जुनसुकै बेला ढल्न सक्ने भन्दै काट्न सुरु गरिएको हो ।
सडक डिभिजन प्रमुख विष्णुप्रसाद काफ्लेका अनुसार करिब ३ सय वटा रुख काट्न लागिएको हो । ‘यो वर्ष सडकमा ४ वटा रुख ढले, यसले दुर्घटनाको जोखिम बढायो,’ उनले भने, ‘वन र सडक विभागसँग अनुमति लिएर काट्न थालेका हौं ।’
उनले यस सडक खण्ड छेउका रुखको आयु सकिएको बताए । कति रुखहरु सुकिरहेको सडक डिभिजन प्रमुख काफ्लेले यी रुख त्यतिकै छाड्दा जुनसुकै बेला मानवीय र भौतिक क्षति हुन सक्ने दावी गरे ।
सूर्यविनायक – साँगा सडक यही वर्ष ६ लेनको बनाउन बजेट विनियोजन पनि भएको छ । ‘अब साइट पनि क्लियर गर्दै जानुपर्छ, त्यसैले यी रुख हटाएर सडक विस्तारको पूर्वतयारी पनि थालेका हौं’ उनले भने ।
सरकारले यो वर्ष सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि एक अर्ब बजेट छुट्याएको छ । वैदेशिक सहायतामार्फत बजेट लिने भनिए पनि कुन दाताले बजेट दिन्छ भन्ने टुंगिन बाँकी छ ।
यसअघि यो खण्ड विस्तारका लागि जापानी सहयोग नियोग जाइकाले लगानी गर्न चासो देखाएको थियो । डिजाइन तयार भएपछि तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले महंगो लागतको कारण देखाउँदै सम्झौता अघि बढाउन दिएका थिएनन् ।
त्यसपछि नेपाल र जापानबीच सडकका विषयमा वार्ता भएको छैन । विभाग भने फेरि जापानलाई यो परियोजनामा फर्काउने योजनामा छ ।
प्रतिक्रिया 4