+
+

राप्रपा अध्यक्ष लोहनीको आरोप- केपी ओली श्री ३ नवसामन्तवादी !

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते १२:५०

१५ असार, काठकाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीलाई नवसामन्त, श्री ३ को संज्ञा दिएका छन् । ओलीले आफूबाहेक नेपालमा कोही देशभक्त छैनन् भनेर नेपाली जनताको अपमान गरेको डा. लोहनीको प्रतिक्रिया छ ।

‘सम्माननीय प्रधानमन्त्रीजी, नेपालको नयाँ नक्सा जारी गरेवापत विदेशी र स्वदेशी मिलेर तपाईलाई हटाउन प्रयास हुँदैछ भन्ने तपाईको आरोप पढियो’ डा. लोहनीले भनेका छन्, ‘तपाईको विश्लेषण गलत छ, किनभने तपाईलाई हटाउन तपाईं आफैं कस्सिएर लाग्नुभएको छ, एकपटक शान्त भएर आफूले आफूलाई हेर्नुहोस् थाहा पाउनुहुनेछ ।’

सही कुरामा जनता र दलहरुले प्रधानमन्त्री ओलीलाई साथ दिएको बताउँदै डा. लोहनीले भनेका छन्, ‘तपाईंले भद्रभलादमी प्रतिपक्ष पाउनुभएको छ जो तपाईंको हत्तपत्ति विरोध गर्दैनन् । नयाँ नक्साको बारेमा तपाईको पार्टी र अन्य सबै पार्टी तथा आम नेपाली जनताले तपाईलाई साथ दिएका छन । विचार गर्नुहोस्, कुनै विदेशीको मुख हेरेको भए यो एकता सम्भव हुने थिएन र संसदबाट सिमाना सम्बन्धी प्रस्ताव निर्विरोध पारित हुने थिएन ।’

डा. लोहनीले अगाडि भनेका छन्, ‘यो देख्दादेख्दै अरुलाई विदेशीबाट सञ्चालित भन्नु तपाईंबाहेक अरु कोही नेपालमा देशभक्त छैनन् भन्नु हो । यो भनाइले तपाई सबै नेपाली जनताको अपमान गर्दै हुनुहुन्छ । आफू बाहेक अरु सबैलाई विदेशीबाट सञ्चालित छन् भन्ने दृष्टिकोण तपाईको कमजोर र हतास मनस्थितिको परिचायक हो ।’

प्रधानमन्त्री ओलीलाई डा. लोहनीले नवसामन्तवादी श्री ३ को संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘तपाईको विरोध तपाईको श्री ३ शैलीको अधिनायकवादी र सर्वसत्तावादी सँस्कार, भ्रस्टाचारलाई राजनीतिको प्रमुख अंग सम्झने प्रवृत्ति र आफ्ना भारदारहरुलाई देश जति लुटे पनि लुट्न छुट दिने तपाईंको नवसामन्ती प्रवृत्तिको कारणले हो ।’

डा. लोहनीले प्रधानमन्त्री ओलीलाई कडा आलोचना गर्दै भनेका छन्, ‘प्रजातन्त्रका नाममा आजको नयाँ पिँढीले तपाईको भारदारी शासन स्वीकार गर्दैनन् । यदि म गल्ती हँु भने तपाईले ओम्नी काण्ड, यती जग्गा काण्ड, वाइडबडी जहाज कमिसन काण्ड, न्यारो बडी हवाईजहाज काण्ड, सुन काण्ड, एनसेल काण्ड जस्ता अनैको विवादको न्यायिक छानविन गर्ने घोषना गर्नुहोस् । साथै सबै दलका नेताहरुको सम्पत्ति छानविन गर्न अधिकार सम्पन्न आयोग गठन गर्ने हिम्मत गर्नुहोस् ।’

राप्रपा अध्यक्ष डा. लोहनी सामाजिक सञ्जालमा प्रधानमन्त्रीमाथि टिप्पणी गर्दै भन्छन्, ‘तर यो दुई वर्षमा सबैले देखिसके, तपाईं यो नवसामन्तवादमा अडेको ‘नौलो बहुदलीय भारदारी जनवाद’ अन्त गर्ने नैतिक हिम्मत तपाईमा छैन । त्यसैकारण तपाईका शुभचिन्तकहरु पनि तपाईबाट देश चल्दैन भन्ने निचोडमा पुगेका हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?