
१५ असार, काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकामा कोरोना संक्रमितको उपचार गर्न भेन्टिलेटरसहितको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।
गण्डकी गाउँपालिका–१ मकैसिंको प्राथमिक स्वास्थ्य केन्द्रमा बनाइएको १० बेडको आइसोलेसनमध्ये ४ वटामा अक्सिजनसहितको भेन्टिलेटर छ ।
हाल यहाँको आइसोलेसनमा गण्डकी गाउँपालिकाका ५ जना कोरोना संक्रमितलाई राखिएको छ । यसअघि यहाँका कोरोना संक्रमितलाई सदरमुकामस्थित गोरखा अस्पतालको आइसोलेसनमा लगिएकामा अहिले मकैसिं प्राथमिक स्वास्थ्य केन्द्रमा नै राखिएको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले जानकारी दिए ।
आइसोलेसन र भेन्टिलेटरको व्यवस्थापन गण्डकी गाउँपालिकाले नै गरेको हो । ‘अहिले १० बेड छ, आवश्यक पर्दा १३ जनासम्म संक्रमितको व्यवस्थापन गर्न सकिन्छ’ उनले भने ।
यहाँ हाल दुई जना चिकित्सक कार्यरत छन् । गाउँपालिकाको अन्य स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी पनि थपेर स्वास्थ्यकर्मी अभाव हुन नदिइएको गुरुङले बताए । गण्डकी गाउँपालिकामा हालसम्म १५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १० जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया 4