
१५ असार, काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी कम्प्याक्ट कार्यान्वयन सुरु हुने मिति पुनर्विचार गर्नुपर्ने जनाएको छ । एमसीए नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारणले गर्दा कार्यप्रगतिमा अवरोध सिर्जना भएको हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मितिमा पुनर्विचार आवश्यक देखिएको छ ।’
पूर्वनिर्धारित मिति १६ असार २०७७ देखि कार्यान्वयन सम्भव नभएको भन्दै एमसीए नेपालले यस्तो आग्रह गरेको हो । कार्यान्वयन सुरु हुनुभन्दा पहिले पूरा गर्नुपर्ने प्रक्रिया छिटो सम्पन्न गर्न आफूहरू सक्रिय रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
‘एमसीए–नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडि बढाउनका लागि छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्वशर्त पूरा गर्नका लागि सम्बन्धित सबै पक्षसँग क्रियाशील रहेको छ’, एमसीए नेपालले भनेको छ ।
प्रतिक्रिया 4