+
+

चौरपाटी गाउँपालिकाको कार्यक्रम– फल्याको कोदो, कुट्याको धान

दिनभरी कोदो रोप्नुहोस्, पाँच किलो चामल लैजानुस्

रामहरि ओझा रामहरि ओझा
२०७७ असार १६ गते ११:०९

१६ असार, डोटी । अछामको चौरपाटी गाउँपालिकाले कोदो खेती प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याएको छ । सातौं गाउँसभाबाट कोदोको उत्पादन वृद्धि गर्न ‘फल्याको कोदो, कुट्याको धान’ भन्ने कार्यक्रम अगाडि सारेको हो ।

यस कार्यक्रमअनुसार किसानहरुले फलाएको कोदो गाउँपालिकाले सबै संकलन गर्नेछ र गाउँपालिकाले सो बराबर उनीहरुलाई चामल दिनेछ ।

गाउँपालिकामा कोदो धेरै फल्ने तर किसानले मूल्य नपाउने, सम्मान पनि नपाउने भएपछि कोदो बालीलाई हेंला गर्न थालियो । त्यसैले उत्पादनमा वृद्धि गर्न यो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँद बताउँछन् । ‘चामलको मूल्य दुई हजार पाँच सय रुपैयाँ कट्टा छ, कोदोको मूल्य सात सय रुपैयाँ,’ अध्यक्ष साउँदले भने, ‘गाउँपालिकाले एक किलो कोदो बराबर एक किलै चामल दिने छ ।’ त्यसका लागि गाउँपालिकाले अनुदान छुट्याएको समेत उनले वताए ।

असार १६ गते ‘कोदो दिवस’

गाउँपालिकाले प्रत्येक वर्ष असार १६ गते कोदो दिवस मनाउनेसमेत निर्णय गरेको छ । अध्यक्ष साउँदले भने ‘यस वर्ष त कोरोनाको महामारीका कारण धुमधामसँग मनाउन सकिँदैन, त्यसैले सांकेतिक रुपमा मनाउँछौं, तर अर्को वर्षदेखि धुमधामसँग कोदो दिवस मनाउँछौं ।’ उनले मंगलबार प्रत्येक वडामा कोदो दिवसका लागि कोदो गोड्ने बताए ।

कोदो उत्पादक किसानहरुको मनोबल बढाउनका लागि गाउँपालिकाले कोदो दिवस मनाउने निर्णय गरेको उनले बताए ।

दिनभरी कोदो रोप्नुहोस्, पाँच किलो चामल लैजानुस्

चौरपाटी गाउँपालिकाले दिनभरी कोदो रोपे ज्यालावाफत दैनिक पाँच किलो चामल दिने निर्णय गरेको छ ।

लामो समयसम्म रोजगारीको सिलसिलामा भारत गएकाहरु फर्केर आएपछि उनीहरुलाई रोजगारी दिन यस्तो व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष साउँद बताउँछन् । ‘यसले दुई फाइदा गर्छ,’ अध्यक्ष साउँद भन्छन्, ‘एकातिर कोदोको उत्पादन वृद्धि हुन्छ, अर्कोतिर भारतबाट आएर दैनिक छाक टार्न समस्या भएकाहरुलाई राहत पुग्छ ।’

घर खेत बाँझो राखेर परिवारसहित भारत गएकाहरु वर्षौंपछि घर आएकाले उनीहरु फेरि आफ्नै माटोमा उत्पादन सुरु गरुन् भन्नका लागि यो योजना अघि सारिएको उनले थपे । प्रत्येक वडाबाट दैनिक छाक टार्न धौ–धौ भएका ३० परिवारका दरले सातवटै वडाबाट दुई सय १० परिवारका लागि यो कार्यक्रम सञ्चालन गरिने अध्यक्ष साउँदले बताए । उनले बुधवारदेखि यो अभियान सुरु हुने समेत बताए । उनले कोदो, भटमास, गहत, मास गाउँमा जति उत्पादन भए पनि बजारका लागि किसानहरुले चिन्ता गर्नु नपर्ने बताए ।

समर्थन मूल्य तोकियो

गाउँपालिकाले कोदोलाई चामलसँग सरी (बराबरी) मा साट्ने भएको छ भने दलहन बालीको समर्थन मूल्य तोकेको छ । ‘पहाडमा उत्पादन वृद्धि नभएसम्म समृद्धि आउँदैन,’ अध्यक्ष साउँद भन्छन्, ‘तराईबाट चामल ल्याएर आउने ट्रकहरु यताबाट पनि भरिएर जाने अवस्था बनाउनु जरुरी छ, त्यसैले किसानहरुलाई उत्साहित हुने कार्यक्रम ल्याएका छौं ।’ उनले कालो भटमास प्रतिकिलो ६०, खैरो ५५ र सेतो ५० रुपैयाँ समर्थन मूल्य तोकिएको बताए । यस्तै गहत र मासको प्रतिकिलो एक सय रुपैयाँ तोकिएको उनले जानकारी दिए ।

गाउँपालिकाको उक्त निर्णयले किसानहरुमा खुशी छाएको चौरपाटी गाउँपालिका—४ का झंकर कुँवर बताउँछन् । उनले भने, ‘कोदोको बजार छैन भनेर किसानहरु धानका लागि मरिहत्ते गर्थे, अब कोदो बालीमा पनि मेहनत गर्नेछन् ।’ गाउँपालिका भित्रको करिब ८० प्रतिशत कृषियोग्य भू–भागमा कोदो फल्ने गरेको उनी बताउँछन् ।

कोदो उपहार दिइने

चौरपाटी गाउँपालिकाले कोदोको प्याकिङ्ग गर्ने योजना बनाएको छ । किसानहरुबाट संकलन गरेको कोदो प्याकिङ्ग गर्ने र गाउँपालिकाको ब्राण्डमा बिक्री गर्ने गरी तयारी भइरहेको जनाइएको छ ।

त्यतिमात्रै नभएर बाहिरबाट गाउँपालिकामा आउने पाहुनाहरुलाई समेत कोदो उपहार दिइने अध्यक्ष साउँद बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?