Comments Add Comment

सचिवालयमा टरेको प्रधानमन्त्रीको राजीनामा स्थायी कमिटीमा सर्‍यो

नेताहरु भन्छन्– प्रधानमन्त्री भनेको पार्टीको प्रधानमन्त्री हो

१६ असार, काठमाडौं । नेकपा सचिवालयबाट टरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट स्थायी कमिटीमा सरेको छ । दुई दिन स्थगित भएर मंगलबारदेखि पुनः शुरु हुने बैठकमा प्रचण्ड–माधव नेपाल पक्षले सरकार र पार्टी सञ्चालन दुवै मोर्चामा असफल भएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ ।

गत बुधबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा अहिलेसम्म नक्सा र सीमा समस्याबारे छलफल भएकाले प्रधानमन्त्रीको आलोचना भइसकेको थिएन । कार्यसूचीमा रहेको सरकार र पार्टीको कामको समीक्षामा प्रवेश गरेपछि स्थायी कमिटीको बहुमतले ओलीलाई पद त्याग्न दवाब दिने संकेत नेताहरुले गरेका छन् ।

प्रचण्ड र माधव नेपाल पक्ष मिलेपछि स्थायी कमिटीमा अर्का अध्यक्ष ओली अल्पमतमा छन् ।

नेकपा स्रोतका अनुसार सरकारको कामको समिक्षा हुँदा प्रधानमन्त्रीबाट हट्न र पार्टी कामको समीक्षा हुँदा अध्यक्षबाट हट्न ओलीलाई दबाव दिने तयारी अर्को पक्षको छ ।

यसअघि सचिवालय बैठकबाटै ओलीलाई हटाउने प्रयास भउको थियो । तर, अन्तिम घडीमा वामदेव गौतमले ओलीलाई साथ दिएका कारण प्रधानमन्त्री हटाउने प्रस्ताव सम्भव भएको थिएन ।

त्यसबेला दुवै पक्षले संसदीय दलमा बहुमत जुटाउन सांसदहरुको हस्ताक्षरसमेत संकलन गरिसकेका थिए ।

तर, सचिवालय र संसदीय दलमा दुवै पक्षले बहुमत जुटाउन नसकेकै कारण त्यसबेला ओली हटाउने प्रयास असफल भएको थियो । प्रधानमन्त्री ओलीले त्यो परिघटनालाई ‘पार्टी फुटाउने बहुमतीय खेल’ को संज्ञा दिएका छन् । भने ओलीइत्तर पक्षले हसताक्षर संकलन गरेर प्रधानमन्त्रीले फार्टी फुटाउन खोजेको प्रत्यारोप लगाउँदै आएका छन् ।

अब जारी स्थायी कमिटी बैठकले नेकपाभित्रको अन्तरविरोध कसरी समाधान गर्ला ? अहिले नै अनुमान लगाउन सकिन्न । तर, दुबै समूहका नेताहरुका पछिल्ला अभिव्यक्तिले नेकपा ठूलै संकटमा पुगेको अनुमान लगाउन सकिन्छ ।

शनिबार मदन जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतसहित देशभित्रैका मान्छेहरु लागेको गम्भिर अभिव्यक्ति दिनुले उनी सत्ता संकटमा परेको सहजै अनुमान लगाउन सकिन्छ । तर, यो संकट भनेको नेकपाभित्रबाट बाहेक अन्यत्रबाट सम्भव छैन ।

किनकि, संसदमा नेकपाको सुविधाजनक बहुमत रहेकाले ओलीलाई हटाउने सामथ्र्य उनकै पार्टीबाहेक अरु कुनै आन्तरिक र बाह्य शक्तिसँग छैन । त्यसोभए नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीलाई पद त्याग गर्न निर्देशन दिन सक्ला त ?

हामीले संस्थापन पक्षमा रहेका नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललाई सोध्यौं, प्रधानमन्त्रीको राजीनामा सचिवालयबाट केही समय टरेको थियो, अब स्थायी कमिटीमा सरेको हो ?

जवाफमा पोखरेलले भने, ‘प्रधानमन्त्री बन्ने आफ्नो विधि र प्रक्रिया छ । प्रधानमन्त्री हटाउने पनि त्यसका विधि र प्रक्रिया हुन्छन् । तपाईले भनेजस्तो हाम्रो स्थायी कमिटी बैठकमा बहुसंख्यक सदस्यले प्रधानमन्त्रीलाई छाड्नुस् भन्नुहोलाजस्तो मलाई लाग्दैन ।’

उता, माधव नेपाल पक्षका स्थायी कमिटीका सदस्य रघुजी पन्तचाहिँ प्रधानमन्त्री ओलीले स्थायी कमिटीका सदस्यहरुको विश्वास जित्न सक्नुपर्ने बताउँछन् । पन्त भन्छन्, प्रधानमन्त्रीले पार्टीको स्थायी कमिटीको विश्वास जित्न सक्नुभएन भने त उहाँलाई प्रधानमन्त्री कसले बनाएको ? पार्टीले नै बनाएको हो ।

माधव नेपाल पक्षकै अर्का स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेको भनाइ पनि पन्तको जस्तै छ । प्रधानमन्त्री पार्टीले बनाउने हुँदा फिर्ता पनि बोलाउन सक्ने पाण्डे बताउँछन् ।

‘उहाँलाई प्रधानमन्त्री नै नेकपाले बनाएको हो । हामीले सरकार र पार्टीको कामको समीक्षा गर्ने एजेण्डा राखेका छौं’ नेकपा नेता पाण्डेले अनलाइनखबरसँग भने, ‘कुर्सीमा पुगेपछि मलाई कसैले हटाउन सक्दैन भन्ने लाग्न सक्छ । तर, शाहवंशीय शासन त हट्यो भने निर्वाचित शासन हट्न सक्दैन ? कुर्सी र सडक म्यानेज गर्न सकेनौं भने हामी समस्यामा पर्छौं, अहिले भइरहेको यही हो ।’

नेकपाभित्र अहिले देखा परिरहेको समस्या सामान्यखालको नरेहेको पाण्डेको विश्लेषण छ । उनी भन्छन्, ‘परिस्थिति चाहिँ धेरै नै गाँठो परेको देखेको छु मैले । यो अहिलेको परिस्थिति सहज छैन, मैले बुझेको यत्ति नै हो । नेकपाको इतिहासमै धेरै अप्ठेरो स्थिति आइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment