Comments Add Comment

भारतमा कोरोना खोपको परीक्षण जुलाईदेखि सुरु हुने

१६ असार, काठमाडौं । आगामी जुलाई महिनामा भारतमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको परीक्षण सुरु हुने भएको छ । हैदराबादको एक फर्मा कम्पनी भारत बयोटेकले निर्माण गरेको खोपको प्रयोग मानिसमा सुरु हुन लागेको हो । यो खोपको परीक्षण स्वयंसेवकहरुबाट सुरु गरिने बताइएको छ । यद्यपि कम्पनीले कति मानिसमा खोपको परीक्षण गरिन लागेको हो भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन ।

कम्पनीका अनुसार जनावरमा गरिएको परीक्षणमा यो खोपको नतिजा उत्साहबर्द्धक देखिएको छ । साथै यो खोप सुरक्षित पनि देखिएको छ । विश्वका धेरै मुलुकहरु अहिले कोरोना भाइरसविरुद्धको खोपको परीक्षण गरिरहेका छन् ।

भारतले बनाएको यो कोरोना विरुद्धको पहिलो खोप हो । भारतको औषधि नियामकले भारत बायोटेकलाई पहिलो र दोस्रो चरणको मानिसमा गरिने परीक्षणको लागि अनुमति दिएको छ । भारत बायोटेकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मानिसमा गरिने दुई चरणको परीक्षणमा पहिलोमा यो खोप वास्तवमा सुरक्षित छ कि छैन भनेर हेरिनेछ भने दोस्रो चरणको परीक्षणमा यो खोप संक्रमणको असर रोक्न कत्तिको सफल हुन्छ भन्ने कुराको अध्ययन हुनेछ ।

कम्पनीका प्रवक्ताले भारतमा संक्रमित भइसकेका मानिसबाट पाइएको नमुनाले खोप निर्माणको लागि ठूलो सहयोग पुर्‍याएको बताएका छन् । यद्यपि विश्वव्यापीरुमा कोरोना भाइरस र यसमा कस्तो किसिमको अन्तर छ भन्ने कुराको लागि भने अर्को अध्ययन जरुरी रहेको उनको भनाइ छ ।

कम्पनीले यो खोपलाई ‘कोवाक्सिन’ नाम दिएको छ । यो खोप इन्डियाज नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको सहयोगको निर्माण गरिएको हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment