Comments Add Comment

त्रिशूलीमा बेपत्ता स्करपियोका धनी प्रहरी सम्पर्कमा

२० असार, चितवन । बिहीबार त्रिशूली नदीमा खसेको गाडी नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो रहेको खुलेको छ । शुक्रबार स्करपियोका धनीले इलाका प्रहरी कार्यालय गजुरीमा गाडी र चालक हराएको भन्दै निवेदन दर्ता गरेपछि सो गाडी खसेको निष्कर्ष प्रहरीले निकालेको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज खड्काका अनुसार गाडीधनीका तर्फबाट शङ्करप्रसाद घिमिरेले दिएको निवेदनअनुसार ग २ च ९१५६ नम्बरको सो गाडी बिहान ६ बजे मुग्लिन कटेको थियो । घिमिरेका अनुसार चालक गैँडाकोट नगरपालिका वडा नं. २ निवासी ४६ वर्षीय मोहनिलाल पाण्डेले आफू यात्रु लिन काठमाडौँ जाँदै गरेको भन्दै बिहान ६ बजे मुग्लिनबाट फोन गरेका थिए । त्यसको केहीबेरपछि फोन सम्पर्कविहीन भएको थियो ।

खड्काले ६ बजे मुग्लिन कट्नु, प्रत्यक्षदर्शीले भनेकै रङको गाडी हुनु, मोबाइलको टावरको अन्तिम बिन्दु कुरिनटार हुनु, चालक र गाडी सम्पर्कविहीन हुनुजस्ता कारणले सो गाडी र चालक बेपत्ता भएको अनुमान गरिएको बताए । गाडीधनी अनिल शर्मा न्यौपानेका जेठान शङ्करप्रसाद घिमिरेले प्रहरीमा गाडी र चालक खोजी गरिदिन शुक्रबार निवेदन दिएको प्रहरीले जनाएको छ ।

त्रिशूली नदीमा गाडी खसेको प्रत्यक्ष देखेपछि स्थानीय सुनमाया चेपाङले प्रहरीलाई खबर गरेकी थिइन् । सशस्त्र प्रहरीको तालीम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीका अनुसार गाडी खसे लगत्तैबाट खोजी गर्दा पनि हालसम्म भेटिएको छैन ।

गाडी खोज्न सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ । घटनास्थल चितवनको सीमा क्षेत्रको धादिङ जिल्लामा पर्ने बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोला पर्दछ । गाडी खोजी गर्न इलाका प्रहरी कार्यालय गजुरीले चितवन प्रहरीलाई पत्राचार गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment