Comments Add Comment

गोरखा अस्पतालमा कोरोना संक्रमितको मृत्यु

२० असार, काठमाडौं । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।

गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाले ती पुरुषको शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको जानकारी दिए । उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन राति ९ः५५ बजे आइसोलसनमा राखेर उपचार सुरु गरिएको थियो । डा. थापाका अनुसार उनी डाइबिटीजको दीर्घरोगीसमेत थिए ।

असार १६ गते कतारबाट आएका थिए

ती पुरुष यही असार १६ गते कतारबाट आएका थिए । उनलाई पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ लगातार खोकी लागेपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेनमा लगिएको थियो ।

गोरखा पालुङ्टारका ४४ वर्षीय पुरुषको मृत्यु भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० र ५५ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment