Comments Add Comment

‘उपत्यकाकै ढलमा भेटियो कोरोना भाइरस’

अनुसन्धानका क्रममा ढलका नमूना संकलन गर्दै सेन्टर फर मोलिक्युलर डायनामिक नेपाल (सीएमडी) को टोली ।

२० असार, काठमाडौं । उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको छ । उपत्यकाभित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको हो।

सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनका लागि काठमाडौं उपत्यकाको मुख्य सहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो ।

उक्त अध्ययनले उपत्यकामा समुदायमा संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्यले बताए । उनका अनुसार अन्य देशका अध्ययनहरूले कोरोना संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने सार्स २ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको छ । जसअनुसार केही देशमा यस्ता अध्ययनहरू भइसकेका छन् । नेपालमा पनि सोही आधारमा अध्ययन गरिएको उनले बताए ।

‘नेपालमा पनि संक्रमणको दर बढ्दै जाँदा हामीले ढलको स्याम्पल ल्याएर अनुसन्धान गर्यौं, जसबाट चार ठाउँमध्ये दुई ठाउँमा कोभिड १९ को भाइरस रहेको फेला पार्यौं,’ डाक्टर कर्मचार्यले भने ।

उनले थपे, ‘कुनै एक जना व्यक्तिको दिसा ल्याएर परीक्षण गरिएको होइन्, पूरै बस्तीको ढलको नमुना ल्याइएको हो, पूरै बस्तीका मानिसमध्ये जसलाई पनि (धेरैलाई, तर सबैलाई होइन)संक्रमण हुन सक्छ ।’

यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको देखाउने डाक्टर कर्माचार्य बताउँछन् । यसरी अध्ययन गर्दा संक्रमण फैलिइएको क्षेत्रको पहिचान हुने उनी बताउँछन् । जसको कारण समुदायमा संक्रमण पत्ता लगाउन परीक्षण गर्दा किटहरू समेत बचत हुनेछ ।

यो पनि पढ्नुहोस काठमाडौं उपत्यकामा कोरोना ‘लोकल ट्रान्समिसन’को झिल्को

उनका अनुसार यो अध्ययनलाई आधार मानेर ढलमा संक्रमण देखिएको क्षेत्रका मानिसमध्येबाट जोखिम समूह छुट्याएर परीक्षण गर्न सकिन्छ । त्यो गर्दा उपत्यकाका सबै ठाउँका सबै मानिसको परीक्षण गर्न जरुरी हुँदैन । ‘यस्तो अध्ययनले संक्रमण फैलिएको क्षेत्र थाहा भइहाल्छ, त्यो थाहा पाएपछि पहिला दीर्घरोगी, वृद्धहरू र जोखिम समूहका मानिसलाई प्राथमिकता दिएर परीक्षण गर्न सकिन्छ,’ उनले भने, ‘यसो गर्दा राज्यको धेरै किट, जनशक्ति, स्रोत र खर्च बच्छ ।’

प्रारम्भिक अनुसन्धानमा नै यस्तो तथ्य फेला परेपछि नतिजा सार्वजनिक गरिएको उनले बताए । ‘हामी अझै धेरै ठाउँको ढलको नमुना परीक्षण गरेर विस्तृत अध्ययन गर्छौं,’ उनले भने ।

जनस्वास्थ्य वैज्ञानिक समिरमणि दीक्षितका अनुसार भाइरसको थोरै मात्र परीमाण भयो भने ढलबाट जाँच गर्दा भाइरस पत्ता लाग्दैन । यो अध्ययनले उपत्यकाका केही ठाउँका धेरै मानिसमा संक्रमण देखाएको उनी बताउँछन् । उनले भने, ‘अब हामी ललितपुरको वडावडाको अनुसन्धान गर्छौं ।’

यो अध्ययनको नतिजाले तीन वटा महत्वपूर्ण सन्देश दिएको जनस्वास्थ्य वैज्ञानिक दीक्षित बताउँछन् ।

पहिलो– समुदायमा संक्रमण छ/छैन भन्ने अलमलको अन्त्य ।

दोस्रो– यति धेरै केसहरू हुँदा पनि अधिकांश संक्रमितलाई लक्षण नभएको सकारात्मक पाटो ।

तेस्रो– सतर्कता अपनाउनको लागि विश्वसनीय संकेत ।

यो अध्ययनले समुदायमा संक्रमण भएको प्रष्ट पारेको भन्दै जोखिम समूहका मानिसहरूलाई बचाउनु पर्ने डाक्टर दीक्षित बताउँछन् । सामाजिक दुरी कायम नगर्ने हो र अन्य सुरक्षाका उपाय नअपनाउने हो भने संक्रमण जोखिम समूहमा छिर्न सक्ने उनको दाबी छ । दीक्षित भन्छन्, ‘अब त राज्यले पनि समुदायस्तरमा नै संक्रमण फैलिएको मानेर त्यसको रोकथामको लागि जुट्नुपर्छ ।’

यो अध्ययनको दायरा बढाएर अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गर्ने डाक्टर दीक्षितले बताए ।

सेन्टर फर डाइनामिक्स एण्ड मलिकुलर नेपालले टाइफाइडको विषयमा पनि अध्ययन गरिरहेको छ । उनले भने, ‘हामीले नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरको अनुसन्धानहरू गरिरहेका छौं तर राज्यले हाम्रो दक्षता प्रयोग गरेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment