+
+

प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबारे भारतीय टीभीमा आपत्तिजनक टिप्पणी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २४ गते २०:५३

२४ असार, काठमाडौं । भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको छ । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा काल्पनिक कथा बुन्दै सो टीभीले कूटनीतिक मर्यादासमेत ख्याल नगरिकन अनर्गल प्रचार गरेको हो ।

‘ओली कि इश्किया’ शीर्षकमा प्रशारित रिपोर्ट १६ मिनेटभन्दा लामो छ । चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै भारतीय टीभीले उनैको जालमा फसेर ओलीले भारत विरोधी कदम चालिरहेको भनेको छ ।

आपत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको छ, ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढायी, लेकिन वा हनी ट्र्याप मे फसगए ।’

राजदूत यान्छीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दाबी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दाबीसमेत गरिएको छ । यसलाई पुष्टि गर्न ओली र यान्छीको फोटो जोडेर केही काल्पनिक संवादहरु पनि सुनाइएको छ ।

भारतीय टीभीको अफवाह यतिमा मात्रै सीमित छैन ।

उसले ओलीको ‘निजी एमएमएस’ चीनको हातमा रहेको र त्यसैलाई लिएर ओलीसँग चीनले ब्ल्याकमेलिङ गरिरहेको भन्नसमेत भ्याएको छ । यसको जानकारी नेपालका केही सांसदलाई रहेको भन्दै उनीहरुले लोकलाजका कारण मुख खोल्न नसकेको दाबी गरिएको छ ।

उक्त रिपोर्टमा नेपालमा भएको ‘इनफ इज इनफ’ आन्दोलनका फुटेजहरुलाई अपव्याख्याका साथ प्रयोग गरिएको छ । यसैगरी, चीनको दूतावास अगाडि कृष्ण पहाडीलगायत केही व्यक्तिहरुले गरेको प्रदर्शनलाई पनि गलत तरिकाले जोडिएको छ ।

नेपालको सरकारले आफ्नो अतिक्रमित भूमिलाई समावेश गर्दै नयाँ नक्शा प्रकाशित गरेयता भारतीय टीभी च्यानलहरुले अनेक भ्रामक समाचारहरु प्रशारण गर्दै आएका थिए । भारतको ख्यातिप्राप्त अखबार टाइम्स अफ इन्डियाले समेत प्रधानमन्त्री ओलीको फोटोलाई गोरुको टाउकोमा जोडेर दुरुपयोग गरेको थियो ।

अहिलेसम्म नेपालले कुनै पनि स्तरबाट ती समाचारहरुको खण्डन गर्ने वा ती च्यानलहरुमाथि एक्सन लिने काम गरेको छैन । त्यसैले पनि भारतीय च्यानलहरुको मनपरी झन बढ्दै छ । जी टीभीको हर्कत यसैको उत्कर्ष हो ।

नेकपाभित्रको विवाद र प्रधानमन्त्री ओलीको राजीनामा मागिएको विषयलाई भारतीय च्यानलहरुलाई पनि अतिरञ्जित तरिकाले प्रस्तुत गरिरहेका छन् । उनीहरुले नयाँ नक्सा प्रकाशित गरेकै कारण सरकारको राजीनामा मागिएको झुटो दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?