Comments Add Comment

नदीहरूमा बहाव बढ्दो, एसएमएस पठाएर सतर्क रहन भनियो

२५ असार, काठमाडौं । मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीहरुमा बहाव बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । केही नदीहरुमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान छ ।

बिहीबार भने झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा,  महोत्तरी, सर्लाही र आसपास भई बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना भएकाले तटिय क्षेत्रमा सतर्क रहन महाशाखाले सूचित गरेको छ ।

आज कोशी, बागमती, नारायणी, पश्चिम राप्ती र कर्णाली नदीमा पानीको बहाव बढ्दो छ । खोटाङ–ओखलढुंगाको दूधकोशी नदीको बहाव सतर्कता तहको आसपास पुगेको छ । सो क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत् जोखिमको सूचना दिइएको छ ।

आज कन्काई, कमला, बागमतीमा सतर्कताको तहसम्म बहाव पुग्ने पूर्वानुमान गरिएको छ । यस्तै मेची, बिरिङ, निन्दा, लोहन्द्रा, चिसाङ, त्रियुगा, माउली, गगान, खाडो, रातो, चुरियाखोला, लालबकैया लगायत प्रदेश १, २ र बागमती प्रदेशका नदीहरुको बहाव सतर्कताको तहसम्म पुग्ने छ ।

आज र भोलि बागमती, गण्डकी र प्रदेश ५ को मध्यपहाडी, चुरे र तराईबाट बग्ने साना नदीहरुमा पनि आकस्मिक बहावको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  २५ असारदेखि २८ असारसम्म खासगरी प्रदेश नं. १, २, बागमती र गण्डकी प्रदेशमा यस वर्षकै सबैभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको जनाएको छ । भारी वर्षाले बाढी र पहिरोको जोखिम हुने हुँदा सजग रहन भनिएको छ ।

खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले सो क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुबानको खतरा पनि छ ।

हेर्नुहोस् देशभरका नदीहरुको अवस्था

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment