Comments Add Comment

वार्षिक र छात्रावास शुल्क नलिने कालिङपोङको एक स्कुलको घोषणा

२५ असार, काठमाडौं । नेपालमा निजी विद्यालयहरुले लकडाउनको अवधिको समेत शुल्क तिर्न भनेको भन्दै अभिभावकहरुले गुनासो गरेका छन् ।

तर भारतको कालिङपोङमा भने एउटा विद्यालयले यो वर्ष विद्यार्थीसँग बार्षिक शुल्क र चार महिनाको छात्रावास शुल्क नलिने घोषणा छ । कोभिड–१९ महामारीले पारेको प्रभावलाई मध्यनजर राख्दै अभिभावकलाई राहत दिने निर्णय गरिएको सेन्ट अगस्टिन्स स्कूलले जनाएको छ ।

विद्यालयको यो निर्णयबाट त्यहाँ अध्ययनरत एक हजार ८०० विद्यार्थी लाभान्वित हुने बताइएको छ । टेलिग्राफ इन्डियाका अनुसार विद्यालयले कक्षा दुईसम्म १५ हजार २०० रुपैयाँ र कक्षा ११ र १२ को २१ हजार ६०० रुपैयाँ वार्षिक शुल्क लिँदै आएको थियो ।

विद्यालयले सबै विद्यार्थीसँग चार हजार रुपैयाँ ‘मर्मत सम्भार शुल्क’ भने लिने भएको छ । विद्यालयले १७ असारबाट अनलाइन कक्षा सुरु गरेको छ ।

कोभिड–१९ लाई मध्यनजर गरेर अप्रिल, मे, जुन र जुलाईको छात्रावास शुल्क पनि छुट दिने निर्णय गरेको टेलिग्राफ इन्डियाले जनाएको छ । मासिक होस्टेल शुल्क १५ हजार २०० रुपैयाँ छ ।

विद्यालयका प्रिन्सिपल फादर जेराड लेप्चाले थप छात्रावास शुल्क मिनाहा गर्ने सकिने संकेत गरेका छन् । ‘बाँकी होस्टेल शुल्कको विषयमा अवस्था हेरेर निर्णय गर्छौं,’ लेप्चाले टेलिग्राफसँग भनेका छन् ।

छात्रावासमा नेपालसहित भुटान, बंगलादेश, थाईल्याण्ड, बेलायत, युएई र केही अफ्रिकन देशका विद्यार्थी रहेको टेलिग्राफले उल्लेख गरेको छ ।

सेन्ट अगस्टिन्स जस्तै प्रकृतिको नेपालका विद्यालयले भने लकडाउन अवधी र अनलाइन कक्षाको समेत धमाधम शुल्क उठाएका छन् । जावलाखेलस्थित सेन्ट जेभियर्स स्कूलले लकडाउनभरीको शुल्क एकमुष्ट तिर्न नसक्ने विद्यार्थीलाई विद्यालयबाट निकाल्ने चेतावनीसमेत दिएको छ ।

यो पनि पढ्नुहोस सरकारको निर्देशन विपरीत लकडाउनको शुल्क उठाउँदै सेन्ट जेभियर्स स्कुल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment