Comments Add Comment

झरीमा रुझ्दै प्रधानमन्त्रीको समर्थनमा जुलुस

२६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पक्षमा शुक्रबार पनि माइतीघरमा प्रदर्शन भएको छ । पार्टीभित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरूले केही दिनयता उनलाई हटाउन नपाइने भन्दै सडकमा प्रदर्शन गरिरहेका छन् ।

उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमणको जोखिम बढिरहे पनि प्रधानमन्त्रीका समर्थकको प्रदर्शनमा प्रभाव परेको देखिँदैन । सरकार आफैँले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन र कुनै सभा सम्मेलन समेत आयोजना नगर्न भने पनि ओलीकै पक्षमा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन् ।

शुक्रबार बिहानैदेखि वर्षा भइरहे पनि त्यसको पर्बाह नगरी प्रदर्शन भएको छ । देशैभरि बाढी पहिरोको चपेटामा जनधनको ठूलो क्षति भएका दुःखद खबर आइरहेका बेला प्रधानमन्त्रीका समर्थकहरुले झरीमा रुझ्दै ‘केपी ओली जिन्दावाद’को नारा घन्काएका हुन् ।

सत्तारुढ नेकपाको केन्द्रीय कार्यालयले शुक्रबार बिहानै सात दिनका लागि स्थायी कमिटीको बैठक स्थगन गर्यो र कार्यकर्ताहरुलाई उद्धार कार्यमा खटिन आग्रह गर्यो । तर, एकै दिन २३ जनाको मृत्यु र ३६ जना बेपत्ता बनेको अवस्थामा प्रधानमन्त्रीका समर्थकहरु देशमा कुनै विपत नै आएको छैनजस्तो गरेर प्रधानमन्त्रीको फोटो लिएर सडकमा उत्रिएको दृश्य देखियो ।

देशैभर बाढी पहिरोले वितण्डा मच्चाउन थालेपछि बहुमत नेताहरुको पहलमै आगामी सात दिनसम्म बैठक स्थगन गर्ने निर्णय नेकपाका नेताहरुले गरिसकेका छन् । बैठकै स्थगन गरेर पार्टीले प्रकोपविरुद्ध केन्द्रित हुने निर्णय गरिसकेपछि अब प्रधानमन्त्री ओलीलाई हटाउने भन्ने च्याप्टर नै क्लोज भइसकेको छ । पार्टीको बैठक स्थगित भइसकेका बेला ओलीका समर्थकहरुले पानीमा भिज्दै जुलुस निकाल्नु बेमौसमको बाजा जस्तो देखिएको छ ।

देशैभरि दर्जनौं मानिसको ज्यान गएका बेला माइतीघरमा भेला भएर मैनवत्ती जलाएको भए राम्रो हुन्थ्यो भन्ने तर्क पनि सामाजिक सञ्जालमा कतिपयले गरेका छन् ।

हेर्नुहोस् थप तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment