Comments Add Comment

ओली अमेरिकातिर नजिक, प्रचण्ड चिसै पानीले नुहाउँदै

सत्ताधारी नेकपामा जुन समस्या देखिएको छ, यो हुनु नै थियो । तत्कालीन एमाले र माओवादीबीचको एकता नै कसरी बहुमत ल्याउने र सत्तामा पुग्ने भन्ने उद्देश्यबाट भएको थियो । एक्लाएक्लै नसक्ने भएपछि यिनीहरु एकीकरण भएका थिए ।

कम्युनिस्ट पार्टीमा एकता र फुटको आधार जहिले पनि बैचारिक राजनीतिक हुने गर्छ । चुनावलाई आधार बनाएर एकीकरण गरेपछि उहाँहरु तत्काल त चुनाव जित्न सफल हुनुभयो । उहाँले त्यसलाई नेपालको मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनकै ठूलो सफलता पनि भन्न भ्याउनुभयो ।

अहिले पदका लागि किन मारामार भइरहेको छ भने एउटाले मात्र खान पायो, अर्कोले पाएन भनेरै हो । सरकार अहिले कोरोनाको महामारी विरुद्ध एकदम क्रियाशील हुनुपर्ने बेलामा आफ्नो कुर्सी जोगाउन लाग्नुपरेको छ । यो पार्टीको गठन नै यही प्रक्रियाबाट भएको हुनाले अहिलेको विवादको केन्द्रविन्दू नै पद प्रतिष्ठा र त्यसबाट प्राप्त हुने भौतिक सुख नै प्रधान बन्न पुगेको छ । तैपनि थोरै राजनीतिक पनि देखिएको छ ।

एमसीसी प्रकरणमा उहाँहरुभित्र विवाद भएकाले राजनीतिक पनि हो कि भन्ने देखिन्छ । ओलीजी जसरी पनि एमसीसी पास गराउन लाग्नुभएको छ, देउवाजीसँग मिलेर । उहाँले चाहेकोजस्तो भएको भए संसदको यही सत्रमै पारित गराउने उहाँहरुको योजना थियो । हामीले बाहिरबाट गरेको बिरोधले त एमसीसी रोकिने थिएन । उहाँहरुभित्रकै बिरोधले त्यो पास हुन सकेन ।

केपी ओली अमेरिकातिर नजिक

नेकपाभित्र दुईटाखाले तर्क सुन्न पाइन्छ अहिले । एउटा तर्क के छ भने ओलीजीले यतिखेरै यो किन गर्नुभयो ? तपाई मलाई कारबाही गर्नुस, म पार्टी फुटाउँछु भनेर कुनै नेताले प्रायः भन्दैनन् । भित्र त्यो लागे पनि व्यक्त गर्दैन । ओलीजीले किन त्यसो भन्नुभयो त ? मलाई लाग्छ फुटाउने योजनाचाहिँ अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले पनि बनाएको हुनुपर्छ । अन्तर्राष्ट्रिय शक्ति केन्द्रसँग कुनै न कुनै किसिमको समझदारी भएर उहाँले त्यसो भनिरहनुभएको हुन सक्छ ।

उहाँ महाकाली सन्धीमा पनि निर्णायक हुनुभएको हो । त्यसपछि त उहाँ भारतको एकदमै नजिक हुनुभयो । अहिले आएर उहाँ अमेरिकातिर सर्नुभएको हो कि ? एमसीसी त्यही कारण आएको हो ।

अहिले पछिल्लो चरणमा चाहिँ कतिपय बैचारिक विश्लेषण गर्ने साथीहरुको कुरा सुन्दा केपीजी अहिले अमेरिकाकै नजिक जानुभएको छ । चाइनिजहरु नबोले पनि थाहा होला, सूचना त उनीहरुसँग असाध्यै हुन्छ ।

भारतीयले यति छिटै लिम्पियाधुराको नक्सा बनाउला, संसदबाट पारित होला भन्ने सोचेकै थिएनन् होला । ओलीजीको पालामै यो भएकाले उहाँलाई भारतीयले देखी नसहेको हुन सक्छ । पहिले अमेरिकाले नेपाललाई भारतको आँखाबाट हेर्थ्यो । तर, अहिले चीनसँग उसको सिधा टक्कर परेकाले अमेरिका नेपालमा एमसीसी लिएर आएको हो ।

जहाँसम्म एमसीसीको कुरा छ, शुरुमा प्रचण्डजी त एमसीसी पारित गर्ने पक्षमै हुनुहुन्थ्यो । प्रचण्ड भारत र चीन दुवैलाई प्रयोग गर्न सकिन्छ कि भन्नेमा हो । उहाँ भारतसँग नजिक हुन चाहानुहुन्छ र चीनलाई पनि सन्तुलनमा राख्न खोज्नुहुन्छ ।

पार्टी फुटको भय दोहन

सत्ता स्वार्थका कारणले गर्दा उहाँहरु (ओली र प्रचण्ड) बीच विवाद भइरहन्छन् । अस्ति नै ओलीजीले जब पार्टी फुटाउनको निम्ति सहज हुने अध्यादेश ल्याउनुभयो, उहाँका उद्देश्य नै दुईटा थिए । ओलीजीले नेकपाका नेताहरुलाई राम्रोसँग छाम्नुभएको छ । कार्यकर्ताको मनस्थितिलाई पनि राम्रोसँग बुझ्नुभएको छ । अरु कयौं उहाँका कमिकमजोरी छन्, तर यस्तो कुरामा उहाँ ओलीजी एकदम माहिर हुनुहुन्छ ।

नेकपाभित्र एउटा ठूलो भावना के छ भने पार्टी फुट्नुहुँदैन । यो उहाँहरुको सिद्धान्त नै हो । फुटेपछि त हाम्रो सबै ध्वस्त भइहाल्छ भन्ने ठूलो मनोविज्ञान छ । फुट्यो भने सरकार बनाउने, रजगज गर्ने दिन जान्छन्, यो मनोविज्ञान ओलीले बुझ्नुभएको छ ।

उहाँहरुको कल्पनामा हाम्रो पुस्ताभरिमात्र होइन, छोराछोरीले पनि खान्छन् भन्ने छ, त्यसैले पार्टी फुट्यो भने त्यो नपाइने भएकाले फुट्न दिनुहुन्न भन्नेमा सबैको एकमत हुन्छ । अहिले ओलीजीले मलाई हटायौ भने पार्टी फुटाइदिन्छु भनेर सोझै भन्नुभएको छ । पार्टी फुटाउनको निम्ति आधारहरु पनि बनाउँदै जानुभएको छ उहाँले ।

नेकपाभित्र उहाँको जुन आधार थियो, त्यही अनुसारको अध्यादेश ल्याउनुभएकै हो । त्यसैले पार्टी फुटाउँछु भन्ने ठूलो हतियार अहिले ओलीजीले प्रचण्डजीहरुमाथि देखाइरहनुभएको छ । जब दुईमध्ये एक पदमा राजिनामा देऊ भनेपछि म राजीनामा दिन्न भन्नुभयो । नदिएपछि तपाईहरुले हटाउनुहुन्छ भने तपाईहरुको बहुमत छ हटाउनु, म अर्को पार्टी बनाउँछु भनेर उहाँले सिधै भन्नुभएको छ ।

पार्टी फुटाउने हतियार नेकपाभित्र यति कामयावी छ, यसले जादू नै गर्छ । किनभने, पार्टी फुटाउने भनेपछि सबै थरर काँपिहाल्छन् । अनि ओलीजीको शर्त त्यहाँ पूरा हुन्छ । यसरी नै नेकपा जोगिएको छ, अरु कारण नै होइन ।

घनश्याम भुसालहरुका कुरा सुन्नुस्, सबैलाई त्यही डर छ । उनी पनि मन्त्री छन् । फुट्यो भने सुविधा पाइन्न । मन्त्री नै नभए पनि सत्ताधारी पार्टीको नेता भनेपछि समाजमा राज चलाउन गाह्रो छैन । भविष्यमा पालो आउँछ भन्ने पनि होला ।

नेकपा फुट्छ भन्ने डरले भयभित चाहिँ युवा पंक्ति देखियो । सामान्यतः युवा भन्ने न्यायका लागि लड्ने, लडाकू भन्ने बुझिन्छ । तर, नेकपाका युवाको त बुढाहरुको जति स्पिरिट पनि देखिएन । रोई कराई गर्दै हिँडेका छन् जिल्ला जिल्लामा लौ पार्टी फुट्नु हुँदैन भनेर । पार्टी फुट्न लाग्यो भन्ने तीनलाई कति पिर छ भने,देउसी भैलो खेलेर हिँडेका छन् फुट्न हुँदैन भनेर ।

प्रचण्डले चिसै पानीले नुहाउने सम्भावना छ

ओलीजीसँग भिडेर लाग्ने को भन्ने उहाँहरुमा संकट देखियो । किनभने, बामदेवको पनि त्यस्तै देखियो । बादलजीको पनि त्यस्तै देखियो, कता हो कता । माधवजी पनि सकभर यो लाइन संघर्षमा फेस टु फेस देखिन नपरे हुन्थ्यो जस्तो देखियो । अनि प्रचण्डलाई नै अघि सारेर उहाँहरुले प्रधानमन्त्री पनि तपाई नै खानुस, ओलीसँग तपाई नै लड्नुस् भन्ने समझदारी गर्नुभएको जस्तो बुझियो ।

प्रचण्डजीलाई चाहिँ यो प्रधानमन्त्री नभई नभएको छ । एकता गरेर मलाई चाहिँ के फाइदा भयो भन्ने उहाँलाई परेको छ । उहाँले त यो हुँदै नहुने काम गर्नुभएको हो । एमालेको पृष्ठभूमिसँग कहिल्यै नमिल्ने पार्टीलाई उहाँले आफू सत्तामा जानका लागि, चुनाव जित्नका लागि लगेर एमालेमा बुझाउनुभएको हो । इतिहासमा उहाँ कलंकित त भइहाल्नुभयो, त्यो गरेर उहाँले के पाउनुभयो ? प्रधानमन्त्री केपी ओली हुने, अध्यक्ष माधव नेपाल हुने भए त उहाँले के पाउने भन्ने भएपछि तपाई नै प्रधानमन्त्री हुनुस, तपाई नै भिड्नुस भनेर माधवजीहरुले अघि सारेको देख्छु ।

प्रचण्ड ट्याक्टीकल्ली तत्काल लाभ हुनेखालको कार्यनीति बनाउन त खप्पिस नै हो । उहाँको त्यसमा चाहिँ ठूलो क्षमता छ । भोलि के हुन्छ भन्नेमा चाहिँ उहाँले बुझ्नुहुन्न । तर, तत्काल फाइदा हुनेमा चाहिँ उहाँले जुनसुकै बेला जता पनि टर्न लिइदिनुहुन्छ । त्यसैलाई कतिले चाहिँ गतिशील नेता भन्छन्, कतिले अवसरवादी भन्छन् ।

तथ्य के हो भने तत्काल फाइदा हुने योजना बनाउन चाहिँ उहाँ खप्पिस हुनुहुन्छ । उहाँले अहिले एमालेभित्र त्यही गरिरहनुभएको छ । उहाँ त सानो समूह लिएर ठूलो शक्तिमा जानुभएको थियो । धेरैले अड्कल गरेका थिए, प्रचण्डजी गएर बिलाउनुहुन्छ, एमालेमा खप्पिस नेता छन्, तिनले खाइदिन्छन् भन्ने थियो । ओली र माधवजी दुईतिर विभाजित हुँदाखेरि त कुनै पनि एक पक्षसँग मिलेर उहाँ बहुमतमा भइहाल्नुहुन्छ । त्यस हिसाबले उहाँ सफल नै हुनुहुन्छ । उहाँ हिजो माओवादीभित्र पनि यसै गरी खेल्नुहुन्थ्यो । हरेक प्रवृत्तिमा खेल्ने र आफू सबै प्रवृतिबाट माथि हुने उहाँको बानी हो ।

मलाई लाग्ने कुरा के हो भने प्रचण्डजीले चिसै पानीले नुहाउने सम्भावना पनि छ । पार्टी नै फुटाइदिन्छु भनेपछि एउटा अध्यक्षमै चित्त बुझाउने सम्भावना देख्छु

त्यतिबेला हाम्रो पार्टी (माओवादी)मा चाहिँ उहाँ देखा नपरी फाइदा लिनुहुन्थ्यो । वैद्यजी र बाबुरामजीलाई लडाइदिने अनि फाइदा लिने । कहिले बादलजी र बाबुरामजीलाई लडाइदिने र फाइदा लिने । कहिले हामी जस्तालाई लडाइदिने त्यो उहाँको बानी हो । तर, अहिलेचाहिँ उहाँ आफैं अगाडि आउनुपर्ने भएछ । उहाँ मूलतः आफू कसैसँग संघर्षमा नदेखिने र अरुबीच संघर्ष गराउने, अरुबीच खेल्ने र फाइदा लिने प्रवृतिको मान्छे हो । अरु लडेको उहाँलाई मज्जा आउने ।

उहाँलाई पहिले नै लागेको हुनुपर्छ । अन्तरविरोधमा खेल्ने नै उहाँको मुख्य विशेषता हो । पार्टीमा हुँदा पनि उहाँ अन्तरविरोधमा खेल्नेमात्र होइन, अरुमा अन्तरविरोध खडा गरिदिने पनि मेरो विशेषता हो भन्नुहुन्थ्यो । नभएको अन्तरविरोध पनि पैदा गराइदिनुपर्छ भन्ने उहाँको विशेषता हो ।

एमालेभित्र गएर अन्तरविरोधमा खेल्छु र अन्तरविरोध खडा गर्छु भन्ने उहाँलाई पहिले नै थियो । अर्को त उहाँको अगाडि एउटा बाध्यता छ । यदि चुनावअघि एकता नगरेको भए, संयुक्त उम्मेदवार खडा नगरेको भए त उहाँहरु चौथो पाँचौ नम्बरतिर पुग्नुहुन्थ्यो । प्रचण्डजीको पार्टी त्यहाँ पुग्ने थियो । तत्कालीन फाइदा त उहाँले उठाउनुभयो नि एकता गरेर । पहिलो पार्टी, बहुमत प्राप्त पार्टीको अध्यक्ष हुन पाउनुभयो, त्यसमा त उहाँ सफल नै हो नि ।

हाम्रो पार्टीमा सजिलो थियो । किनभने, हामीजस्ता इमान्दार मान्छेहरु थियौं । कतिपय कुरा हामीलाई थाहा हुँदा पनि, महान क्रान्तिको सफलताका लागि यो कुरा उठाउनु हुँदैन भनेर उहाँलाई जे गर्न पनि एक प्रकारले छुट दिएका थियौं । हामीजस्तो सजिलो टिम उहाँले भेट्नुभएको थियो, तर केपी ओलीचाहिँ टफ नै हुन् । उनी खेलाडी पनि हुन्, सबै खेल जानेका छन्, प्रचण्डलाई हराबारा नै खेलाउँछन् ।

अहिलेसम्मको स्थितिमा प्रचण्डजीले र माधवजीले आँट गरे उनीहरुको पार्टी त फुट्ला । तर, उहाँहरुलाई भय छ, बहुमत हुँदैन र प्रधानमत्री बन्न पाइँदैन भन्ने । फुटेपछि त प्रधानमन्त्री बाबुराम भट्टराईमा पनि जान सक्छ ।

बाबुरामजी त माओवादी पार्टीको नेता भइसकेको मान्छे, मधेस केन्द्रित दलमा पुग्नुभएको छ । उहाँले पनि मुख मिठ्याउनुभएको हो र त्यहाँ पुग्नुभएको छ । तर, ओलीजीले नेकपाका नेताहरुको भय दोहन गरिरहनुभएको छ । प्रचण्डजी कहिलेकाहिँ सजिलै गल्दिनुहुन्छ । जेठ २ गतेको आलोपालोबाट प्रचण्डजीले कति चाँडै छाडेर मंसिर ४ मा आउनुभयो । अहिले त्यसैले उहाँलाई अप्ठेरो पारेको छ । उहाँ त अस्थिर मान्छे हो, सके ओलीबाट लिनुहुन्छ, नत्र भैगो भन्ने पनि होला ।

रामबहादुर थापा (बादल) प्रचण्डविरुद्ध संघर्ष गर्ने क्रममा अन्तिमसम्म प्रचण्डसँगै हुनुहुन्थ्यो । सबैभन्दा पछि हामीसँग आउने पात्र नै उहाँ हो । हामीले माओवादी केन्द्रमा बसेर हुँदैन, पुनर्गठन गर्नुपर्छ भनेर राष्ट्रिय भेला गर्ने भनेपछि उहाँ मिसिन आउनुभयो । उहाँ आइसकेपछि संगठनसम्बन्धी अलिकति क्षमता भएकाले महासचिव पनि बनाइयो । त्यसबेला त पार्टी प्रचण्डको भन्दा ठूलो पनि थियो । तर, विप्लवजीहरु फुटेर गएपछि बादल अब चुनाव जितिन्न, सरकारमा जान पाइँदैन भन्ने भएपछि प्रचण्डसँगै फर्किनुभयो । प्रचण्डलाई पनि त्यही चाहिएको थियो ।

अहिले यिनीहरु सबै डराएका छन् र ओलीले यो फुटबाट भय दोहनचाहिँ धेरैको गरेका छन् र गरिरहन्छन् । अन्तिममा मलाई लाग्ने कुरा के हो भने प्रचण्डजीले चिसै पानीले नुहाउने सम्भावना पनि छ । पार्टी नै फुटाइदिन्छु भनेपछि एउटा अध्यक्षमै चित्त बुझाउने सम्भावना देख्छु ।

नेकपा फुटे पनि पहिलेको माओवादी केन्द्र बन्ने हो, त्यो त हामीले उतिबेलै काम लाग्दैन भनेर छाडेको हो । प्रचण्ड सुध्रिएर फेरि क्रान्तिकारी धारमा आउने सम्भावना हामीले देखेका छैनौं ।

(मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका दोस्रो बरियताका नेता गजुरेलसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment