Comments Add Comment

दैनिक २ लाखमा कोरोना संक्रमण, दक्षिण अमेरिका र एसियामा फैलिँदै

अमेरिकामा पुन बढ्न थाल्यो संक्रमण

२६ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी शुरु भएको ६ महिना पूरा भइसकेको छ ।

चीनको वुहानबाट शुरु भएको यो महामारी अहिले विश्वका १८८ मुलुकमा फैलिसकेको छ । यसबाट संक्रमित हुने मानिसको संख्या एक करोड २० लाख नाघिसकेको छ । मृत्यु हुनेको संख्या पनि साढे पाँच लाख नाघेको छ ।

६ महिना बितिसक्दा पनि कोरोना भाइरसको महामारी कम हुने छाँटकाँट भने देखिएको छैन । संक्रमितको संख्या निरन्तर उकालो लाग्दो क्रममै छ । गत मे महिनाको अन्तिममा ६० लाख रहेको सक्रमित संख्या डेढ महिनापछि नै दोब्बर पुगेको छ ।

अहिले विश्वभर दैनिक दुई लाखभन्दा धेरै कोरोना संक्रमित भेटिने गरेका छन् । गत अप्रिल महिनामा युरोप र उत्तर अमेरिकामा कोरोना भाइरसको महामारी बढ्दो क्रममा देखिएको थियो । तर, अहिले दक्षिण अमेरिका र एसियामा बढ्दो छ । पछिल्लो केही सातायता उत्तर अमेरिकामा पनि संक्रमितको संख्या पुनः बढ्न थालेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या केही समय घटेको भए पनि पुनः बढ्न थालेको छ । यहाँ ३१ लाख १८ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् र दैनिक ५० हजारभन्दा बढी संक्रमित भेटिएका छन् । मृत्यु हुनेको संख्या एक लाख ३३ हजार नाघिसकेको छ ।

विश्व स्वास्थ्य संगठनले अहिले संक्रमण बढिरहेको मध्य र दक्षिण अमेरिकामा अझै कोरोना भाइरस संक्रमण उत्कर्षमा नपुगेको बताएको छ । यो क्षेत्रमा ब्राजिल सबैभन्दा बढी प्रभावित मुलुक हो । अमेरिकाभन्दा पछाडि सबैभन्दा प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म १७ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने मृतकको संख्या पनि ६९ हजार नाघेको छ ।

भारतमा पनि अहिले दैनिक २५ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिन थालेका छन् र मृत्यु हुनेको संख्या ५ सय हाराहारीमा छ । कोरोना भाइरसका संक्रमितको कारण भारतको स्वास्थ्य स्याहार प्रणालीमा नै असर पर्न सक्ने अधिकारीहरुले बताएका छन् । त्यस्तै मेक्सिको, पेरुलगायत मुलुकमा पनि संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

कोलम्बियामा पनि कोरोना भाइरसका संक्रमित बढेसँगै लकडाउन लम्ब्याउने निर्णय गरिएको छ । अफ्रिकामा दक्षिण अफ्रिका र इजिप्ट बढी प्रभावित भएका छन् ।

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या निकै तीब्र गतिमा बढेको मुलुकमा ब्राजिल, दक्षिण अफ्रिका, भारत र कोलम्बिया छन् । त्यस्तै अमेरिका, साउदी अरेबिया, इरान, अष्ट्रेलिया र इजरायलमा दोस्रोपटक कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको छ ।

युरोपका बेलायत, इटाली, स्पेन र फ्रान्सलगायतका युरोपेली मुलुकमा कोरोना भाइरसका संक्रमित र मृतकको संख्यामा निरन्तर कमी आइरहेको छ । रुसमा दैनिक पाँच हजारभन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन् । यद्यपि केही दिनयता यो संख्या स्थिर देखिएको छ ।

चीन, जापान, दक्षिण कोरिया, न्युजिल्याण्डलगायतका मुलुकमा सानो संख्यामा फाट्टफुट्ट कोरोना संक्रमित भेटिइरहेका छन् ।

-विभिन्‍न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment