Comments Add Comment

प्रहरी हेडक्वाटरमा प्रधानसेनापति : नयाँ परम्पराको थालनी

तीन सुरक्षा निकायको प्रमुख आर्मी स्टाफ कलेजका पूर्वविद्यार्थी

तस्वीरहरुः नेपाल प्रहरी

२६ असार, काठमाडौं । सामान्यतयाः सुरक्षा फौजको नेतृत्व सम्हालेपछि वरियता अनुसार अन्य फौजका प्रमुखलाई भेटघाट गर्ने चलन छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख नेपाली सेनाका प्रधानसेनापतिलाई भेट्न जंगीअड्डा पुग्छन्, दुई संगठनबीच समन्वय र सहकार्यबारे छलफल गर्छन् ।

यसपटक फरक दृश्य देखिएको छ । सरकारी मर्यादाक्रम अनुसार ९ औं नम्बर वरियताका प्रधानसेनापति पूर्णचन्द्र थापा १२औं नम्बर वरियतामा रहने नववियुक्त प्रहरी प्रमुख (आईजीपी) शैलेश थापा क्षेत्रीलाई भेट्न प्रहरी प्रधान कार्यालय पुगे ।

यसलाई कतिपय प्रहरी अधिकृतले अनौठो मानेका छन् । नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाई दिन सेना प्रमुखले प्रहरी प्रधान कार्यालय पुगेको पहिलो पटक थाहा पाएको एक प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले अनलाइनखबरलाई बताए । उनका अनुसार प्रहरी महानिरीक्षकको नियुक्ति विवादरहीत देखिएका वेला प्रधानसेनापति पनि प्रहरी मुख्यालय पुग्नु सुखद् हो । यसले दुई सुरक्षा फौजको तल्लो तहसम्मकै कर्मचारीपछि समन्वय र एकताको भावना सिर्जना गर्छ ।

आईजीपीका अर्का दावेदार हरिबहादुर पालले पनि थापाको नियुक्तिमा असन्तुष्टि जनाएका छैनन् । उनले थापालाई सहयोग गर्न तयार रहेको बताएका छन् । त्यही बेला प्रधानसेनापति आफैं प्रहरी हेडक्वाटर पुग्नुको नवनियुक्त प्रहरी प्रमुखको स्वीकार्यता अझ बढाएको सन्देश गएको प्रहरी अधिकृतहरु बताउँछन् ।

नेपाली सेनाका अधिकृतहरु पनि प्रधानसेनापति थापाले नयाँ परम्पराको थालनी गरेको बताउँछन् । यसले दुई सुरक्षा फौजबीच प्रगाढ सम्बन्धको सन्देश दिएको उनीहरुले बताए ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार भेटमा प्रधानसेनापति थापाले मायाको चिनो स्वरुप आफ्नो कार्यकालका अनुभवको संगालो पुस्तक पनि थापालाई दिएका छन् । त्यस्तै, राष्ट्रिय सुरक्षाको प्रतिकका रुपमा खुकुरी पनि दिइएको पाण्डेले अनलाइनखबरलाई बताए ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी निरजबहादुर शाही प्रधानसेनापति थापा र प्रहरी प्रमुख थापाको भेटमा दुई संगठनबीच आपसी हित, सहकार्य र समन्वयबारे छलफल भएको बताउँछन् ।

स्टाफ कलेजका ग्राजुएट हुन् थापा

नवनियुक्त आईजीपी थापा नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजका पूर्वविद्यार्थी हुन् ।

उनले प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँदा एक वर्षको कमाण्ड एण्ड म्यानेजमेन्ट तालिम गरेका थिए । त्यसले गर्दा पनि प्रधानसेनापति थापा बधाई एवं शुभकामना दिन प्रहरी प्रधान कार्यालयसम्म पुगेको मानिएको छ ।

लमजुङ घर भएका प्रधानसेनापति थापा स्टाफ कलेजका चौथो ब्याचका हुन् । उनी शिवपुरी स्टाफ कलेजबाट तालिम लिएका पहिलो सेनापति हुन् ।

नवनियुक्त प्रहरी प्रमुख थापा पनि स्टाफ कलेजबाट तालिम लिएका पहिलो आईजीपी हुन् । उनी ११ औं ब्याचका हुन् ।

हालसम्म कलेजबाट ९७२ जनाले तालिम लिइसकेका छन् । हालका सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल पनि स्टाफ कलेजका १३औं ब्याचका विद्यार्थी हुन् ।

हरेक वर्ष सैनिक अधिकृतबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट एक/एक जना अधिकृतलाई यो तालिम प्रदान गर्ने गरिन्छ । हालसम्म तालिम लिएका मध्ये ७३ जना विदेशी अधिकृत छन् ।

यो पनि पढ्नुहोस शैलेश थापाको सेक्रेट : बाबु डीआईजी, छोरो आईजीपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment