Comments Add Comment

बाढी पहिरोबाट गण्डकी प्रदेशमा १३ जनाको मृत्यु, ३१ बेपत्ता

२६ असार, पोखरा । गण्डकी प्रदेशका कास्की, म्याग्दी र लमजुङमा शुक्रबार पहिरोका कारण १३ जनाको मृत्यु  भएको छ, ३१ जना बेपत्ता भएका छन् । कास्कीमा ७ जना, लमजुङ र म्याग्दीमा ३/३ जनाको मृत्यु  भएको छ भने म्याग्दीमा ३१ जना वेपत्ता छन् ।

लमजुङको बेंसीसहर नगरपालिका–७, सातबिसेमा  ३० वर्षीय दीपक तामाङ, उनकी पत्नी अन्दाजी २५ वर्षीया बिमाया तामाङ र छोरा अन्दाजी ८ वर्षीय छेवाङ तामाङको पहिरोमा परी मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त पहिरोमा परी घाइते भएका ३ जना भने उपचारपछि घर फर्किएका छन् ।

कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटमा ५ जना, वडा नम्बर-२५ हेम्जामा एक जना र  वडा  नम्बर २६ पैतेडाँडामा एक जनाको पहिरोमा पुरिएर मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् ।

सराङकोटको गोठादीमा टंकबहादुर थापाको घरमाथिबाट पहिरो खस्दा उनकै परिवारका ३ जना र २ जना पाहुनाको मृत्यु भएको छ । ५० वर्षीय टंकबहादुर,  उनकी पत्नी ४५ वर्षकी सोममाया थापा, टंकबहादुरका दाइको नाति ६ वर्षीय सुवान थापा र छिमेकी ११ वर्षीया इशिका थापाको मृत्यु भएको छ । टंकबहादुरका साली सरस्वती श्रेष्ठका एक छोराको पनि मृत्यु भएको छ ।

हेम्जा मेलबोटमा गएको पहिरोमा परी ७० वर्षीय हिमकली अधिकारीको मृत्यु भएको छ । पोखरा महानगर २६ पैतेडाँडामा गएको पहिरोमा परी ४५ वर्षीय विवेक परियारको मृत्यु भएको छ ।

बर्सातका कारण कास्कीको डाँडाको नाक प्रहरी चौकी र बाँझापाटन क्षेत्र नै डुबानमा परेको छ ।

म्याग्दीको धौलागिरि–७ ताकममा अन्दाजी ५१ वर्षीय जालिमा केसी र उनकै छोरा प्रकाश केसीको मृत्यु भएको छ । रघुगंगा गाउँपालिका-६ मा गोठ हिँडेका ललितमान छन्त्यालको खोलामा खसेर मृत्यु  भएको छ ।

धौलागिरि गाउँपालिका–६ मराङमा २१, मालिका गाउँपालिका–७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ९ जना बेपत्ता छन् । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता छन् ।

पहिरोले बाटो र पुलै बगाइदिँदा उद्धार टोलीलाई पुग्नै मुस्किल परेको छ । हेलिकप्टरबाट उद्धार टोली पठाउन खोज्दा मौसमले साथ नदिएर फर्किएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन् । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डुबानमा परेपछि १ सय ५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।

यो पनि पढ्नुहोस म्याग्दीमा पहिरोमा बेपत्ताहरुको खोजी हुन सकेन, ३ पटक हेलिकप्टर नै फर्कियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment