Comments Add Comment

श्रीमती र सासुले बनाए हत्या योजना, छिमेकीलाई २५ सयको सुपारी

२६ असार, विराटनगर । सुनसरी देवानगञ्ज गाउँपालिका– ७ का २५ वर्षका मिथुन उराँवको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।

गत असार ६ गते हत्या गरी शव खोला किनारमा गाडेको अवस्थामा फेला पारेको प्रहरीले दुई महिलासहित पाँचजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गढी गाउँपालिका – ६ का रामदेव उराँव, छवनीदेवी उराँव, अजय कुमार उराँव, अरविन कुमार उराँव, प्रमिला उराँव छन् ।

प्रहरीका अनुसार प्रमिला मिथुनकी श्रीमती हुन । रामदेव र छवनी सासुसुरा हुन । अजय र अरविन मिथुनको हत्याका लागि बोलाइएका छिमेकी हुन ।

सासु र श्रीमती मिलेर हत्या योजना

असार ६ गते प्रहरीले गढी गाउँपालिका– ६ सत्तेरझोडास्थित बुढी खोला पुल छेउको नदी किनारमा आधा पुरेको अवस्थामा मिथुनको शव फेला पारेको थियो ।

शव भेटिएपछि उत्खनन गरी प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठायो । त्यसपछि शव पहिचानको प्रयास गर्‍यो ।

असार १० गते देवानगन्ज गाउँपालिका – ७ का जगदिश उराँव छोरा हराएको भन्दै प्रहरी कार्यालय पुगे । ससुराली गएको छोरा नफर्किएपछि खोजी गर्न प्रहरी कार्यालय पुगेका जगदिशले छोराको शव पहिचान गरे ।

जिल्ला प्रहरी कार्यालय सुुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार ३ असारमा श्रीमती प्रमिलासहित मिथुन ससुराली गएका थिए । सात महिनाअघि विहे गरेका उनीहरुबीच पछिल्लो सम्बन्ध राम्रो थिएन । मिथुन र उसको परिवारले हेला गरिरहन्थे ।

छोरीसँगको सम्बन्ध राम्रो नभएको प्रमिलाकी आमालाई पनि थाहा थियो । ससुराली पुगेपछि आमा–छोरीले मिथुनको हत्या गर्ने योजना बनाए । योजना अनुसार श्रीमानलाई माइतमै छाडेर प्रमिला एक्लै घर फर्किइन् ।

सासु छवनीदेवीले दिउँसो ४ बजेतिर मेरो ज्वाईले छोरीलाई धेरै दुःख दिएको भन्दै छिमेकी ३५ वर्षका अरबिनकुमार उरावसँग मार्ने सल्लाह गरेको प्रहरी बताउँछ ।

प्रमिला घर फर्किएपछि ससुरालीमा रहेका मिथुनलाई सासु ससुराले राम्रै मेजमान गरे । राति मदिरा सेवन गराए । राति करिब ९ बजे योजना अनुसार अजयकुमार र अरविन पनि पुगे । दुई जना थपिएपछि सँगै लोकल मदिरा सेवन गरे ।

रातको करिब १२ बजे अजयकुमार र अरविनकुमारलाई लगेर हत्या गर्न अह्राए । मदिराले मातेका दुई जनालाई जनही दुई हजार पाँचय दिने आश्वासन दिए । योजना अनुसार अजयकुमार उराँव र अरविन कुमार उराँवले डोरी बोकेर बुढीखोला पुल तर्फ आए । खोला छेउको डिलमा उनीहरुले घाटी थिचेर हत्या गरेका र हत्यापछि पुनः घरबाट कोदालो लगी खाल्डो खनेर पुरेको प्रहरीको भनाइ छ ।

शवको पहिचान खुलेपछि प्रहरीले २४ असारमा श्रीमती प्रमिलालाई नियन्त्रणमा लिएको थियो । श्रीमती पक्राउ परेको एक दिनपछि मिथुनका सासु ससुरा र अरविन र अजय पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment