२८ असार, विराटनगर । अविरल वर्षासँगै केसलिया खोलामा आएको बाढीका कारण विराटनगर- १२ बखरीका ३० परिवार बिस्थापित भएका हुन् ।
वडाध्यक्ष हिरालाल कामतका अनुसार बखरी टोलमा पर्ने मुसहरी बस्तीमा केसलियाको पानी पसेपछि ३० परिवार विस्थापित भएका हुन । विस्थापित भएकाहरुलाई बखरी स्कुलमा सारिएको छ ।
मोरङको कानेपोखरीमा पनि बाढीका कारण सात परिवार विस्थापित भएका छन् । चिसाङ खोलामा आएको बाढीका कारण कानेपोखरी गाउँपालिका- ५ दुखी टोलका ७ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए । कानेपोखरीमा ७ परिवारका ३२ जना विस्थापित भएका हुन् ।
उनका अनुसार बक्राहा खोलामा आएको बाढीले उर्लाबारी ३ मंगलबारेमा खेतीयोग्य जमीन कटान गरेको छ । १४ कृषकको चार विगाह भन्दा बढीखेती योग्य जमीन कटान गरेको हो ।
निरन्तरको वर्षाका कारण मोरङका नदी नालामा पानीको बहाव उच्च छ । बहाव उच्च भएका कारण कटान र डुबानको जोखिम बढेको डीएसपी राईले जानकारी दिए ।
शनिबार राति मोरङ मिक्लाजुङ गाउँपालिका- ३ कुवापानीमा गएको पहिरोका कारण रनकुमार राईको परिवार विस्थापित भएको छ ।
पहिरोले उनको २ तले २ वटा घरमा पुरिएको छ । पहिरोका कारण मानविय क्षति भएको छैन ।
प्रतिक्रिया 4