+
+

सर्वाेच्चको फैसला ‘प्रथम दृष्टिमै त्रुटिपूर्ण’

रन्जन र तारा रेग्मीलाई हदैसम्मको सजाय हुनुपर्ने सरकारको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ९ गते १२:५४

९ साउन,काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रिहा भएका हत्यारा पूर्वडीआईजी रन्जन कोइरालालाई हदैसम्म सजाय हुनुपर्ने सरकार (महान्यायाधिवक्ताको कार्यालय) ले माग गरेको छ । सरकारका तर्फबाट  फैसला पुनरावलाेकनका लागि विहीबार दर्ता गरिएको निवेदनमा  कोइरालाकी प्रेमिका तारा रेग्मीलाई पनि हदैसम्मको सजायँ हुनुपर्ने माग गरिएको छ । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको फैसला ‘प्रथम दृष्टिमै त्रूटीपूर्ण’ भनेको छ ।

सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै पुनरावलोकनमा गएका सरकारी वकिलले पेस गरेको ८ पेज लामो निवेदनमा रन्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्चको आफ्नै नजिर, कानुनी सिद्धान्तको मर्म प्रतिकुल भएकाले बदर हुनुपर्ने माग गरिएको छ ।

त्यस्तै रन्जनकी प्रेमिका तारा रेग्मीले गीता ढकालको हत्या गर्न मतियारको भूमिका निर्वाह गरेको तथ्यलाई फैसलाले समेत स्वीकार गरिसकेको अवस्थामा उनको सजाय घटाउने फैसलासमेत त्रुटिपूर्ण रहेको सरकारी वकिलको जिकिर छ ।

तारालाई एक वर्षमात्र कैद सजाय गर्ने तल्ला अदालतको फैसलाविरुद्ध यसअघि नै सरकारी वकिलले पुनरावलोकन गरेका थिए ।

पुनरावलोकन निवेदनमा भनिएको छ- ‘उल्लेखित फैसला सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिकर, कानुनी सिद्धान्त प्रतिकुल भएकोले उक्त त्रुटिपूर्ण फैसला देखिँदा सो उपर पुनरावलोकनको हिस्सा प्रदान गरी फैसला बदर गरी सुरु अभियोग दाबी बमोजिमनै निज प्रतिवादीहरुलाई हदैसम्म सजाय निर्धारण गरीपाउँ ।’

महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चको फैसला र क्षमतामाथिसमेत गम्भीर प्रश्न उठाएको छ । तजबिजी अधिकारको प्रयोग गरी कसुरदारलाई विधायिकी मनसाय विपरीत हुने गरी अति हलुको, निरर्थक र निष्प्रभावी प्रकृतिको सजाय तोक्ने हो भने सजायले आफ्नो उद्देश्य र तात्पर्य गुमाउने निवेदनमा उल्लेख छ ।

पुनरावलोकन निवेदनमा भनिएको छ- ‘नाममात्रको सजाय गर्ने हो भने सजाय सजाय नै हुँदैन । यसले न्यायलाई परास्त गर्छ । अपराधको न्यूनीकरण, अपराधीमा दण्डको अनुभूति तथा पीडितलाई राहत महसुस गराउन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?