
१६ साउन, काठमाडौं । साढे १४ किलो चाँदी र आधा किलो सुन बरामद प्रकरणबारे थाहै नभएका व्यक्तिलाई प्रहरीले संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको छ ।
काठमाडौंबाट भाग्नलाई तीन अभियुक्त चढेको ट्याक्सीका चालक भैरहवाका सन्दीप गुरुङलाई पनि पक्राउ गरेर प्रहरीले संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले देवान पटेल, विजय पटेल, निलेश पटेल र सन्दीप गुरुङविरुद्ध अनुसन्धानका लागि ७ दिन म्याद थप गरिएको अनलाइनखबरलाई बताए ।
थानकोटमा गुरुङ ट्याक्सी लिएर फर्किँदै गर्दा देवान, विजय र निलेश तीन जनाले उनलाई रोकेका थिए र मनकामनासम्म जाने भन्दै १५ सय रुपैयाँ भाडा उठाएका थिए । त्यतिञ्जेल उनले आफू भैरहवा जान लागेको बताएपछि ती तीन जनाले उनलाई थप ७ हजार रुपैयाँ दिने भन्दै लगिदिन आग्रह गरेका थिए ।
गुरुङका एक जना पारिवारिक सदस्यका अनुसार त्यसपछि उनले ‘खाली जानु भन्दा मान्छे लिएर जाँदा राम्रो हुने’ भन्दै उनीहरुलाई लगेका थिए । त्यसक्रममा पटेलहरुले आफूहरुलाई चलचित्र बनाउने व्यक्तिका रुपमा परिचित गराएको ट्याक्सीचालक गुरुङले प्रहरीसँग बताएका छन् ।
तर, पूर्वी नवलपरासीको दुम्कीवास क्षेत्रमा पुगेपछि उनको ट्याक्सी प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि बल्ल आफूले बोकेको व्यक्ति शंकास्पद रहेको गुरुङले चाल पाएका थिए ।
मुग्लिनबाट छाड्छु भन्दै प्रहरीले काठमाडौं ल्यायो
देवान, विजय र निलेश पटेलसँग गरिएको सोधपुछले पनि गुरुङको यो प्रकरणमा संलग्नता नदेखिएको स्रोत बताउँछ ।
पक्राउ पर्नेवित्तिकै लिइएको बयानमा पनि गुरुङ निर्दोष रहेको खुलेको थियो । ‘उनको दोष भनेको अलिकति पैसामा लोभिएर अभियुक्तलाई ट्याक्सी चढाए’, अनुसन्धानमै संलग्न अधिकृत भन्छन्, ‘त्यसबाहेक उनीविरुद्ध अन्य कुनै प्रमाण छैन ।’
स्रोतका अनुसार गुरुङलाई मुग्लिनबाट छाड्नै भन्दै प्रहरीले सँगै ल्याएको थियो । तर, त्यहाँबाट पनि ट्याक्सीमा पेट्रोल हालिदिने बताएर काठमाडौंसम्म ल्याइएको गुरुङले बताएका छन् । ‘काठमाडौं आइसकेपछि त छाड्छ होला भन्ने लागेको थियो तर, नखाएको विष लाग्यो’, उनले परिवारका सदस्यसँग भनेका छन् ।
अनुसन्धानमा अपराध महाशाखाका संलग्न एक कनिष्ठ अधिकृतले गुरुङलाई कागज गराएर छाड्ने तयारी गरिएको अनलाइनखबरसँग बताएका थिए । तर, काठमाडौं प्रहरी परिसरले उनलाई पनि संगठित अपराधको कसूरमा म्याद थपेको छ ।
यसबारे काठमाडौंका एक अधिकृतसँग जिज्ञासा राख्दा उनले केही समयपछि गुरुङलाई छाडिने बताए । उनले भने, ‘कतै केही कनेक्सन भेटिहालिन्छ कि भनेर सँगै गएको गाडीको चालकलाई समातेका हौं, अनुसन्धान भइरहेको छ ।’
सुन्धारामा पटेलको समूह प्रहरीलाई साढे १४ किलो चाँदी र आधा किलो सुन दिएर निस्किएको थियो । तर, प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर कमलादीमा ‘एम्बुस’ थापेर १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको बताएको थियो ।
घटना शंकास्पद देखिएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी शुशीलकुमार यादवको नेतृत्वमा छानबिन समिति बनायो । जसले दुई प्रहरी जवान बहादुरसिंह कडायत र प्रशन्न श्रेष्ठले दरबारमार्ग प्रहरीका डीएसपी रञ्जनकुमार दाहाललाई समेत गुमराहमा राखेर अभियुक्तलाई भगाउन खोजेको प्रारम्भिक निष्कर्ष निकालिसकेको छ ।
सुन्धाराबाट गायब भएको बा ६ च ५५१९ स्कोर्पियो गाडी दुई दिनपछि नखिपोटमा बरामद भएको छ । तर, अपरेशनका बेला उपलब्ध तस्वीर, क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमा देखिएको गाडी र बरामद गाडीको स्वरुपमा केही फरक देखिएको छ ।
अभियुक्तले नम्बर प्लेट फेरेर अर्कै गाडी नखिपोटमा राखेका हुन् कि भन्ने आशंकामा पनि अनुसन्धान जारी छ । गाडी धनी भनिएका बाराका इल्ताफ हुसेन अन्सारी भने फरार छन् ।
यो पनि पढ्नुस्
सुनकाण्डमा ट्वीस्ट : फ्याकिएको होइन, जवानको हातमा दिइएको थियो सुन
सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा
सुन भएको झोला फ्याँक्नेको गाडी लुकाउन युवतीको सहयोग ?
सुन प्रकरण : चाँदीमा सुनको जलप लगाउने व्यक्ति पक्राउ
प्रतिक्रिया 4