Comments Add Comment

वीरगञ्ज हेल्थ केयरमा पनि अब कोरोना संक्रमितको उपचार

१७ साउन, वीरगञ्ज ।  संक्रमितको संख्या बढेसँगै वीरगञ्जको एक निजी स्वास्थ्य संस्थालाई अस्थायी कोभिड अस्पताल बनाइएको छ ।

अस्थायी कोभिड अस्पतालका रूपमा सञ्चालन गर्न वीरगञ्ज हेल्थ केयर हस्पिटल र नारायणी अस्पतालबीच शनिबार सम्झौता भएको हो । सम्झौतामा हस्पिटलका सञ्चालक अबुलहैस अन्सारी र नारायणीका मेडिकल सुपरिटेन्डेन्ड डा मदन उपाध्यायले हस्ताक्षर गरेका छन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, ‘जिल्लामा लक्षण सहितका कोभिड-१९ संक्रमितको संख्या बढिरहेको छ । यसैलाई ध्यानमा राखेर यो सम्झौता गरिएको हो ।’

अब लक्षण सहितका बिरामीहरूलाई अस्पतालमा भर्ना गर्नुका साथै उपचार व्यवस्थापन थाल्ने उनले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन केन्ऽको बैठकले वीरगञ्ज हेल्थ केयर हस्पिटललाई अस्थायी कोभिड अस्पतालका रुपमा सञ्चालन गर्न माथिल्लो निकायसँग अनुमति गरेको थियो ।

यो पनि पढ्नुहोस वीरगञ्ज हेल्थ केयरलाई अस्थायी कोभिड अस्पताल बनाउन सिफारिस

सय शैयाको हेल्थकेयरमा ८ वटा भेन्टिलेटर, २६ वटा आईसीयू सुविधा छ । उहाँ पर्सासँगै बारा, रौतहहसहित प्रदेश २ का गम्भिर संक्रमितहरुलाई राखेर उपचार गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

तर थप आइसोलेसन सेन्टर भने जोहो गर्नुपर्ने कोरोना विशेष अस्पतालका संयोजक डा. उदयनारायण सिंह बताउँछन् । ‘हेल्थकेयरमा क्रिटिकल केस म्यानेज गर्न सकिन्छ, तर वीरगञ्जमा संक्रमितको संख्या निरन्तर बढिरहेकाले थप आइसोलेसन सेन्टरको बन्दोबस्त गर्नुपर्छ’ उनले भने ।

सम्झौता अनुसार वीरगञ्ज हेल्थकेयरले नारायणी अस्पतालले सिफारिस गरेका संक्रमितहरु मात्र राख्छ । स्वास्थ्यकर्मीको तलब, भत्ता, औषधि उपकरण हस्पिटल स्वयंले बेहोर्नेछ भने उपचार अनुदानसम्बन्धी आदेश २०७७ मा तोकिएको रकम नारायणी अस्पतालमार्फत प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment