Comments Add Comment

भारत ओहोरदोहोर बढ्दो, कोरोनाको जोखिम थपियो

१९ साउन, जनकपुरधाम । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँका २५ जना आइतबार एकैपटक कोरोना संक्रमित पाइए ।

गाउँका यतिधेरै मानिस कसरी संक्रमित भए त ? स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले भन्छन्, ‘संक्रमितमध्ये अधिकांश गाउँ नजिकै रहेको भारतको कुनौली बजारमा सामान खरिद गर्न जाने गरेको पाइएको छ ।’

भारतीय नागरिकहरु चोर बाटो प्रयोग गरेर नेपाल प्रवेश गर्ने गरेको पाइएको छ । त्यसरी नै लागूऔषध बोकेर नेपाल छिरेका भारतीय युवक १७ साउनमा महोत्तरी सदरमुकाम जलेश्वरबाट पक्राउ परे । आइतबार सर्लाही सदरमुकाम मलंगवामा अर्का भारतीय नागरिक चाँदी बोकेर आउँदै गर्दा पक्राउ परे ।

यसले के प्रष्ट हुन्छ भने नेपाली नागरिकहरु पनि किनमेलका नाममा भारतीय बजारसम्म पुग्छन् भने भारतीय नागरिकहरु पनि नेपााल आउने गरेका छन् । पछिल्लो समय दुबै देशबीच आवतजावत बढेको भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह बताउँछन् ।

हुन त सरकारले भारतमा रहेका नेपालीहरुलाई नेपाल आउन निश्चित नाका तोकेको छ । जेठ १२ को निर्णय अनुसार प्रदेश २ मा सप्तरीस्थित कुनौली नाका, सिरहास्थित ठाडी र माडर, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलगंवा, रौतहटको गौर र पर्साको वीरगञ्ज नाकाबाट नेपाली आउन पाउँछन् ।

तर लकडाउन खुकुलो भएसँगै अवैध बाटोबाट मासिनस्हरु आउजाउ गर्ने क्रम बढेको छ । तिलाठी कोइलाडी गाउँपालिका निवासी पूर्वसांसद शिवचन्द्र मिश्र कुनौली आरपार गर्नेहरुको लाइन लागेपनि प्रहरी मौन बस्ने गरेको बताउँछन् ।

यताको मान्छे उता र उताको यता आउने गरेमा कोरोना संक्रमण नियन्त्रण गर्न गाह्रो हुनेछ । ‘अहिले भइरहेको यही छ’ जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादव भन्छन्, ‘सीमामा कडाइ नगरिए कोरोना नियन्त्रण गर्न गाह्रो छ ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा पनि बिहारमा केस बढेको अवस्थामा सीमामा थप कडाइ गर्नुपर्ने बताउँछन् । ‘अहिले उताबाट पनि मान्छे आइरहेको पाइएको छ’ उनी भन्छन्, ‘यसमा कडाइ गर्नु जरुरी छ ।’

‘हामी दिनरात खटिरहेका छौं’

कोरोना महामारीसँगै सरकारले नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढाएको छ ।

लकडाउन भएकै समयदेखि सशस्त्र प्रहरीले आफ्नो ड्युटी दिनरात गर्दै आएको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी कृष्णभक्त ब्रम्हाचार्य बताउँछन् ।

‘अहिले ३५ सयको हाराहारीमा सशस्त्र प्रहरी सीमामा मात्रै ड्युटी गरिरहेका छन्’ उनी भन्छन्, ‘हामी अत्यधिक जोखिम मोलेर पनि काम गरिरहेका छौं ।’

भारतबाट नेपाल छिर्न रोक्दा सर्लाही, रौतहट, बारासहितका जिल्लामा तनाव भएको उल्लेख गर्दै उनले भने, ‘यसमा स्थानीय सरकारका साथै आम नागरिक सचेत हुनुपर्छ ।’

नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी धिरजप्रताप सिंह पनि सीमामा सुरक्षाकर्मी अहोरात्र खटिरहेको बताउँछन् । तर लकडाउन खुकुलो भएपछि किसानहरु मल लिन भारत जान थालेको उनले बताए । भन्छन्, ‘हामी किसानलाई तत्काल भारत नजान सम्झाइरहेका छौं । सीमामा ड्युटी गरिरहेका छौं ।”

तर लुकिछिपी आउने र जाने व्यक्तिप्रति स्थानीय सरकारले पनि निगरानी राख्नुपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment