Comments Add Comment

फेरि मुग्लान पस्न थाले नेपाली

१९ साउन कैलाली । उमेरले झण्डै ५ दशक पार गरिसकेका कञ्चनपुर पुनर्बास–६ का कृपाराम निरौला सोमबार नेपाल भारत सीमा नाका गौरीफन्टामा देखिए । हातमा ठूलो झोला बोकेका उनको निधारमा रातो टीका थियो ।

कोरोना महामारीका कारण भारतबाट नेपालीहरु घर फर्किरहेका बेला उनी कता हिँडेका होलान् ? यही जान्न खोज्दा उनले भने, ‘मजदुरी गर्न भारत हिँडेको ।’
उनको जवाफ अनपेक्षित थियो ।

नेपालमा अहिले कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । तर भारतमा भने त्यो संख्या कयौं गुणा बढी छ । सोमबार साँझसम्म संक्रमितको संख्या १८ लाख ३ हजार ६९५ पुगेको छ भने ३८ हजार बढीले ज्यान गुमाएका छन् ।

‘घरमा साना दुई छोरा छन् । श्रीमतीले नजानू भन्दाभन्दै मनाएर आएको हुँ’ विगत ६ बर्ष देखि भारतमा मजदुरी गर्दै आएका कैलाली बर्दगोरियाका खेमराज चौधरीले भने, ‘अझै केही दिन भारत गइएन भने त भोकै परिन्छ भन्ने पीर भयो ।’

तर निरौलालाई भने कोरोनाको त्रास भन्दा बेरोजगारीको पीडा ठूलो भएको छ । ‘यहाँ बसेर बालबच्चालाई के खुवाउने ? आफूले के खाने ? पहिले कमाएर ल्याएको पैसा पनि सकियो’ उनले आफ्नो बाध्यता सुनाए ।

निरौला विगत २२ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका छन् । कोरोना महामारी र लकडाउनसँगै उनी चैत पहिलो साता घर आएका थिए । ‘त्यो बेला आएपछि फेरि जान पाएको छैन । अब यस्तै अवस्था रहेपछि त भोकै परिन्छ होला’ उनले भने, ‘यहाँ भोकसँग लड्नुभन्दा रोगसँग लड्नु जाति भनेर हिँडेको हुँ ।’

निरौला नजिकै कैलाली घोडाघोडी नगरपालिका–३ निम्दीका राजकुमार चौधरी पनि थिए । उनको निधारमा पनि रातो टीका र हातमा झोला थियो । नेपाल भारत सीमा नाका कट्ने तरखरमा रहेका उनले भने, ‘१५ बर्षदेखि भारतमै छु । हामी जस्ता गरिब मान्छे भारत नगए घरमा चुलो बन्दैन ।’

उनी नेपालमै केही गर्ने योजनाका साथ माघ अन्तिम साता घर आएका रहेछन् । ‘तर यहाँ केही काम पाइनँ । मन मारेर मुग्लान जानुपर्ने अवस्था आयो’ चौधरीले भने । ।

कैलालीको बर्दगोरिगा गाउँपालिकाका खेमराज चौधरी पनि दुई सन्तान र श्रीमतीलाई घरमै छाडेर भारत हिँडेका छन् । ‘घरमा साना दुई छोरा छन् । श्रीमतीले नजानू भन्दाभन्दै मनाएर आएको हुँ’ विगत ६ बर्ष देखि भारतमा मजदुरी गर्दै आएका उनले भने, ‘अझै केही दिन भारत गइएन भने त भोकै परिन्छ भन्ने पीर भयो ।’

कृपाराम निरौला, राजकुमार चौधरी र खेमराज चौधरी प्रतिनिधि पात्र मात्र हुन्, उनीहरु जस्त रोजगारीका लागि फेरि मुग्लान पस्नेहरुको संख्या बढ्न थालेको छ ।

सीमामा रहेको नागरिक सहायता कक्षका दिनेश ठकुल्लाका अनुसार प्रत्येक दिन एक सयभन्दा बढी नेपाली मजदुरी गर्न भारत जान्छन् । पछिल्लो केही दिनयता भारतबाट आउने र जानेको संख्या उस्तै रहेको भन्दै उनले भने, ‘अहिले करिब २ सयको हाराहारीमा नेपालीहरू भारतबाट आइरहेका छन् । । यताबाट रोजगारीको लागि त्यति नै संख्यामा नेपालीहरू भारत गइरहेका छन् ।’

साउन महिनामा मात्रै १५९० जना सीमा पार गरेर भारततर्फ गएको तथ्यांक छ । उनीहरुमध्ये केही भारतीय रहे पनि अधिकांश नेपाली भएको ठकुल्लाले बताए । उनले भने, ‘भारततर्फ गएका १५९० मध्ये १४ सय हाराहारीमा नेपाली छन् ।’

अधिकारीहरुका अनुसार कैलालीको गौरिफन्टा नाका हुँदै भारतको मुम्बई, पुना, दिल्ली, लखनउलगायतका क्षेत्रमा पुग्छन् । भारत जान रासन कार्ड अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment