Comments Add Comment

गाई र भैंसीमा ‘लम्पी स्किन भाइरस’ संक्रमण फैलिएको पुष्टि

१९ साउन, काठमाडौं । पूर्वी नेपालको विभिन्न जिल्लाका गाई र भैंसीमा फैलिएको लम्पी स्किन भाइरस रोग चितवनमा पनि फेला परेको छ । सुरुआती दिनमा गाई, बाच्छा बाच्छी तथा गोरुमा मात्रै देखिएको यो भाइरस पछिल्लो समय भैंसीमा पनि देखिएको र चितवनसम्म फैलिएको पाइएको पशु सेवा विभागले जनाएको छ ।

नेपालमा पहिलोपटक लम्पी स्किन भाइरस रोग गाई र भैसीमा संक्रमण पुष्टि भएको विभागका महानिर्देशक डा.वंशी शर्माले बताए ।

‘केन्द्रीय पशु रोग अन्वेषण शाखामा गरिएको परिक्षणमा नेपालमा यो रोग भित्रिएको पुष्टी भएको छ’ महानिर्देशक डा. शर्माले भने ।

भारतसँग सिमा जोडिएको पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका साथै चितवनमा पनि संक्रमण फैलिएको विभागले जनाएको छ । विभिन्न जिल्लाबाट संकलन गरिएको २४ नमूना परीक्षण गर्दा सबै पोजेटिभ आएको डा.शर्माले जानकारी दिए । पशुमा लक्षण देखिएपछि रगत, स्वाब, पिप तथा घाउको पाप्रालाई नमुनाको रुपमा ल्याएर केन्द्रीय ल्याबमा परीक्षण गरिएको थियो ।

झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहाका सिमावर्ती गाउँका गाई बाच्छामा रोग देखिएको पशुरोग अन्वेषण प्रयोगशाला विराटनगरका प्रमुख डा.सञ्जय कुमार यादवले बताए ।

‘मोरङमा मात्रै निकै छिटो-छिटो रोग फैलिरहेको छ, अहिलेसम्म पाँच जिल्लामा केही गाई तथा गोरुको मृत्यु भएको विवरण केन्द्रलाई प्राप्त भएको छ,’ डा. यादवले भने । संक्रमणको दर निकै छाटो भएको र मृत्यु पनि बढी रहँदा चिन्ता थपिएको उनको भनाइ छ ।

संक्रमणको लक्षण

करिब एकमहिना अघि मोरङका नेपाल भारत सीमावर्ती  गाउँका गाई, गोरु तथा बाच्छा बाच्छीमा रोगको संक्रमण देखिएको थियो । शरीरमा सानो खटिरा देखिने र करिब ८/१० घण्टामा जिउभरी फैलिने तथा पाक्ने लक्षण देखिएको छ ।

संक्रमणपछि गाई, भैंसी तथा गोरु र बाच्छा बाच्छीमा चर्को ज्वरो आउने र खुट्टा सुन्निने तथा लुलो हुने पाइएको पशुरोग अन्वेषण प्रयोगशाला विराटनगरका प्रमुख डा.सञ्जय कुमार यादवले बताए ।

रोग लागेको २४ घण्टामै पशु शिथिल देखिने तथा दुध दिने गाईको दूध उत्पादनमा ७० प्रतिशतसम्म ह्रास आउने गरेको पाइएको उनले बताए ।

फैलावट

असारको मध्यतिर मोरङमा दखिएको उक्त रोग एक महिना अवधिमा प्रदेश एक र दुईका पाँच जिल्लामा फैलिएको पाइएको पशुरोग अन्वेषण प्रयोगशाला विराटनगरले जनाएको छ ।

एउटै गोठ तथा चरनमा रहने गाई गोरुमा रोगको संक्रमण तिब्र पाइएको प्रयोगशालाले जनाएको छ ।

हाल झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहासम्मका किसानले आफ्नो गाई, भैंसी, गोरु तथा बाच्छा बाच्छीमा रोगको संक्रमण रहेको जानकारी गराएको र मोरङमा मात्रै १२ सय गाईवस्तु रोगबाट संक्रमित रहेको प्रयोगशालाका चिकित्सकहरुले बताएका छन् ।

लामखुट्टे, ठूलो झिंगाबाट रगतको माध्यमबाट रोगको संक्रमण फैलिएको चिकित्सकहरुको आशंका छ ।

सुरुआती दिनमा मोरङमा पाँच सय हाराहारीमा देखिएको रोगको संक्रमण एक महिनामा दोब्बरले बृद्धि भएको पाइएको छ ।

संक्रमणपछिको मृत्युदर करिब एकदेखि पाँच प्रतिशतसम्म रहेको र दूग्ध उत्पादन भने ७० प्रतिशतसम्मले ह्रास आएको प्रगोगशाला प्रमुख डा.यादवले बताए । लकडाउनका कारण यकिन तथ्याङ्क लिन अझै कठिनाई भएको पशु सेवा विभागले जनाएको छ ।

लकडाउनमै भित्रियो रोग

लकडाउनका रकाण बाहृय देशको ब्यापार र संम्पर्क लगभग टुटेकै बेला नेपालमा लम्पी स्किन भाइरस रोग फेला परेको छ । सन् २०१९ मा भारत र बंगलादेशमा देखिएको यो रोग नेपाल भित्रिन नदिन पशु क्वरेन्टिनमा ध्यान नदिन नेपाल आइपुगेको छ ।

तर लकडाउनको समयमा यो रोग कसरी भित्रियो भनेर आफूहरु पनि अचम्ममा परेको विभागका महानिर्देशक शर्मा बताउँछन् ।

सम्भावित फैलावट रोक्न पशु क्वरिन्टनलाई कडाई गरिएको, एक स्थानीय तहदेखि अर्को तहसम्म पशुको आवाजावतलाई कडाई गरिएको विभागले जनाएको छ ।

संक्रमण देखिएको ठाउँबाट ५० किलोमिटर क्षेत्रसम्म रोगको सम्भावित फैलावट हुनसक्ने भएकाले सर्तकता अपनाउन कृषकहरुलाई आग्रह गरेको छ ।

गोठ सफा राख्न, लामखुट्टे तथा ठूलो झिगां तथा चरनमा अन्य वस्तुसंग आफ्ना पशु नमिसाउन विभागले कृषकलाई अपिल समेत गरेको छ ।

फोटोः डा.सञ्जय कुमार यादव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment