Comments Add Comment

गत वर्ष ऊर्जा मन्त्रालयको भौतिक प्रगति ७५. ३ प्रतिशत

१९ साउन, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फर्स्यौटमा उल्लेख्य सुधार गरेको छ। आर्थिक वर्ष २०७६/०७७ मा ऊर्जातर्फ ९९.९९ प्रतिशत र जलश्रोत तथा सिंचाई मन्त्रालयतर्फ ९५.५९ प्रतिशत बेरुजु फर्स्यौट भएको हो।

ऊर्जातर्फ १ अर्ब ३९ करोड ८२ लाख ८ हजार ५ सय २० रुपैयाँ बेरुजु रहेकामा १ अर्ब ३९ करोड ८० लाख ७ हजार ४ सय ७० रुपैयाँ बराबरको बेरुजु फर्स्यौट भएको मन्त्रालयले जनाएको छ।

यस्तै जलश्रोत तथा सिंचाइ मन्त्रालयको ९९ लाख ६६ हजार ३ सय ७० बेरुजु रहेकामा ९५ लाख २७ हजार ३ सय रुपैयाँको बेरुजु फर्स्यौट भएको छ। यो दुवै मन्त्रालयअन्तर्गतका विभागीय संरचना बाहेकको तथ्याङ्क हो।

बेरुजु फर्स्यौटका आधारमा सरकारी निकायमा सुशासनको अवस्था मापन गरिन्छ। मन्त्रालयको तेश्रो चौमासिक एवं वार्षिक समीक्षा तथा मन्त्रालयतस्तरीय विकास समस्या समाधान समिति बैठकमा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो।

मन्त्रालयको वार्षिक प्रगति
ऊर्जा मन्त्रालयको तेश्रो चौमासिकमा वित्तीय प्रगति ७३. २६ र भौतिक प्रगति ७५. ३ प्रतिशत भएको छ। यस्तै जलश्रोत तथा सिंचाई मन्त्रालयतर्फ सोही अवधिमा भौतिक प्रगति ७१. ७९ र वित्तिय प्रगति ७१. ६७ प्रतिशत भएको छ।

गत आर्थिक वर्ष ऊर्जातर्फको कूल बजेट ७५ अर्ब ५३ करोड ४० लाख थियो। जसमध्ये ४६ अर्ब ३९ करोड ५२ लाख खर्च भएको छ। जलश्रोत तथा सिंचाइतर्फ २४ अर्ब ७८ करोड ७५ लाख बजेटमा १४ अर्ब ५ करोड ४० लाख खर्च भएको छ। यसरी हेर्दा ऊर्जातर्फ वार्षिक प्रगति ६१. ४२ प्रतिशत र भौतिकतर्फ ७८. ३६ प्रतिशत प्रगति देखिएको छ।

जलश्रोत तथा सिंचाइतर्फ वार्षिक प्रगति वित्तियतर्फ ५६.७० प्रतिशत र भौतिकतर्फ ७२. ३० प्रतिशत छ।

भौतिक प्रगति ८० प्रतिशत गर्ने आयोजनाको संख्या ८ र ५० प्रतशितभन्दा बढी प्रगति गर्ने आयोजनाको संख्या ११ छ। यस्तै जलश्रोत तथा सिंचाइतर्फ भौतिक प्रगति ८० प्रतिशत गर्ने आयोजना संख्या १६ र ५० प्रतिशत प्रगति गर्ने आयोजनाको संख्या १३ छ। कूल ३३ मध्ये ४ वटा आयोजनाको प्रगति ५० प्रतिशतभन्दा कम छ।

९० प्रतिशत जनसंख्यामा विद्युत पहुँच
गत आर्थिक वर्षमा १ सय ४९ मेगावाट जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ। योसँगै नेपालको कूल जलविद्युत जडित क्षमता १ हजार ३ सय ९९ मेगावाट पुगेको छ।

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित केही ठूला आयोजनाको निर्माण गत आर्थिक वर्षमै सक्ने लक्ष्य रहेकामा कोभिड–१९ महामारीका कारण त्यसो हुन सकेन। यस्तै गत आर्थिक वर्षमा प्रतिव्यक्ति विद्युत खपत बढेर २ सय ६० किलोवाट घण्टा पुगेको छ।

गत वर्ष थप ३ लाख ३४ हजार घर धुरीमा विद्युत पहुँच विस्तार भएको हो। योसँगै नेपालमा विद्युत पहुँच प्राप्त घरधुरी संख्या ५० लाख १० हजार पुगेको छ। मन्त्रालयले थप २ सय ८५ किलोमिटर (सर्किटमा) नयाँ प्रसारण लाइन निर्माणको काम सम्पन्न गरेको छ।

योसँगै प्रसारण लाइनको लम्बाई देशभर कूल ४ हजार २ सय ५१ पुगेको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत थप ५० किलोवाट सौर्य वायु ऊर्जा थप भई कूल ८ सय ६६ किलोवाट पुगेको छ।

यस्तै वर्षभरिमा थप ५२ वटा थप भई संस्थागत तथा सामुदायिक बायोग्यासको संख्या ४ सय १९ पुगेको छ। राष्ट्रिय प्रसारण प्रणालीमार्फत विद्युत पहुँच प्राप्त जनसंख्यामा ३ प्रतिशतको वृद्धि भई ९० प्रतिशत पुगेको छ।

गत आर्थिक वर्षमा विद्युत वितरणका लागि २ सय ९० वटा नयाँ शव–स्टेशन निर्माण भएका छन्। विद्युत चुहावटमा पनि उल्लेख्य प्रगति भएको छ। गत आर्थिक वर्षमा विद्युत चुहावट १५.२७ प्रतशितमा सीमित भएको छ। देशभरका १६ वटा जिल्लामा पूर्ण विद्युतीकरण भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment