Comments Add Comment

कोरोना संक्रमणबाट तीन जनाको मृत्यु, ३८० संक्रमित थपिए

२५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३८० जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । उनीहरुमध्ये ७६ जनाको मृत्यु भएको छ भने १६ हजार ३५२ जना निको भइसकेका छन् ।

थप तीन जनाको मृत्यु

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ भने शुक्रबार मृत्यु भएकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  यससँगै मृतकको संख्या ७६ पुगेको छ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका-२ घर भएकी ७० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आइतबार दिउँसो मृत्यु भएको छ ।

निमोनियाका कारण शुक्रबार उनी अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालका उप-निर्देशक डा. दिनेश श्रेष्ठका अनुसार आइतबार दिउँसो करिब ३:१० बजे उनको मृत्यु भयो । उनको शुक्रबार नै स्वाब संकलन गरिएको थियो । तर मृत्यु भएको केही घण्टापछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ ।

यस्तै कास्कीमा एक पुरुष संक्रमितको मृत्यु भएको छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा–१९ का ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो । १७ साउनमा अस्पताल भर्ना भएका उनी मधुमेहका विरामी थिए ।

यस्तै वीरगञ्जमा अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएकी महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९० जना संक्रमित थपिएका छन् । यस्तै पर्साका ७३ जना, धनुषाका ३७, मोरङका २८, बाँकेका २१, सप्तरी र कपिलवस्तुका १७/१७ जना, महोत्तरीका १५ र रुपन्देहीका १० जनामा संक्रमण पुष्टि भएको छ ।

डोटीका ८, चितवनका ७, सुनसरीका ६, सिराहा, झापा, सर्लाही, बारा, नवलपुर, दाङ र जुम्लाका ४/४ जना, नुवाकोट र डडेलधुराका ३/३ जना, ललिपुर, बर्दिया, सुर्खेत र कालीकोटका २/२ जना तथा रौतहट, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, पर्वत, पाल्पा, दैलेख र बैतडीका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment