+
+

मधुमेह, मोटोपन र कोरोना महामारी

डा. अरुणा उप्रेती डा. अरुणा उप्रेती
२०७७ साउन २६ गते ११:०२

कोरोनाको महामारीले विभिन्न ठूला–ठूला देशको दु:खद अवस्था औंल्याएको छ । नेपालमा त जनस्वास्थ्य कहिले पनि चासोको विषय थिएन । अहिले कोरोनाले यसको महत्वको बारेमा जागरुक हुन सबैलाई सचेत गराएको छ । हात धुनुपर्छ, खोक्दा मुख छोप्नुपर्छ भन्ने सामान्य कुराले जीवन बचाउँन सक्छन् भन्ने कुरा हामीले प्रायः वास्ता नगरिएका कुरा हुन् ।

कोरोना लागेर मृत्यु भएका मानिसहरुको संख्या सुन्दा कहालीलाग्दो जस्तो हुन्छ । तर, कोरोनाको कारणले गर्दा मर्ने मानिसहरुको मृत्युको अनुसन्धान गर्दा थाहा हुन्छ कि मोटो मानिसलाई मुटुरोग, मधुमेह जस्ता बिरामी हुने सम्भावना बढी हुने मात्र होइन कि विभिन्न अनुसन्धानले बताएअनुसार मोटो मानिसलाई कोभिड–१९ को संक्रमण हुने सम्भावना पनि बढी हुन्छ ।

ब्रिटेनमा १७ हजार मानिसहरुमा गरिएको अध्ययनले मोटो व्यक्तिमा मृत्युदर ३३ प्रतिशतले बढी हुन्छ भन्ने देखाएको छ । अर्को एक अध्ययन अनुसार कोरोनाको कारणले मोटो व्यक्तिहरुको मृत्युदर दुईगुणा बढी भएको देखिएको छ । अनुसन्धानकर्ताहरुका भनाइमा यदि मोटो मानिसहरुलाई मधुमेह र मुटुरोग पनि छ भने त त्यस्ता विरामीहरु कोरोनाको कारणबाट मर्न सक्ने सम्भावना झन् बढी हुुन्छ ।

ब्रिटेनको अति सघन कक्षमा भर्ना गरिएका कोरोना संक्रमित विरामीहरुमा गरिएको अध्ययन अनुसार त्यहाँ भर्ना भएका करीब ३४.५ प्रतिशत मानिसहरु अत्यधिक मोटा थिए भने ३१.५ प्रतिशत मानिसहरु मोटो थिए । नेपालमा प्राय मोटो मानिसहरुमा पनि मधुमेहको जोखिम बढी हुुन्छ ।

रोगसँग लड्ने शक्ति बलियो भयो भने कोरोनाबाट मात्र होइन क्षयरोगबाट पनि बच्न सकिन्छ । यदि क्षयरोग लागि हाल्यो भने पनि ‘रोग प्रतिरोधात्मक’ शक्ति बढी भएकालाई उपचार गर्न सजिलो हुन्छ । मधुमेह भएकाहरुको शरीरमा कुनै घाउ भयो भने निको हुन निकै समय लाग्छ । कहिलेकाँही त त्यस्तो संक्रमण ठीक नभएर ज्यान जोखिममा पर्छ ।

मोटो मानिसको शरीरमा बोसोको मात्रा पनि बढी हुन्छ । जति बढी बोसो हुुन्छ, फोक्सोको काम गर्ने क्षमतामा त्यति नै नराम्रो असर गर्छ, रगतमा अक्सिजन पुुग्न गाह्रो हुुन्छ । त्यसैले रक्तसंचालन र मुटुमा नकारात्मक असर पर्छ । अर्थात “धेरै मोटा व्यक्तिहरुको महत्वपूर्ण अंगहरुमा अक्सिजन पर्याप्त मात्रामा पुग्दैन ।” अनि फोक्सो संक्रमण हुँदा जटिलता बढी हुन्छ ।

त्यसैले धेरै तौल भएका व्यक्ति वा कोरोना संक्रमण भएर जटिलता भएर आईसीयूमा राख्दा अक्सिजन दिनुपर्छ र उनीहरुको मृगौलाको विशेष ध्यान राख्नुपर्छ ।

विभिन्न रोगहरु भएको कारणले मोटो मानिसमा रोग प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ ।

अफ्रिकन मूलका मानिस र अमेरिकामा पनि विभिन्न सामाजिक कारणले मधुमेह र उच्च रक्तचाप देखिएकोले उनीहरुलाई कोरोना भाइरसले संक्रमण गर्दा जटिलता बढी देखिएको पाइन्छ, साथै उनीहरुको मृत्युदर पनि बढी हुुन्छ ।

अहिले कोरोनाको बेलामा सबैले आफ्नो स्वास्थ्य राम्रो राख्न के खाने भनेर धेरैले चासो राख्न थालेका छन् ।

स्वस्थ रहनका लागि सन्तुलित खानेकुरा खाने र नियमित रुपमा शारीरिक व्यायाम गर्न सल्लाह जनस्वास्थ्यविज्ञले दिन्छन् । कोरोनाको बेला त यस्तो ज्ञान झन महत्वपूर्ण हुन्छ ।

तर, आफ्नो स्वास्थ्यको वास्ता राख्नुपर्ने तथ्यलाई प्राय वास्ता गरिदैन । जब मधुमेहका रोगीलाई कोरोना हुन्छ, तब मात्र बिरामी शायद झसंग हुन्छ, यदि मधुमेह नभएको भए “मलाई जटिलता कम हुने थियो कि” ।

“मोटो र शरीरको तौल बढी भएका मानिसहरुलाई कोरोना भाइरस लागेमा उनीहरु गम्भीर रुपमा विरामी पर्छन र उनीहरुको मृत्यु हुने सम्भावना बढी हुुन्छ” भनेर ब्रिटिश जनस्वास्थ्यविज्ञले बारम्बार भन्दैछन् । नेपालमा पनि जनस्वास्थ्यविज्ञले बारम्बार भन्छ “तौल घटाउनाले स्वास्थ्यमा धेरै फाइदा हुनुका साथै कोभिड–१९को जोखिम पनि कम हुन्छ ।”

ब्रिटेनमा वयस्कहरुमध्ये लगभग दुईतिहाइ मानिसहरु शरीरको तौल बढी भएका छन् । अमेरीकामा ४४% मानिसहरु मोटा छन । त्यहाँ धेरै समस्या भएको छ ।  नेपालमा पनि मोटा मानिसहरुको संख्या र मधुमेहका बिरामीको संख्याचाँहि बढ्दो छ ।

मोटोपन छ कि छैन भनेर थाहा पाउने सामान्य तरिका कम्मरको आकारबाट पत्ता लगाउन सकिन्छ । ३७.०१ इन्चभन्दा ठूलो कम्मर भएको पुरुष र ३१.४ इञ्चभन्दा ठूलो कम्मर भएको महिलाहरुलाई मोटो मान्न सकिन्छ । आफ्नो जीवनशैलीलाई परिवर्तन गरेर मोटोपन कम गर्नेतर्फ ध्यान दिनुपर्छ ।

अक्सफोर्ड युनिभर्सिटीको प्रोफेसर सुसन जेबका अनुसार, अहिलेसम्म भएका अध्ययन अनुसार वृद्ध, पुरुषहरु, दक्षिण एशियाली मूलका मानिसहरुलाई कोरोनाको संक्रमण हुने जोखिम छ ।

बालबालिकालाई माया गरेर चकलेट, पत्रु खाना, चाउचाउ र बिस्कुट ख्वाएर खुशी हुने आमाबुवाले थाहा पाउनुपर्छ कि बच्चालाई स्वस्थ राख्न अलिकति मेहनत गरेर घरेलु खाना दिनुपर्छ । एकछिनको अल्छिपनाले बाहिरका “पत्रु” खाना ख्वाउँदा जीवनभरका लागि रोग लाग्ने सम्भावना बढ्छ ।

आज कोरोना महामारी भएर आएको छ । केही समयपछि अर्को समस्या आउला । औषधि, उपचार त होला त्यस्ता समस्याको तर कति मानसिक र शारीरिक समस्या खप्नुपर्छ, त्यसको त लेखाजोखा नै छैन । त्यसैले स्वस्थ खाना, सकारात्मक सोच दिएर बालबालिकाहरुलाई आफ्नो स्वास्थ्यको बारेमा सचेत गराउने, व्यवहारिक ज्ञान दिने र स्वास्थ्यको बारेमा सिकाउनु नै पर्छ । नत्र २०–२५ वर्षको तपाईको सन्तान मोटोपन र मधुमेहबाट पीडित भए अभिभावकलाई कति समस्या पर्ला ।

लेखकको बारेमा
डा. अरुणा उप्रेती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?