Comments Add Comment

सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाइपासमा प्रदर्शन

२७ साउन, काठमाडौं । विगत सात वर्षदेखि हिलाम्मे भएको सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाइपासका स्थानीयवासीले प्रदर्शन गरेका छन् । बालाजु बाइपास सडक तत्काल विस्तार गर्न र कालोपत्रे गर्न माग गर्दै स्थानीयले मंगलबार बिहान प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा स्थानीयले ‘सरकार बाटो चाँडै बनाइदेऊ’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

बालाजु बाइपासमा २०१७ सालसम्म सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गा व्यक्तिले हडपेर बिना लालपुर्जा किनबेचसमेत गरिएको थियो । सडक विस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा  बाँकी रहेको सार्वजनिक जग्गा हडपेर बनाइएका टहरा २०७० सालमा हटाइएको थियो ।

एउटा घरको भग्नावशेष बाँकी रहेकामा गत साता सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त भग्नावशेष हटाएर सडक विस्तार गरिरहेको छ । तर ती टहरामा बसीरहेकाले अनावश्यक विवाद निकालेको भन्दै स्थानिय सडक निर्माणका लागि आन्दोलनमा उत्रिएका हुन् ।

२०१७ सालसम्म सार्वजनिक जग्गामा विद्यालय रहेको र उक्त विद्यालय पछि तरुण माविमा गाभिएपछि खाली रहेको सार्वजनिक जग्गा हडपेर बसेकाहरुलाई सरकारले घर वापत आवश्यक मुआब्जा २०७१ सालमै दिइसकेको छ । मुआब्जा पनि लिने, सार्वजनिक जग्गा पनि अझै आफूहरुकै भएको भन्दै केही व्यक्तिले सडक निर्माणको विरोध गरिरहेका बेला बालाजु बाइपासमा सदिऔंदेखि बसोबास गर्दै आएका स्थानीय विरोधमा उत्रिएका हुन् ।

हाल सडक विस्तारका लागि खनिएको जग्गामा कुनै बेला पाटी र विद्यालय रहेको र विभिन्न जिल्लाबाट काठमाडौैं आउने सर्वसाधारण बस्ने गरेका थिए । तर उक्त पाटीमा पञ्चायत कालको अन्तिम तिर केही व्यक्तिले नियोजित रुपमा कब्जामा लिएर बसोबास गर्दै आइरहेका थिए ।

बाटो विस्तारका क्रममा बाँकी रहेको भग्नावशेषका कारण बालाजुको उत्तरी क्षेत्रका सर्वसाधारणले वर्षौंदेखि सास्ती व्यहोर्दै आएका छन् । आफूहरुको समस्या समाधानका लागि सरकारले पहल गरे पनि सार्वजनिक जग्गा हडपेकाहरुले अनावश्ययक दुःख दिएकाले आफूहरु सडकमा उत्रिएको स्थानीयको भनाइ छ ।

सरकारले सार्वजनिक जग्गा र त्यसमा बनेका अस्थायी संरचना हटाइसकेको छ । बालाजु बाइपासको खराब सडकका कारण लामो समयदेखि बाइसधारा उद्यान र त्यहाँ रहेको वाटर पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि घटेको छ ।

ऐतिहासिक बाइसधारा पार्कलाई व्यवस्थित बनाउन र पर्यटकीय क्षेत्रमा आवागमन सहज बनाउनका लागि सार्वजनिक जग्गा हडपेर बसेकाहरुलाई विस्थापन गराउनका लागि स्थानीयले पटक पटक माग गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment