Comments Add Comment

नेपालीलाई लठ्याउँदै टिकटक, लकडाउनपछि प्रयोग झण्डै दोब्बर

संगीत क्षेत्रलाई वरदान, विकृति पनि बढ्दै

२८ साउन, काठमाडौं । अहिलेको समय यदि तपाईं टिकटकमा हुनुहुन्न भने बुझ्नुस्, तपाईंले धेरै कुरा मिस गरिरहनुभएको छ । ठाडै विज्ञापन गरेको जस्तो सुनिए पनि यो वास्तविकता हो ।

मनोरञ्जनका लागि मात्र होइन, सूचनाका लागि पनि अपरिहार्य बन्दै गएको छ यो चाइनिज एप । फिल्मका गीत र डाइलगमा लिपसिंक गरेर छोटो भिडियो पोष्ट गर्ने एपका रुपमा सुरुमा चिनिए पनि अहिले यो बहुआयामिक बनिरहेको छ । आफ्नो प्रतिभा देखाउने त छँदैछ, संसारभर के कुरा ट्रेन्डिङमा छ भनेर थाहा पाउन सकिने सबैभन्दा सहज माध्यम नै अहिले टिकटक एप हो । राजनीतिदेखि चलचित्रसम्म अध्यात्मदेखि संगीतसम्म सबै विधाका ‘हट टपिक’ सबैभन्दा पहिले टिकटकमा आउन थालेका छन् ।

नेपालीहरुमा टिकटकले आफ्नो जादु चलाएको दुई वर्षजति भयो । सुरुमा टीनएजका केटीहरु यसमा आकर्षित भए । त्यसपछि विस्तारै हरेक उमेर समूहका नेपालीहरुलाई यसले लठ्याइरहेको छ । आजकाल बौद्धिक क्षेत्रका व्यक्तिहरुसमेत यसमा रमाउन थालेका छन् ।

कुनै पनि महत्वपूर्ण कार्यक्रम वा रोचक घटनाहरुको भिडियो सबैभन्दा पहिले टिकटकमा भेटिन्छ । कुनै अन्तरवार्ताको विवादस्पद अंश पनि टिकटकमै पहिले आउँछ । जस्तो कि हालै एक सञ्चारकर्मीले टेलिभिजनमा नायिकालाई गरेको छुद्र गाली टिकटकमार्फत भाइरल भएको हो । अरु पनि थुप्रै स्क्यान्डल टिकटकले जन्माइरहेको छ । तसर्थ, सुरुवातमै भनिएजस्तो, यदि टिकटकमा तपाईं हुनुहुन्न भने धेरै कुरा मिस गर्नुहुनेछ ।

नेपालमा धेरै व्यवसायिक प्रतिष्ठानहरुले टिकटकको उपयोग गर्नतिर ध्यान दिएका छैनन् । अन्यथा १५ सेकेन्डको भिडियो बनाएर टिकटकमा हाल्दा त्यसले लाखौं÷करोडौं रुपैयाँको विज्ञापनको काम गर्ने गर्न सक्छ । जस्तो कि ई–सेवाले बनाएको विज्ञापन गीत टिकटकमा भाइरल भयो । सञ्चार माध्यममार्फत यति प्रचार पाउनका लागि कम्पनीले निकै ठूलो धनराशी खर्च गर्नुपथ्र्यो ।

लकडाउनयता झन् लोकप्रिय

कोरोनाको प्रभाव बढ्न थालेपछि जब नेपालमा देशब्यापी लकडाउन भयो, मानिसहरु आ–आफ्नो घरभित्र कैद भए । यस्तो बेला युवा–युवतीहरुको समय बिताउने माध्यम बन्यो टिकटक ।

लकडाउनका समयमा नेपालमा टिकटक प्रयोगकर्ता अत्यधिक थपिएको देखिन्छ । यसको एकिन तथ्यांक पाउन नसकिए पनि लकडाउनभन्दा अगाडिको तुलनामा टिकटकको प्रयोग झण्डै दोब्बर बनेको अनुमान छ ।

नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार नेपालमा प्रतिसेकेन्ड ५ सय देखि ५५० जीवी इन्टरनेट खपत हुन्छ । लकडाउनभन्दा अगाडिसम्म टिकटक प्रयोगकर्ताले मात्रै प्रतिसेकेन्ड ७ जीबी डाटा खपत गर्थे । यो अहिले १३ जीबी पुगेको छ । यसबाहेक एनसेल, एनटीसी र स्मार्ट सेलको मोबाइल ब्रोड ब्यान्डबाट पनि इन्टरनेट प्रयोग गर्नेले टिकटक चलाउँछन् । यसरी हेर्दा करिब टिकटकमा १५ जिबीपीएसभन्दा बढी डाटा प्रयोग भइरहेको अनुमान प्राधिकरणको छ ।  यस हिसाबले टिकटकको उपयोग ६० देखि७० प्रतिशतले बढेको मान्न सकिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् ।

आजकल फेसबुक र युट्युव छोडेर युवायुवती टिकटकमा झुण्डिन थालेका छन् । यसमा आउने ३ सेकेन्डदेखि १ मिनेटसम्मका भिडियोहरु हेरेर उनीहरु घन्टौं बिताइदिन्छन् । पहिले–पहिले युवायुवतीहरु घुमघाम वा जमघट गर्दा फोटो/भिडियो खिच्न हतारिन्थे । तर, अहिले टिकटक बनाउन कस्सिन्छन् ।

यसरी जन्मियो टिकटक

लिपसिंक (अरुको आवाजमा ओठ चलाएर अभिनय गर्ने काम) छोटा भिडियो बनाएर सेयर गर्ने सुविधा सबैभन्दा पहिले २०१० मा ‘डब्समास’ नामक एपले दिएको थियो । भाइन नामक अर्को एप पनि यस्तै फिचरहरु लिएर आयो । तर, टिकटक आएपछि यिनीहरुका दिन सकिए ।

सन् २०१२ मा चिनियाँ व्यवसायी झाङ यामिङले स्थापना गरेको आईटी कम्पनी बाइट डान्सले सुरुमा ‘डाउयीन’ नाम एप को विकास गरेको थियो सन् २०१६ को सेप्टेम्बरमा । पछि सन् २०१७ मा चीनभन्दा बाहिरको बजारलाई लक्षित गर्दै आइओएस र एन्ड्रोइडका लागि ‘टिकटक’ लन्च गरियो । यद्यपि, सन् २०१८ को २ अगष्टमा म्युजिकल. लीलाई खरिद गरेपछि टिकटक विश्वव्यापीरुपमा उपलब्ध भएको हो । एक अर्ब डलरमा टिकटकले म्युजिकल.लीलाई किनेको थियो ।

बाइटडान्सको प्रधान कार्यालय बेइजिङमा छ भने टिकटकका कार्यालयहरु विश्वका थुप्रै शहरमा छन् । बब्लीन, लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, मुम्बई, सिंगापुर, जाकार्ता, सोल, टोकियोजस्ता देशहरुमा टिकटकका शाखा कार्यालय खोलिएको छ ।

लन्च गरिएको छोटो समयमा नै यसले पूर्वी एसिया, दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अमेरिका, टर्की, रसिया तथा विश्वका अन्य भागमा लोकप्रियता कमाएको थियो । सन् २०२० को अगष्टमा टिकटकका विश्वभर टिकटक प्रयोगकर्ता १ अर्ब नाघेका छन् । केवल चार वर्षको अवधिमा यो उपलब्धी अविश्वसनीय हो ।

विवाद र प्रतिवन्ध

टिकटकलाई लिएर केही देशहरुमा विवाद पनि उब्जिने गरेका छन् । प्रमुखरुपमा यस्तो विवाद अमेरिका र भारतमा देखिन्छ । यी दुई चीनका प्रतिस्पर्धी मुलुक हुन् ।

गत वर्ष भारतमा त्यहाँको अदालतले टिकटकले अश्लिलता फैलाएको भन्दै यसलाई रोक लगाएको थियो । तर, त्यो रोक लामो समय टिक्न सकेन । अदालतले आफ्नो फैसला उल्टाएपछि टिकटक फुकुवा भयो ।

यसै वर्ष चीन र भारतबीच लद्दाखमा तनाव भयो र त्यहाँ चिनियाँ पक्षबाट २० जना भारतीय सैनिक मारिए । यसको प्रतिरोध भारतले टिकटकमा पोख्यो । चीनसँग बदला लिने क्रममा भारतले टिकटक लगायतका पाँच दर्जनजति चाइनिज एपहरुलाई प्रतिवन्ध लगाएको छ ।

टिकटकको सबैभन्दा ठूलो बजार थियो भारत । गत वर्षको जूनसम्ममा त्यहाँ विश्वमै सबैभन्दा बढी १२ करोड टिकटक प्रयोगकर्ता थिए । भारतमा लागेको प्रतिवन्धले टिकटकलाई निकै ठूलो धक्का लागेको छ । भारतले गत जून २९ बाट टिकटकसहित चिनियाँ एपहरुमाथि प्रतिवन्ध लगाएको हो ।

अर्कोतर्फ टिकटकको अर्को ठूलो बजार अमेरिकामा पनि यसको अस्तित्व खतरामा परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार टिकटक बन्द गराउने धम्की दिइरहेका छन् । गत ६ अगष्टमा उनले दुई कार्यकारी आदेशमा हस्ताक्षर गरे जसले दुई लोकप्रिय चिनियाँ एप टिकटक र विच्याटलाई ४५ दिनभित्र बन्द गराउने भनिएको छ । कुनै अमेरिकी कम्पनीले खरिद गरेमा मात्र अमेरिकामा टिकटक जीवित रहन सक्ने छ । अहिले माइक्रोसफ्टसहित विभिन्न कम्पनीले टिकटक खरिदमा रुचि देखाएका छन् ।

टिकटक अहिले विश्वमा सबैभन्दा डाउनलोड गरिने एपहरुको सूचीमा एक नम्बरमा छ । अहिलेसम्म विश्वव्यापीरुपमा यो एप दुई अर्बपटक डाउनलोड गरिएको छ । टिकटकमा विश्वका एकसेएक प्रख्यात सेलिब्रिटीहरु जोडिएका छन् ।

एप ट्रेस नामक वेबसाइटका अनुसार टिकटक एप अहिले विश्वका १४१ देशमा उपलब्ध छ । यीमध्ये १३५ देशमा यो सर्वाधिक लोकप्रिय एपका रुपमा रहेको छ । सामाजिक सञ्जालमा गरिने पोष्टमा सबैभन्दा बढी इंगेजमेन्ट हुने टिकटकमा नै हो ।

प्रतिभाको डबली

यदि तपाईंसँग कुनै प्रतिभा छ, र त्यसलाई संसारसँग उजागर गर्न चाहनुहुन्छ भने तपाईंले कुनै मिडियाको दैलो चहार्नु पर्दैन, कुनै यूट्युवरको पछि लाग्नु पर्दैन । मोबाइलमा टिकटक डाउनलोड गर्नुस्, आफ्नो प्रतिभा देखाएर भिडियो बनाउनुस् अनि पोष्ट गर्नुस् ।

धेरैले टिकटकलाई अभिनय वा डान्स देखाउन सकिने प्लेटफर्म मात्र ठान्छन् । त्यो सत्य होइन । आफूसँग भएको जुनसुकै कला यसमा प्रदर्शन गर्न सकिन्छ । कसैलाई राम्रो गाउन आउँछ भने गाएको भिडियो हाल्न सक्छन् । जादु देखाउने कला छ भने त्यस्तै भिडियो बनाउन सकिन्छ । जोक भनेर हसाउँदा पनि भयो । यसमा नअटाउने केही पनि छैन ।

नेपालकै केही टिकटकरहरुको उदाहरण लिउँ ।

अभिनय र डान्सबाट फलोअर्स कमाएका त धेरै छन् । अरु विधामा पनि कम छैनन् । जस्तो कि, फेस डान्स र रोबोट एक्ट गरेर प्रख्यात बनेकी छन् चितवनकी गृहिणी कञ्चन बराल चालिसे । उनलाई पाँच लाखभन्दा बढीले फलो गरिरहेका छन् । यस्तै, घरको भान्सामा आफ्नै आमासँग जोक बनाएर चर्चा कमाएका छन्, पुरु सिग्देलले । यी प्रतिनिधि पात्र हुन् ।

नेपालका केही टिकटकरहरुको अविश्वसनीय फ्यान फलोइङ छ । जस्तो कि अष्ट्रेलियामा बस्ने अञ्जु भण्डारी नाम गरेकी नेपाली युवतीका ७२ लाख फलोअर्स छन् । उनी सन् २०१५ मा भएको एसएलसी प्रिन्सेस प्रतियोगिताकी विजेता हुन् ।

ट्विनी गल्र्सका नामले चिनिने प्रिज्मा र प्रिन्सी खतिवडाले ६५ लाख फलोअर्स कमाएका छन् । उनीहरुका फलोअर्स नेपालमा मात्रै सीमित छैनन् । भारत, पाकिस्तानलगायत दक्षिण एसियाली देशमा पनि छन् ।

टिकटकबाट कमाएको लोकप्रियताले उनीहरुलाई मोडलिङमा धकेलेको छ । अहिले म्युजिक भिडियोमा पनि मोस्ट डिमान्डेड नाम हुन् प्रिज्मा र प्रिन्सी ।

प्रिज्मा भन्छिन्, ‘हामीले कलाकारितामा लाग्ने कुनै सोचाइ नै बनाएका थिएनौं, टिकटकले नै हामीलाई यो फिल्डमा ल्याएको हो ।’

टिकटकबाट म्युजिक भिडियो वा फिल्ममा आएका कलाकारहरु अरु पनि छन् । एउटा चलचित्रमा नायिका बनेकी रेश्मा घिमिरेले कुनै चर्चा पाउन सकिनन् । पहिलो चलचित्र नै असफल भएपछि उनलाई कुनै अफर आएन । तर, टिकटक उनका लागि वरदान बनिदियो । अभिनय र नृत्य दुवैमा पोख्त उनी अहिले म्युजिक भिडियोमा चर्चित र व्यस्त छिन् । टिकटकमा गरेको अभिनयबाट उनले निकै राम्रो फ्यान फलोइङ कमाउन सफल भइन् ।

नेपाली संगीतलाई बरदान

टिकटकका फाइदाहरुको कुरा गर्दा पहिलो त यो मनोरञ्जन वा टाइमपासका लागि उपयोगी भयो । दोस्रो आफ्नो प्रतिभा देखाउन सक्ने प्लेटफर्म र तेस्रो सूचनाको स्रोत पनि भयो ।

त्यसबाहेक नेपालमा टिकटकले पुर्याएको महत्वपूर्ण योगदान हो, नेपाली गीत–संगीतको प्रवर्द्धन । नेपाली संगीत क्षेत्रका लागि टिकटक एउटा बरदान नै सावित भइरहेको छ । युवापुस्तालाई नेपाली मौलिक लोकसंगीततर्फ यसले तानेको छ । उनीहरु विदेशी गीत–संगीतबाट नेपाली गीत–संगीत, त्यसमा पनि विशेषतः लोकसंगीततर्फ मोडिनु निकै सुखद विषय हो ।

यदि तपाईंले राम्रो गीत बनाउनुभएको छ भने त्यसको विज्ञापनमा अब पैसा खर्च गर्नुपर्दैन । टिकटकरहरुले निःशुल्क विज्ञापन गरिदिन्छन् । अहिले धेरै नेपाली गीतहरुले टिकटकबाटै यूट्यूवमा भ्यूज बढाइरहेका छन् ।

उदाहरणका लागि निशान भट्टराई र एलिना चौहानले गाएको ‘के माया लाग्छ र…’ बोलको गीतले सुरुमा राम्रो भ्यूज पाइरहेको थिएन । तर, टिकटकमा जब भाइरल भयो, यसको युट्युव भ्युज ह्वात्तै उकालो लाग्यो ।

कतिपय पुराना र कालजयी गीतहरुलाई पनि टिकटकले युवा पुस्तासम्म पुर्याइरहेको छ । भारतमा टिकटक प्रतिबन्धित भएपछि अहिले हिन्दी डाइलग वा गीतमा नेपालीहरुले टिकटक बनाउने क्रममा पनि निकै ह्रास आइरहेको छ । नेपालीहरुले नेपाली गीतमै टिकटक बनाइरहेका छन् । यसले नेपाली संगीतको अन्तर्राष्ट्रिस्तरमै प्रवद्र्धन भइरहेको छ । यसकारण कि केही नेपाली टिकटकरहरुका अन्य देशहरुमा पनि धेरै फलोअर्स छन् । उनीहरुले नेपाली गीतमा टिकटक बनाउँदा ती देशसम्म नेपालको संगीत पुग्छ ।

कतिपय विदेशी नागरिकहरुले पनि नेपाली गीतमा टिकटक बनाएको देख्न सकिन्छ ।

विकृति र समाधान

जब कुनै नयाँ आविस्कार हुन्छ र त्यसले व्यापकता पाउँछ, विस्तारै विकृतिहरु पनि जन्मन थाल्छन् । विकृतिहरुलाई पन्छाउँदै, कुल्चँदै आविस्कारको मर्मलाई जीवन्त बनाइराख्ने चुनौति त्यसपछि पैदा हुन्छ ।

टिकटकमा पनि केही विकृति र खराबीहरु देखिन थालेका छन् । गृहणीहरु टिकटकमा भुलेर बच्चा, भात बिगारेकोदेखि किशोरीहरुले टिकटकको लत लागेर पढाइ नै बिगारेकोसम्मका गुनासाहरु पुरुषहरुको सर्कलमा सुनिने गर्छन् ।

भाइरल हुने चक्करमा कतिपय अत्यन्तै उच्छृङ्खल र अपाच्य खालका हर्कतहरु गर्ने गर्छन् । कोही अश्लिल शब्दहरु बोलेर लाइक र कमेन्ट बटुल्ने दुर्नियत राख्छन् । कमेन्ट बक्समा पनि अश्लील गालीगलौजहरु भरमार भेटिन्छन् ।

टिकटकका कारण राम्रा मेलोडियस गीतहरु छायामा परेर ताइ न तुइका गीतहरु भाइरल भइरहेका गुनासो कतिपय संगीतकर्मीबाट सुन्न थालिएको छ । यो केही हदसम्म सत्य पनि हो ।

टिकटकमा भाइरल बनाउने नाममा नयाँ पुस्ताको संगीतकर्मीहरु हाउडे गीततिर लागिरहेका छन् । प्रकाश सपुतको नयाँ सन्देशमुलक गीत ‘बदला बरिलै..’ ले यूट्यूवमा धेरै दिन एक नम्बर ट्रेन्डिङमा रह्यो । तर टिकटकमा यसको त्यतिविघ्न चर्चा भएन । जब कि ‘के छ है… ठिकै छ’ टाइपका गीतहरु टिकटकमा रातारात भाइरल हुन्छन् ।

मूलतः अश्लीलताको पाटोले नेपाली समाजमा टिकटकलाई मैलो बनाइरहेको छ । अश्लील दृश्यलाई त टिकटक आफैंले सम्पादन गर्छ । तर, नेपाली भाषामा बोलिएका अश्लील संवादहरुचाहिँ जस्ताको तस्तै आउँछन् ।

बालबालिकाको हातमा पनि पुग्ने टिकटकमा यस्तो संवादहरुलाई कसरी नियन्त्रण गर्ने भन्ने सोचनीय विषय बन्दै गएको छ ।

अर्को गालीगलौजको समस्या पनि बढ्दो छ । यसबाट खास गरी महिला सेलिब्रिटीहरु बढी पीडित भइरहेका छन् । केही समयअघि दीपाश्री निरौलाले राजेश हमाल महानायक होइनन् भन्दा सबैभन्दा टिकटकमा चर्को गालीगलौजको सामना गर्नुपर्यो । विभिन्न स्क्यान्डलमा मुछिएका नायिकाहरु वर्षा राउत, साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मालगायत पनि अश्लील गालीगलौजको शिकार बनेका छन् ।

तर, केही खराबीहरुलाई उछालेर टिकटक नै बन्द गर्नुपर्ने मागचाहिँ खुट्टामा घाउ लाग्दा खुट्टा नै काट्नुपर्छ भनेजस्तै हुने बताउँछिन् टिकटकर प्रिज्मा ।

उनले भनिन्, ‘हो, केही उच्छृंखल व्यक्तिहरुले लाइक्स र कमेन्टका लागि नचाहिँदा क्रियाकलाप गर्ने र अपशब्द बोल्ने गरिरहेका छन् । यी कुराहरुलाई कसरी समाधान गर्ने भन्नेमा लाग्नुपर्छ, न कि टिकटक नै ब्यान्ड गर्ने । अरु त टिकटकले नराम्रो के नै गरेको छ र ? यसका बेफाइदाभन्दा फाइदा निकै धेरै छन् ।’

सन् २०१८ मा इन्डोनेसियाले अश्लील, उच्छृंखल र विकृत सामग्रीहरुको फैलावट गरेको भन्दै टिकटकलाई प्रतिवन्धित गर्यो । त्यसलगत्तै टिकटकले इन्डोनेसियामा टिकटकका सामग्रीहरु सेन्सर गर्नका लागि २० जना आफ्नो कर्मचारी खटायो । यसको ८ दिनपछि सरकारले प्रतिवन्ध फुकुवा गर्यो । नेपालमा पनि यस्तै प्रकारले टिकटकलाई अनुरोध गर्न सकिन्छ ।

यसका लागि सरकारी निकायहरुले चासो देखाउनुपर्ने हुन्छ ।

एकोहोरो नलाग्न मनोविदको सुझाव

टिकटकको अत्यधिक प्रयोगले टिनएजरहरुमा विभिन्न मानसिक समस्या पनि उत्पन्न हुन सक्ने अध्ययनहरुले देखाएका छन् । त्यसैले टिकटकको प्रयोग नियन्त्रित हुनुपर्ने सुझाव मनोविदहरुको छ ।

मनोविश्लेषक बासु आचार्य भन्छन्, ‘केटाहरुमा पब्जिको जस्तै केटीहरुमा टिकटक लत बढेको देखिन्छ । यसमा एकोहोरो भएर लाग्दा पक्कै पनि मानसिकरुपमा असर गर्छ नै । त्यसैले सबै कुरा बिर्सेर टिकटकमा अत्यधिक समय बिताउनु मानसिक स्वास्थ्यका लागि फाइदाजनक हुन्न ।’

टिकटकमा आफूले सोचेजस्तो लाइक र कमेन्ट नआउँदा टिनएजरहरु दुःखी र निराश हुने समस्या पनि उनले औंल्याए ।

‘अहिले धेरैलाई कसरी हुन्छ भाइरल हुनु परेको छ । भाइरल हुने लोभमा युवायुवतीहरु अनेक किसिमका प्रयोग गर्छन् । तर, यति गर्दा पनि लाइक–कमेन्ट आएन भने पक्कै पनि उनीहरुमा नैराश्य र चिड्चिडाहट उत्पन्न हुन्छ नै,’ उनले भने ।

टिकटकमा लाइक र कमेन्टको पछि दौडिनुभन्दा यसलाई सामान्य मनोरञ्जनको साधनका रुपमा उपभोग गर्न आचार्यको सुझाव छ ।

उनी भन्छन्, ‘सबै मान्छे सबै कुरामा पोख्त हुँदैनन् । त्यसैले टिकटकमा हिट हुन सकिनँ भनेर दुःखी हुनु भएन । अन्यथा यसले समस्या निम्याउँछ ।

छोराछोरीहरु सामाजिक सञ्जालको लतमा परेको भनेर धेरै बाबुआमाहरु आफूकहाँ सल्लाह सुझाव माग्न आउने गरेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment