
१५ भदौ, काठमाडौं । विशेष सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको संयुक्त कार्यालय भवनको शिलान्यास गरिएको छ ।
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संयुक्त कार्यालय भवनको एक कार्यक्रमबीच सोमबार शिलान्यास गरेका हुन् ।
भ्याटबाहेक ३१ करोड ६२ लाख ४० हजार ५७६ रुपैयाँ २३ पैसामा सम्झौता भएको भवनको ठेक्का प्रेरा तुलसी भक्त कन्स्ट्रक्सन प्रा. लिले पाएको छ ।
माईतिघर मण्डलाको उत्तरपट्टी स्वास्थ्य मन्त्रालयसँगै निर्माण हुन लागेको भवनको दुई वर्ष ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । महान्यायाधिवक्ताको कार्यालयको भने दुई वर्षभित्रै भवन निर्माण सम्पन्न हुने अपेक्षा छ ।
शिलान्यास कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता खरेलले गुणस्तर कायम गर्ने कुरामा कत्ति पनि सम्झौता नगरि तोकिएको समयावधि अगावै निर्माणकार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।
भवनको निर्माण सम्पन्न भएपछि हाल भाडामा रहेर विभिन्न समस्या झेल्दै आएका विशेष सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयलाई कार्यसम्पादन गर्न सहज हुनेछ ।
कार्यक्रममा नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सु.ई. कुमारप्रसाद घिमिरेज्यू, उपन्यायाधिवक्तालगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4