
१८ भदौ, काठमाडौं । युवाहरुले ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ तानेका छन् ।
बिहीबार बिहान साढे ९ बजेतिर भेला भएका युवाहरुले असोज २ गतेदेखि मलमास सुरु हुने र रथयात्रा अनिश्चित हुने भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै रथयात्रा गर्न माग गर्दै प्ले कार्ड प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरीले अवरोध गरेपछि युवाहरु आजै रथ तान्नुपर्छ भनेर कस्सिएका हुन् ।
तर यस विषयमा न त गुठी संस्थानले कुनै निर्णय गरेको छ न त सरोकारवाला निकायलाई नै यसबारे जानकारी छ ।
गत असार १० गतेदेखि निर्माण सुरु भएको रथमा मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको छ । तर कोरोना संक्रमणको जोखिमका कारण अहिलेसम्म रथयात्रा हुन सकेको छैन ।
महानगरीय प्रहरी वृत्त जावलाखेलले यो कुनै पूर्वतयारी अनुसार भएको कार्यक्रम नरहेको जनाएको छ ।
उता, यस विषयमा सरोकारवाला निकाय भने बेखबर छ । रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्बन्धी सम्पूर्ण प्रक्रियामा सहभागी हुने ज्यापु समाजलाई मान्छे कसको आग्रहमा भेला भए भन्ने जानकारी छैन ।
समाजका अध्यक्ष चन्द्र महर्जनले आफूहरू गुठी संस्थानको निर्णय कुरेर बसेको भए पनि एकाबिहानै कसरी त्यति मान्छे भेला भए भन्ने बारेमा आफूलाई जानकारी नभएको उनले बताए । गुठी संस्थान ललितपुरको बैठक यही विषयमा निर्णय गर्नको लागि दिउँसो १ बजेको लागि बोलाइएको छ ।
त्यसो त रथमा बस्ने र रथयात्रा गरे पछि रथ रोक्न लगाउने विभिन्न पदका सरोकारवाला व्यक्तिलाई समेत अहिलेको रथयात्राको विषयमा जानकारी छैन ।
पाटन तलेजु मन्दिरका पुजारी रक्षण राजोपाध्यायले आफूहरू पूर्णचण्डीमा क्षमापूजाको लागि गएको र रथमा बस्ने एवं रथ रोक्न लगाउने सबै जना त्यहीँ रहेको बताए । तर रथयात्राको लागि भन्दै कसको आग्रहमा त्यति धेरै मान्छे भेला भए भन्ने बारेमा भने आफूहरू समेत अचम्ममा परेको उनले जानकारी दिए ।
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4