+
+

पुल्चोकमा ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १८ गते २०:१५

१८ भदौ, काठमाडौं । ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् ।

कोभिड–१९ (कोरोना भाइरस) को महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो । प्रशासनको निषेधका बीच केही युवाले मत्स्येन्द्रनाथको रथ तानेका थिए ।

लगत्तै लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञामा गरिएको रथ यात्रा रोक्न महागनरीय प्रहरी कार्यालय, ललितपुरलाई निर्देशन दिएका थिए । त्यसक्रममा प्रहरीले भिडलाई तितरवितर पार्न पानीको फोहोरा र अश्रुग्यास हानेको थियो ।

त्यहीबीच कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा घिमिरे भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिले कुटपिट गरेको देखिन्छ । केहीवेरपछि एक जना प्रहरीले उनको उद्दार गरेर लगेको देखिएको छ ।

हाल घिमिरेको अल्का अस्प्तालमा भइरहेको छ । अस्पताल स्रोतका अनुसार घिमिरेको टाउको र हातमा चोट देखिएको छ । अहिले सिटी स्क्यान गर्ने तयारी भइरहेको जनाइएको छ ।

महामारीका वेला पनि काममा खटिएका वेला कुटिएपछि प्रहरी अधिकारीहरुको मनोबल गिरेको भन्दै सुरक्षा अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले दोषीको खोजी भइरहेको अनलाइनखबरलाई बताए ।

उनले भने, ‘जोसुकैले गरे पनि सबैलाई कानूनी दायरामा ल्याएरै छोड्छौं ।’ ललितपुर प्रहरीले पनि जवान घिमिरेमाथि कुटपिट गर्नेको खोजी थालिएको जनाएको छ ।

महामारीमा फ्रन्टलाइनमा खटिनेलाई सरकारले अतिरिक्त भत्ता दिने घोषणा गरे पनि सुरक्षाकर्मीले अझै पाएका छैनन् । यस्तो अवस्थामा पनि महामारीविरुद्धको प्रतिकार्यमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि पटकपटक दुर्व्यहार हुने गरेको छ ।

महामारी नियन्त्रणका लागि उपत्यका प्रशासनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी साता व्यापी निषेधाज्ञाको आदेश जारी गरेको छ । यसअघि दुई साता पनि निषेधाज्ञा लागू गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?