+
+

रेलमार्गको भ्रष्टाचार रोक्न माग गर्दै माइतीघरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २१ गते १५:३१

२१ भदौ, काठमाडौं । पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्डको ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका कार्यकर्ताहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

आइतबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा भेला भएर कांग्रेस कार्यकर्ताहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो ।

जुन टेन्डर अहिले मूल्यांकन प्रक्रियामा रहेको भनिएको छ । जग्गा अधिग्रहण पनि नगरी हतार-हतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको छ । रेलमार्गबाट प्भावित हुने जनता पनि आन्दोलित छन् । तर, सरकार भने यस विषयमा मौन छ ।

कांग्रेस कार्यकर्ताहरुले बोकेको प्लेकार्डमा ‘सरकार किन मौन ?’ लेखिएको थियो । उनीहरुले अख्तियार र राजनीतिक दलका नेताहरुलाई पनि मौन किन बसेको भन्दै प्रश्न गरेका छन् ।

‘सधैं सुशासनको कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओली रेलमार्गमा यत्रो अनियमितताको प्रश्न उठिरहेको बेला पनि मौन बस्नु रहस्यमय छ । यो विषयमा सरकार, नियमनकारी निकाय र राजनीतिक दलका नेताहरु बोल्नुपर्छ भनेर हामी भेला भएका हौं,’ प्रदर्शनमा सहभागी नेविसंघका नेता डिल्लीराम सुवेदीले भने ।

कांग्रेसकै सभापति शेरबहादुर देउवासमेत रेलमार्गको विषयमा मौन बस्दै आएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेलले भने रेलमार्गको ठेक्का प्रक्रिया रोकेर  हुन लागेको नीतिगत भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन् ।

माइतीघरको प्रदर्शनमा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णलगायत न्यून संख्यामा कांग्रेस कार्यकर्ताहरु सहभागी थिए । कोरोना संक्रमणको जोखिमका कारण सीमित संख्यामा भेला भएर र भौतिक दुरी कायम गरेर आफूहरुले विरोध प्रदर्शन गरेको कांग्रेस कार्यकर्ताहरुले बताएका छन् ।

अनलाइनखबर फलोअप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?