+
+
इतिहास र संस्कृति :

सुब्बाहरूको दसैं र गोर्खालीको निशान

अर्जुनबाबु माबुहाङ अर्जुनबाबु माबुहाङ
२०७७ कात्तिक ११ गते २०:३७

घटस्थापनाको अघिल्लो दिन मात्र छथर ओख्रे (तेह्रथुम) का भुवनजित तुम्खेवा काठमाडौंबाट दसैं मान्न घर आइपुगे । उनले घरमा पूर्खाहरूले गोर्खालीबाट लिएका नगरा, निशान, तोप, ढाल, तरवार, खुँडा राख्ने गरेका छन् ।

तुम्खेवाले नौरथादेखि जमरा राख्ने, नगरा बजाउने, निशानलाई नयाँ श्रीङ्गार पहिरन दिने, धुप बाल्ने इत्यादि गरेका छन् । पहिले उनका पूर्खाले दसैंमा निशान जसरी पूज्थे, भुवनजितले त्यसरी नै नित्य कर्म गर्दै आएका छन् ।

नौदिनसम्म नौ दूर्गाहरूको पूजा गर्ने, नवमीको दिन “हा…हा…देवी तामा देवी भवानी” भन्दै मालसिरी गाउने, देवीका नाममा कुभिण्डोलाई चारखुट्टी उभ्याएर काट्ने, बोको, राँगो भोग दिने र रगतमा हातको पञ्जा र खुट्टाको पाइताला चोबेर सिकुवा र मूलढोकाका दायाँ–बायाँ भित्तामा छाप हान्ने र दशौं दिनमा दहीमा चामल मुछेर मान्यजनहरूबाट आशिर्वाद टीका थाप्ने अनि उमारिएका जौ र मकैका जमरा कानमा सिउरिने । सुब्बा (लिम्बू) हरूले दसैं यसरी नै मान्ने गर्थे ।

तेह्रथुम (सदाप/ओख्रे) का भुवनजीत तुम्खेवासँग रहेका गोर्खालीबाट प्राप्त तोप, ढाल, खुँडा, तरबार

विसं.२०२१—२३ देखि भुमिसुधार लागेर नापी नहुञ्जेलसम्म आफ्नो किपट, खर्कमा राखेका ढाक्रे/रैतीहरू सबैलाई सुब्बाले नै टिको लगाइदिन्थे । मै हुँ भन्ने क्षेत्री/बाहुनहरू पनि दसैंमा त दहीको ठेकीे, खसीको फिलो बोकेर सुब्बाको घरमा पुग्नै पर्‍यो ।

नयाँ बिहाबारी परेको लिम्बूका घरमा त ज्वाइँछोरीले टीका लगाउन ढाकरमा सिंगै सुँगुर बनाएर (आन्द्राभुँडी मात्र निकालेर भुत्ला खुर्किएको सिंगो सुँगुर) दुई—दुई खुट्टामा सयपत्री फूलसहित बाँधेर नयाँ टीकाको दस्तुरसहित ससुराली घरमा पुग्नुपर्‍थ्यो ।

त्यसो त गोर्खालीले नै दसैं कहिलेदेखि र किन माने, चासोको विषय बनेको छ । सम्भवतः पृथ्वीनारायण शाहकै पालामा गोरखा दरबारबाट निकालिएको फूलपाती मनकामना मन्दिरमा मन्तरु गरेर काठमाडौंको हनुमानढोकामा फूलपाती भित्र्याउन सुरु भएयता दसैं मान्न थालिएको हो कि ?

योगी नरहरीनाथले ऐतिहासिक सामग्रीहरु संकलन गरेर २०२२ सालमा प्रकाशनमा ल्याएको पुस्तक इतिहास पत्रमा सन्धीपत्र संग्रह को पृष्ठ ३३ मा बहादुर शाहले १८५० मा पर्वते कालिगढलाई नौ दिन र नेवार कालिगढलाई चार दिन दसैं बिदा दिएको देखिन्छ ।

सुब्बाहरूलाई भने दसैं कहिलेदेखि मान्न लगाइयो त ?

१९२८ मा धनकुटा गौंडाबाट राँगा, बोका झिकाइएको कागज

विसं.२०४२ सालमा प्रकाशनमा आएको शिवकुमार श्रेष्ठद्घारा लिखित पुस्तक लिम्बुवानको ऐतिहासिक अध्ययन को पृष्ठ पृष्ठ १३१ मा रणबहादुर शाहले श्रीदेव राय (फागो थरी लिम्बू) लाई १८५१ मा गरिदिएको कस्य रुक्कामा ‘…दसैंको भाग सुब्बापिच्छे रु ५’ जस्ता वाक्यांशहरू परेका छन् । अथवा, गोर्खालीहरूले सुब्बाहरूलाई दसैंको भाग रु ५ तिर्न लगाएर दसैं मान्न लगाएको देखिन्छ ।

पाँचथर अम्लाबुङका अम्बिकाप्रसाद आङदेम्बेसँग भएको कागजमा १९२८ मा पान्थर याङनामबाहेकका अम्लाबुङका सुब्बाहरूलाई चैते दसैं र महादसैंमा राँगो र बोकाहरू धनकुटा गौंडामा बुझाउन भनिएको छ । थुमथुमका सुब्बाहरूले राँगो, बोको धनकुटा गौंडामा पालैपालो दसैंमा बुझाउँथे ।

दसैंलाई यसरी विशेष पर्वका साथ मनाइनु पर्नेमा निशानको पूजा महत्वपूर्ण थियो । जनार्दन घिमिरेका अनुसार गोर्खालीहरूले विजयको प्रतिक जंङ्गी निशान स्थापना गर्ने र खलङ्गा कायम गरी प्रशासन चलाउन सुरु गरेका थिए ।

घिमिरेको २०७५ सालमा प्रकाशनमा आएको पुस्तक श्री निशान भगवती मन्दिर को पृष्ठ १—२ अनुसार श्रीजङ्ग गण र इन्द्रध्वज गुल्मको निशान पाल्पाबाट धनकुटा ल्याइएको थियो । १८४१ अगाडि नै जङ्गी निशान प्रसादसिं बस्नेतले स्थापना गरेका थिए । आजसम्म पनि धनकुटाको निशान भगवतीको प्राङ्गणमा नौरथाभरि चण्डीपाठ गर्ने, भाकल गर्ने, दुःख बिमार पर्दा पूजा तथा वली दिने, लाख वत्ती बाल्ने, घण्ट, त्रिशुल, श्रीङगार पहिरन चढाउने परेवा उडाउने कार्य गरिन्छ ।

युद्धप्रसाद वैद्यका अनुसार १८७५ मा इलाममा श्रीनाथ पल्टनका निशान स्थापना गरियो । ती निशानहरू माईस्थान परिसरमा राखिएका छन् ।

निशान फलामको मौलो मुठ्याएर टुप्पोमा संगीन र त्रिशुल गाढेर बनाएको देखिन्छ । त्यसपछि निशानलाई श्रीङ्गारिक पहिरन ओढाएर राखिन्छ । यसलाई शक्ति पीठको प्रतीक स्वरुप स्थापित गरिन्छ । लडाइँमा खटेका सुब्बाहरूलाई खुँडा, ढाल, तरबार, तोपसहित निशान बनाएर बाँडेको देखिन्छ ।

प्रेम खजुमको सम्पादनमा २०६९ मा प्रकाशित योमुइ चम्खासिङ यक बुलेटिनको पृष्ठ ९४—९९ पृष्ठमा पत्रकार भैरव आङलाले लिम्बुवानको निशान शीर्षकमा गोर्खालीबाट धनकुटा ताङखुवाका खजुम पारघारी र चोङबाङ लिम्बूका सुब्बाहरूसँग १—१ गरी २ थान, तेह्रथुम जिल्लाको छथर सुदापका खेवा तुम्खेवा र मादेनसँग १—१ गरी २ थान र तेह्रथुमकै छथर पोखरीको वसिकामा लेवा खजुमहरूसँग १ थान निशान रहेको लेखेका छन् ।

तेह्रथुम छथर दाँगापाका सुब्बा लोकमान मादेनसँग रहेको गोर्खालीले दिएको हिन्दू शास्त्र सम्बन्धी काठमा खोपिएको कागजात र श्रीखण्ड चन्दन

आङलाकै अनुसार धरानको विजयपुरका बुढासुब्बाको पुजारीका घरमा पनि दुईवटा निशान राखिएका छन् । चण्डीपूर्णिमाका दिन टाढाटाढाबाट बुढासुब्बामा निशान पुज्न आउँछन् । त्यो दिन बुढासुब्बाको बाँसको झ्याङ छाँटिन्छ । छाँट्नेहरूले बुढासुब्बाका बाँसका टुक्रा सह/संरक्षणका लागि लिएर जान्छन् । ताङ्खुवा र वसिकामा खजुमहरूले निशानघर बनाएर निशानहरू सुरक्षित राखेका छन् । सुदापका निशानहरू घरमै र निशान घर बनाएरै राखिएका छन् । त्यसैगरी याङवरकमा जम्मा तीनवटा निशान दिइएका थिए ।

कुनै पनि पल्टन निशानसँग आवद्ध हुनु पर्‍थ्यो । १८९६ मा श्री कम्पु पल्टनका लागि निशान हंशदल माबोले बुझेका थिए । यो निशानमा माबो, तावा, लिङदेन इम्बुङसहित जम्मा बाइस सुब्बा संलग्न थिए । १९१२ मा मतिपाल सेलिङले श्रीजङ्ग पल्टनका लागि निशान बुझेका थिए । श्रीजङ्गी निशानसँग मात्रै याङवरक थुमका योङहाङ, सेलिङ, ताम्लिङ, बेघा, माङ्मु, योङ्या, याक्पाङदेन, थङगम्बा, हेमब्या, सिगु, माङयुङ, पेल्लुङ्वा, काम्बाङ, पन्धाक, सुहाङ र सिवा गरि जम्मा सोह्र थरी लिम्बूका ५२ सुब्बा आवद्ध थिए ।

धनकुटा तांखुवाका स्व. झप्टमान पारघारीसँग रहेको नगरा निशान सम्बन्धी कागज

अर्को निशान सिनामका थेबेहरूले बुझेका थिए । यी तीनवटै निशानहरू पहिले थर्पुमा नवमीका दिन पुजिन्थ्यो । नचाइन्थ्यो । पछि कावेलीखोलाको बाढीका कारण एउटा निशान पारि सिनाममा नै पूज्न थालियो । पल्टनको खानकीका लागि थुमथुमका सुब्बाहरूले धान फल्ने खेत रैकर गर्न परेको थियो । यी निशानहरू सुरक्षित गर्न याङवरक गाउँपालिकाले निशान घर नै बनाइरहेको छ ।

१८३९ को कागजमा नन्द राय, जमुन राय, खजुम राय र १८६९ को कागजमा शहरसिं राय खजुमका नाममा गोर्खालीले दिएका कागजमा मकवानपुरे सेन राजाहरूले दिएको नगरा, निशान नै गोर्खालीले सुब्बाहरूलाई थमौती गरेर कागज गरिदिएको देखिन्छ ।

गोर्खालीहरुले अरुण तरेर लिम्बुवान सर गरेपछि सेनकालीन चयनपुरको प्रशासन गौंडा धनकुटा र इलाममा सारियो । गौंडाबाट प्रशासन हेर्न निशानहरूलाई दैविक शक्तिको प्रतीक स्वरुप स्थापित गराइएका थिए । स्थानीय अमालीले उठाएका तिरो बुझ्ने, अमाल र थुमले छिन्न नसकेका मुद्दा हेर्ने र सुरक्षाका लागि पल्टनहरू खडा गर्ने, निशानको देखबहाल गर्ने र निशानलाई पूजेर प्रशासन संयन्त्र चलाउने जिम्मेवारी गौंडाको थियो । वास्तवमा निशान उतिबेलाको कानून थियो र उक्त कानून मान्ने पर्व चाँहि दसैं मनाएर गरिन्थ्यो ।

दसैं पर्वमा निशान पूज्ने नित्य कर्मसँग लिम्बूजातिको इतिहास लुकेको छ । वास्तवमा किपटसँगको प्रशासनिक र प्रथागत अधिकार बढीजसो दसैं पर्वले प्रभाव पर्‍थ्यो । जित्ने गोर्खाली र हार्ने लिम्बू पात्रहरूबिना त पूर्वको इतिहासै अपूरो हुन्छ । यो देश बन्न सबै गोर्खालीको मात्र भूमिका नभएर सबै जातजातिको उत्तिकै भूमिका छ भन्ने इतिहास बुझ्न दसैं पर्वको महत्व बुझ्नैपर्छ ।

(लेखक अर्जुनबाबु माबुहाङ लिम्बु सँस्कृतिविद् एवम् लालीगुराँस नगरपालिका, तेह्रथुमका मेयर हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?