+
+

भोलि आउँदैछन् भारतीय सेनाध्यक्ष, प्रधानमन्त्रीलाई पनि भेट्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते १६:५५

१८ कात्तिक, काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे बुधबार काठमाडौं आउँदैछन् ।

भ्रमणका क्रममा नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह लगाउने छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ताको कार्यक्रम राखिएको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नक्सा जारी गरेपछि नेपाल–भारतबीच सीमा विवाद उत्कर्षमा छ । त्यसयता दुई मुलुकबीच राजनीतिक र कुटनीतिक तहमा सम्वाद नभइरहेका वेला हुनलागेको नरवणेको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

नाकाबन्दी हटाउने विषय सैन्य कुटनीतिले भूमिका खेलेको पृष्ठभूमिमा यो भ्रमणले सीमा विवादमा सम्वादहीनता अन्त्य गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यस्ता छन् कार्यतालिका

नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा नरवणेको स्वागतका लागि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । पहिलो दिन कुनै औपचारिक कार्यक्रम राखिएको छैन तर, नेपालस्थित भारतीय दूतावासको समन्वयमा अनौपचारिक भेटघाट हुनेछन् ।

भ्रमणको महत्वपूर्ण कार्यक्रम चाहिँ बिहीबार राखिएको छ । मानार्थ महारथीको दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम शितलनिवासले बिहीबार राखेको छ । नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ । जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २८ पुस २०७५ मा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिन्ह लगाइसकेका छन् ।

नरवणेनेको नेपाल भ्रमण पनि केही अघि नै तय भए पनि कोभिड–१९ भाइरसका कारण रोकिएको सेनाले बताउँदै आएको थियो ।

शितलनिवासको कार्यक्रम अघि नै नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय भएको छ, त्यसपछि उनले जङ्गीअड्डामा सैनिक गारत निरीक्षण गर्नेछन् । समकक्षी नेपाली सेनाका महारथी पूर्णचन्द्र थापासँग पनि नरवणेले बिहीबार नै औपचारिक सम्वाद गर्नेछन् ।

छलफलपछि जंगीअड्डाका उच्च सैन्य अधिकृतहरुसँग उनले छलफल समेत गर्नेछन् । नरवणेको सम्मानमा जंगीअड्डाले बिहीबार साँझ रात्रि भोजको समेत आयोजना गरेको छ ।

भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले सैनिक स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीसँग अन्तरक्रिया गर्नेछन् । त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री ओलीलाई भेटेर स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

‘नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको’ अभिव्यक्ति दिएपछि नरवणेको नेपालमा आलोचना समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?