
२३ कात्तिक, काठमाडौं । तनहुँको व्याँस नगरपालिका-५ मा रहेको पर्यटकीयस्थल मानहुँकोटमा दैनिक ३०० जनालाई मात्रै अनुमति दिइने भएको छ ।
एकाएक पर्यटकको संख्या अत्यधि बढेपछि दैनिक ३०० जनालाई मात्रै मानहुँकोट जान अनुमति दिने निर्णय गरिएको मेयर वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
आन्तरिक पर्यटक बढेपछि त्यसको व्यवस्थापनका लागि आइतबार मानहुँकोटमै नगरपालिकाको बैठक बसेको थियो ।
बैठकले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रणमा आइनसकेको बेला भिड बढेकोले त्यसको व्यवस्थापनका लागि रजिस्जेशन गरेर मात्रै पठाउने निर्णय गरिएको मेयर न्यौपानेको भनाइ छ । रजिस्टेशन शुल्क भने नलिइने उनले बताए ।
बैठकले मानहुँकोटको जग्गा खरिद-बिक्रीमा समेत रोक लगाएको छ । यसअघि स्थानीयले समेत छोडेको ठाउँमा पर्यटकको चहलपहल भएपछि व्यापारीले जग्गा किन्ने क्रम बढेपछि नगरपालिकाले पुस मसान्तसम्म जग्गा किनबेच गर्न रोक लगाएको हो ।
साथै, बैठकले तत्काल शौचालय निर्माण गर्ने, खानेपानी र सुरक्षाको व्यवस्थापन गर्ने र गुरुयोजना बनाएर मानहुँकोटको विकास गर्ने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया 4