
‘३० करोड दिन सक्छु, एक करोड दिन सक्दिनँ’ स्वास्थ्य मन्त्रालयको कर्मचारीले भनेछन् ।
‘नेपालका हजारौं बालबालिकाको मुटु बिग्रने समस्याबाट बचाउन सकिन्छ’ भनेर हृदय रोग प्रतिष्ठानले सरकारसँग एक करोड दिने आग्रह गर्यो । नेपाल सरकारका स्वास्थ्य मन्त्रालयका कर्मचारीले उक्त प्रतिष्ठानलाई भनेछन् ‘हामीले तपाईंलाई यो पैसा दिए, तपाईंबाट हामीले कति पाउने त ?’ यसरी सिधासिधा ‘घुस’ मागेपछि प्रतिष्ठानका मान्छे लुरुक्क फर्केछन् ।
बाथ–मुटुरोग लागेर पेनिसिलिन सुई एक वर्षभरि दिँदा रु. ६ सय लाग्छ, पाँच वर्षसम्म लगाउनुपर्ने सुईलाई ३ हजार रुपैयाँ पर्ने रहेछ । तर यति सस्तो पेनिसिलिनको सुई नपाउँदा मुटु बिग्रेर गंगालालमै बालबालिका उपचार गर्न आउनुपर्ने रहेछ ।
पन्ध्र वर्ष मुनिकालाई सित्तैंमा उपचार गराउनको लागि सरकारले गगांलाल अस्पताललाई रु. ३० करोड दिने रहेछ । त्यो ३० करोड रुपैयाँमा स्वास्थ्य मन्त्रालयका कर्मचारीले कति पैसा पाउँदा हुन्, गंगालाल अस्पतालको व्यवस्थापनले कहिले पनि खुलाउने छैन ।

सजिलै र सहज रुपमा रोक्न सकिने बाथ रोगको लागि सरकारले पैसा खर्च नगर्नुको कारणचाहिँ डा.प्रकाश रेग्मीले ‘टन्सिलले बिगारेको मुटु’मा लेखेका छन् ।
यदि प्रकाशले लगाएको आरोप स्वास्थ्य मन्त्रालयलाई गलत लाग्छ भने मन्त्रालय, सिधै मानहानी भनेर डा. प्रकाश विरुद्धमा अदालतमा जानै पर्छ । होइन भने स्रोत भएर पनि, बालबालिकाको मुटु बचाउने काम गर्न नचाहने भनेर उपभोक्ताले स्वास्थ्य मन्त्रालयलाई अदालतमा उभ्याउनुपर्ने छ ।
‘तपाईं कति महिलाको मातृ मृत्युदरको बारेमा कुरा गर्नुहुन्छ ? सुत्केरी हुँदा मर्ने महिलामध्ये २० प्रतिशत त बाथ मुटु रोगले मर्छन् । यसको बारेमा कुरा गर्नुहुन्न’ , बाह्र वर्षअघि डा. प्रकाशले मलाई भनेका थिए । त्यो बेलामा डा. प्रकाशको कुरा सुनेर ‘मुटु’ त केही दुखेको थियो । तर अध्ययन गरेपछि बुझेँ कि उनले ठीक भनेका रहेछन् ।
‘यो रोग जोर्नीमा बस्छ तर मुटु खान्छ’ हामीलाई विद्यार्थी हुँदा एक प्रोफेसरले बताएका थिए । बालबालिकालाई बारम्बार घाँटी दुख्दा, टन्सिल पाकेर बारम्बार बिमारी हुँदा यदि समयमा उपचार गरिएन भने जोर्नी दुख्न सुरु हुन्छ र दुख्न कम हुने औषधी खाएपछि ठीक हुन्छ तर बिस्तारै मुटु बिग्रँदै जान्छ । डा. प्रकाशराज रेग्मीले ‘टन्सिलले बिगारेको मुटु’मा लेखेका छन् । किताब हेर्दा कुनै चिकित्सक र विद्यार्थीले मात्रै पढ्ने किताब हो कि जस्तो लाग्छ तर यो किताबले नेपालको सामाजिक जीवन, आर्थिक जीवन, लैगिंक विभेद पिछडिएका समुदायले मान्नुपर्ने पीडा, स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूको घुस लिने इच्छा, ठूला अस्पतालमा काम गर्ने, डाक्टरहरूले पनि जनस्वास्थ्यको मुद्दालाई वेवास्ता गरेको देखाएको छ ।
बालबालिकाको मुटु बिग्रने, मुटु–बाथरोग रोकथाम गर्ने कामको सहयोग रोकेर ‘नेताका नाममा खुलेका संघ–संस्था र अस्पतालले पैसा लग्थे’ प्रकाश लेख्छन्, ‘एैरेगैरे अस्पताललाई पैसा दिने स्वास्थ्य मन्त्रालयले मुटु–बाथरोगको रोकथामको लागि चाहिँ पैसा दिन नचाहेका कुरा’ पनि प्रकाशको यो किताबबाट थाहा हुन्छ ।
‘बाथ मुटु, रोगले धनी मानिस त्यति धेरै डराउँदैन, त्यसैले स्वास्थ्य मन्त्रालयले यसको बारेमा त्यति धेरै चासो राख्दैन । यतिमात्र होइन विकसित देशमा यो समस्या धेरै न्यून भएकोले होला । विश्व स्वास्थ्य संगठनजस्तो संस्थाले पनि वास्ता गर्दैन’ किताबमा डा. रेग्मी भन्छन् । ‘टन्सिल’ भएर आमाबुबाले खासै वास्ता नगर्दा बालबालिकाहरू मुटु बाथरोग भएर तड्पी तड्पी मर्नु परेको धेरै घटना यो किताबमा छ ।
मुटु–बाथरोग भएकी एक महिला विवाहपछि मुटुमा समस्या परेर प्रकाशकहाँ आउँदा र जाँच गराउँदा उनलाई धेरै अघिदेखि मुटु बाथरोग भएर मुटु खराब भइसकेको कुरा थाहा हुन्छ । ‘यो रोगको राम्रोसँग शल्यक्रिया गरेर उपचार हुन्छ । तर केही समय तपाईं गर्भवती नहुनुहोस् । यसले गर्दा तपाईंको स्वास्थ्यमा समस्या पर्छ’ भनेर प्रकाशले श्रीमानसँग आएकी श्रीमतीलाई भन्दा श्रीमानले ‘यति बच्चा पाउन नसक्ने स्वास्नी मलाई चाहिन्नँ’ भनेर छोडिदिएको घटना पढ्दा मनमा लाग्यो, यदि ती श्रीमानको मुटु–बाथरोग भएको भए के श्रीमतीले छोड्थिन् होला र ? अवस्य पनि श्रीमानलाई त्याग्ने थिइनन् । उनले त उपचार गर्न मद्दत गर्थिन्, दिनरात सेवा गर्थिन् नि !
यस्ता घटनाबाट प्रकाशले नेपाली समाजमा रहेका लैगिंक विभेद स्पष्ट पारेका छन् । दलित, गरीब, कर्णाली र सुदुर पश्चिमका बालबालिकाहरू उपचार नपाएर मरेको तर सरकारले वास्ता नगरेको पढ्दा लाग्छ, नेपालको संविधानमा लेखिएको ‘स्वास्थ्य मौलिक अधिकार हो’ भन्ने कुरा नेताले बिर्सिएका छन् । ठूलाठूला अस्पताल पनि रोकथाम गर्नुभन्दा बरू शल्यक्रिया गरेर बढी पैसा आउँछ भन्ने विचारले रोकथामका लागि वकालत गर्न इच्छुक छैनन् ।
‘पाउँ’ खाँदा–खाँदा टन्सिल बिग्रेर, मुटु बाथरोग भएको र पेनिसिलिन नियमित प्रयोग नगर्दा मुटुको भल्भ बिग्रेका र शल्यक्रिया गराएको कथा पनि यस पुस्तकमा छ । ‘यसले उनको जीवनमा परेको प्रभाव’मा विजय नापित नामक महिलाले मलाई भनेकी थिइन् । उनको समस्या साधारण औषधीले रोकथाम गर्न सकिन्थ्यो । तर टन्सिल बारम्बार हुँदा पनि अमिलो पाउँ उनले खाइरहिन् । उपचार राम्रोसँग भएन, मुटु बिग्रियो ।’
यस किताबमा डा. प्रकाशले मुटु छुने घटना लेखेका छन् । एकजना २१ वर्षीया युवतीको टन्सिलको संक्रमण भएर, बाथ भएका मुटुरोग भएपछि, गंगालालमा आएर उपचार गरिन् । । तर शल्यक्रिया पछि खाइरहनु पर्ने विभिन्न औषधि त सरकारले सित्तैमा दिँदैन । छोरीको लागि औषधि किन्दाकिन्दा आजित भएका आमाबुबाले ‘यो अलच्छिनी त मरे पनि हुन्थ्यो’ भनेर सुनाउने गर्दा रहेछन् । युवतीले आँखाभरि आँशु लिएर डाक्टरलाई वेदना पोख्दा असहाय भएर सुनिरहनु परेको घटना प्रकाशले लेखेका छन् । पढेर मन नै कुँडिन्छ ।
यदि सरकारले त्यस्ता बाथरोग लाग्नबाट बालबालिका बचुन् भनेर पाँच वर्षको लागि ३ हजार रुपैयाँको पेनिसिलिन उपलब्ध गराएको भए, ती युवती एक सबल नागरिक भएर बाँच्न सक्थिन् । आमाबुबाले छोरी मरोस् भन्ने चाहना राख्नुपर्ने थिएन होला ।
यो किताबको अध्ययन गर्दा प्रकाशले बाथ रोगको लागि काम गरेका विदेशी–स्वदेशी स्वास्थ्यकर्मीहरूको देनको पनि उल्लेख गरेका छन् । साथै नेपाली नेताहरुको जन–स्वास्थ्यप्रतिको बेवास्ता पनि देखाइएको छ ।
यो किताब हरेक स्कुल, विद्यालयमा हुनुपर्छ र स्वास्थ्यकर्मीले पढ्नुपर्छ । राजनीतिक नेताले यो किताब पढेपछि थाहा हुन्छ कि जुन देशको राजनीतिक दलका नेताले जनस्वास्थ्यलाई सुधार्ने इच्छाशक्ति राख्छन् । उनीहरुले साँच्चै नै स्वास्थ्यमा सुधार ल्याउन सक्छन् बाथ–मुटु रोगमात्र होइन अन्य समस्या पनि ठीक पार्न सक्छन् ।
यस किताबमा आम सञ्चारमाध्यमले यस्ता समस्या कम गर्न खेल्न सक्ने भूमिकाको पनि चर्चा भएको छ । स्वास्थ्य तथा सूचना केन्द्रका हाकिमलाई भेटेर आफूले तयार पारेको अडियो–भिडियो लिएर स्वास्थ्य मन्त्रालय पुग्दा हाकिमले भेट्नै नदिएको कुरा पनि प्रकाशले लेखेका छन् ।
तर नेपाल टेलिभिजनले चाहिँ सहयोग गरेको कुरा दिल खोलेर लेखेका छन् । बाथ, मुटु रोगको बारेमा जानकारी नेपाल टेलिभिजनबाट सय पटकभन्दा बढि प्रसारण भएछ ।
यस किताबमा कतिपय वाक्य दोहोरिएका छन्, जस्तो, ‘आम समुदायमा बाथ रोग बारे कम जनचेतना छ ।’ किताबको अन्त्यमा रंगीन फोटाहरू नराखिएको भए किताबको मूल्य अझ कम भएर धेरैले किन्न मिल्ने सम्भावना हुने थियो कि !
डा.प्रकाश र उनका साथीहरूले मिलेर गरेको अथक प्रयासले नेपालमा बाथ मुटु रोगको कम त भएको छ । आजको तीस वर्षपछि कसैले यो किताब पढेपछि नेपालमा बाथ मुटु रोगको यस्तो डरलाग्दो अवस्था थियो, भनेर जान्न इच्छा भयो भने यो किताब एक राम्रो स्रोत हुनेछ ।
कुनै न कुनै स्वास्थ्यमन्त्री त आउलान्, जो जनस्वाथ्यको महत्त्व बुझ्ने, जसले एक करोड दिएर ३० करोड बचोस् भन्ने इच्छा राख्नेछन् । सीमान्तकृत र दलितलाई माया गर्ने छन् । अनि उनीहरुले बाथ मुटु रोगबाट बच्न के गर्ने भनेर जनस्वास्थ्य विज्ञसँग छलफल गर्नेछन् र बच्चालाई टन्सिल भयो कि एन्टिबायोटिक दिनको लागि स्वास्थ्यकर्मीलाई प्रेरणा दिनेछन् । त्यस्तो बेलापछि यो किताब इतिहास बन्नेछ र बाथ–मुटुरोग कम पार्ने जनस्वास्थ्य विज्ञका इच्छा पूरा हुनेछ ।
स्वास्थ्य मन्त्रालयले वेवास्ता गरेपनि आफ्नो विवेकबाट प्रेरित भएर विभिन्न ठाउँबाट स्रोत जुटाएर नेपाल भरिका बालबालिकालाई उपचार गरेका प्रकाश र उनका साथीहरूलाई धन्यवाद !
प्रतिक्रिया 4