
२८ कात्तिक, काठमाडौं । यो सालको भाइटीका मंसिर १ गते कि २ गते ? विवादले यतिबेला सांस्कृतिक क्षेत्रमा तरंग सिर्जना गरेको छ । पञ्चाङ्ग निर्णायक समितिले ४ दिनमा सम्पन्न हुने गरी तिहारको तिथि तय गरेपछि काठमाडौंका नेवार समुदायले आपत्ति जनाएका छन् । त्यसपछि यो विवाद अघिल्ला वर्षमा जस्तै यो वर्ष पनि सतहमा आएको छ ।
दसैंमा शक्तिका लागि नवदूर्गाको आराधना गर्ने गरिन्छ भने तिहारमा समृद्धिका लागि लक्ष्मीको आराधना गर्दै मनाइने तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाउने गरिन्छ । तर यो वर्ष तिथिको गडबढीले चारदिनमा नै तिहार सम्पन्न भएपछि एकाथरीले यसको विरोध गरेका छन् ।
यमपञ्चकको पहिलो दिन अर्थात् कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार, आयुर्वेदका भगवान् धन्वन्तरी जयन्ती, साँझमा यमद्वीप र लक्ष्मीलाई खुसी बनाउने विभिन्न गरगहना किनेर धन्तरेश पर्व पनि मनाउने गरिन्छ । यही दिन मनाइने चारवटा पर्वमध्ये पनि उदय तिथिमा कागको पूजा गरिन्छ भने साँझको समयमा यमदीप बाल्ने चलन छ । त्यसैले यो वर्ष तिथिको आधारमा पर्व मनाउनेहरूले यमदीप बाल्ने र कागको पूजा फरक–फरक दिनमा मनाएका छन् ।
तिथिअनुसार त्रयोदशी तिथि बिहीबार साँझ ६ बजेर ३१ मिनेटदेखि नै सुरु भएको थियो । त्यसैले बिहीबार साँझ नै कागतिहारको दिन साँझ मनाइने यमदीप भने बालिएको छ । तर, कागतिहारको दिन बिहानमा गर्नुपर्ने काग पूजा, लक्ष्मीलाई मनपर्ने बहुमूल्य सामग्रीसहितको धन्तरेश भित्र्याउने र धन्वन्तरी जयन्ती भने शुक्रबार मनाउने पञ्चाङ्ग निर्णायक समितिले तय गरेको छ ।
शुक्रबार अपराह्न ४ बजेर १२ मिनेट जाँदासम्म त्रयोदशी तिथि रहेकोले कागतिहार शुक्रबार नै मनाइएको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । सामान्यतया कागतिहार, कुकुरतिहार, गाइतिहार र गोबर्द्धन पूजा बिहानमा गरिन्छ भने लक्ष्मीपूजा साँझमा गर्नुपर्ने विधान छ ।
त्यस्तै, यमपञ्चकको दोस्रो दिन कुकुर तिहार मनाउने गरिन्छ । यो साल कुकुर तिहार र लक्ष्मीपूजा कात्तिक २९ गते शनिबार एकै दिन परेको छ । शुक्रबार अपराह्न ४ बजेर १२ मिनेटदेखि लाग्ने चतुर्दशी तिथि शनिबार बिहान एक बजेर ४९ मिनेटसम्म जारी रहन्छ । शनिबार बिहान नरक नुहाउने गरिन्छ । कात्तिक कृष्ण चतुर्दशीको दिन नरक नुहाउँदा सूर्याेदयभन्दा अगाडि नै नुहाउनुपर्ने भएकाले शनिबारका लागि तय भएको हो ।
त्यस्तै, कात्तिक महिनाको औंसी तिथिको अर्धरात्रिमा लक्ष्मीपूजा मनाउनुपर्ने विधान छ । शनिबारको दिन बिहान तिथि चतुर्दशी भए पनि राति औंसी हुने र अर्काेदिन राति औंसी तिथि बाँकी नरहने भएकोले शनिबार नै लक्ष्मीपूजा समेत मनाउनु परेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले जानकारी दिए ।
कात्तिक २९ गते दिउँसो १ बजेर ४९ मिनेट जाँदादेखि ३० गते बिहान ११ बजेर २७ मिनेट जाँदासम्म औंसी तिथि पर्छ । तर औंसीकै बिहान गरिने गाईपूजा लागि भने लक्ष्मीपूजाको भोलिपल्ट अर्थात् कात्तिक ३० गते गरिने भएको छ । गोबद्र्धन पूजा पनि सोही दिन गरिने छ ।
भाइटीकाको विवाद के हो ?
वास्तवमा भाइटीका कात्तिक शुक्ल द्वितीयाको दिन पर्ने गर्छ । तर यो साल प्रतिपदाकै दिन अर्थात् मंसिर १ गते नै भाइटीकाको तिथि तोकिएको छ । यो पनि विवादको विषय हो । तर यसमा पनि एउटा छुट्टै तर्कले काम गरेको छ । शास्त्रले भाइटीका मध्याह्नमा द्वितीया तिथि परेको दिन मात्रै लगाउन सकिने भन्ने उल्लेख गरेको छ ।
कात्तिक ३० गते बिहान ११ बजेर २७ मिनेट जाँदा सुरु भएको प्रतिपदा तिथि मंसिर १ गते बिहान ९ बजेर १२ मिनेटमा सम्पन्न हुन्छ र द्वितीया लाग्छ । शास्त्रीय मान्यता अनुसार मंसिर १ गते बिहान सवा ९ बजेदेखि द्वितीया तिथि लाग्ने र शास्त्रोक्त विषय अनुसार मध्याह्नमा द्वितीया तिथि १ गते नै पर्ने भएकोले भाइटीका मंसिर एक गतेको लागि तय गरिएको सचिव ढुंगेलले जानकारी दिए । त्यसैले यो सालको भाइटीका मंसिर एक गते नै तय भएको उनले स्पष्ट पारे ।
विवाद कसरी सुरु भयो ?
तिहारको तिथि विवाद यो वर्षमात्रै नभएर अघिल्ला केहीवर्षदेखि चल्दै आएको कुरा हो । तिथिको घडीपलाको आधारमा पर्व मान्ने पक्ष र परम्परा अनुसार सूर्याेदयको समयमा जुन तिथि सुरु भएको छ त्यही तिथिलाई आधार मानेर पर्व मान्ने समूहबीच अघिल्लो वर्षदेखि नै विवाद जारी थियो । त्यसैले तिथि मान्ने र परम्परा मान्नेको बीचमा विवाद अघिल्ला वर्षमा पनि विवाद चल्ने गरेको थियो ।
असन सेवा समिति लगायतले निकाल्ने भित्तेपात्रोमा किजा पूजा र अरू पूजाको मितिबारेमा फरक मत आएपछि यो विवाद सतहमा आएको थियो । जोशी समाजले त यस विषयमा विज्ञप्ति नै निकालेर फरक मत राखेको छ ।
यसरी, यो वर्ष घडीपलालाई आधार मानेर पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ गतेको लागि भाइटीकाको तिथि सार्वजनिक गर्यो । त्यसपछि स्थानीय परम्परा अनुसार जुन तिथि सूर्याेदयको समयमा थियो त्यसैलाई दिनभरिको तिथि मान्ने समूहले विरोध गरे । उनीहरूले मंसिर २ गते नै किजा पूजा गर्ने घोषणा गरे ।
विवाद बाहिर आएपछि अहिले सरकारले मंसिर २ गते पनि सार्वजनिक विदा दिएको छ । तर, पञ्चाङ्ग निर्णायक समितिले भने मंसिर १ मा नै भाइटीका लगाउन भनेको छ ।
प्रतिक्रिया 4