
१५ मंसिर, काठमाडौं । अर्थमन्त्री विण्णु पौडेलले कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणमा लगानी अभिवृद्धि, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका उपाय अपनाइने बताएका छन् ।
अर्थतन्त्र अहिले जुन अवस्थामा छ, त्यहीँबाट चलायमान बनाउनुपर्ने उनको भनाइ छ । यसका लागि निजी क्षेत्र र विज्ञहरुसँगको सहकार्य महत्वपूर्ण हुने उनले उल्लेख गरे ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२ औं वाषिर्क साधारणसभालाई सोमबार राजधानीमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडले अर्थतन्त्रमा सबैभन्दा ठूलो चूनौती खडा गरेको उल्लेख गरे । तर, यसबाट पार पाउनुको विकल्प नभएको भन्दै यो कार्यको अगुवाई सरकारले गर्ने उल्लेख गरे ।
‘सरकार अग्रभागमा रहेर काम गर्छ, यसमा निजी क्षेत्रको उत्तिकै भूमिका आवश्यक छ,’ उनले भने । उक्त अवसरमा अर्थमन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छालाई बधाई दिँदै भने ‘म तपाईसँग काम गर्न इच्छुक मात्र होइन, आतुर छु ।’
कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले कोरोनाका कारण अर्थतन्त्रमा गहिरो प्रभाव परेको उल्लेख गरे । आगामी दिनमा निजी क्षेत्रले अर्थतन्त्र विकासका लागि ठोस रणनीति बनाएर काम गर्ने बताए । यसमा सरकारको साथ र सहयोग आवश्यक पर्ने उनको भनाइ छ ।
१० वर्षे रणनीतिक पत्र आगामी १ सय दिन भित्र तयार पारी सार्वजनिक गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । कोभिडले पारेको पुनरुत्थानमा विशेष कार्यक्रमको आवश्यक रहेको स्मरण समेत उनले अर्थमन्त्रीलाई गराएका छन् ।
प्रतिक्रिया 4