
१५ मंसिर, डोटी । डोटी जिल्लामा इन्जिनियरिङ क्याम्पस स्थापन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ्ग अध्ययन संस्थाले प्रदेशस्तरीय आंगिक क्याम्पस अध्ययन गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ ।
क्याम्पसको सम्भाव्यता अध्ययनका लागि सोमबार डोटी पुगेका संस्थानको टोलीले भौतिक पूर्वाधार, विद्यार्थीहरुको उपलब्धता, स्थानीयवासीहरुको प्रतिवद्धता र मानवीय स्रोतका उपलव्धताका विषयमा अध्ययन गरिरहेको टोलीका प्रमुख प्रा.डा. त्रिरत्न बज्राचार्यले बताए ।
‘डोटीबासीको प्रतिबद्धता हामीले महत्वपूर्ण पाएका छौं, यहाँका जनप्रतिनिधि, राजनीतिक दलहरु र स्थानीयवासीले इन्जिनियरिङ क्याम्पसका लागि आफूहरु योगदान गर्न तयार रहेको वताएका छन्,’ सोमबार जिल्ला सदरमुकाम सिलगढीमा इन्जिनियरिङ क्याम्पस सम्बन्धी छलफलमा प्रा.डा. बज्राचार्यले भने, ‘अब जमीनको विषय महत्वपूर्ण छ, स्थानीय तहले जमिन उपलव्ध गराउने हो भने, काम अगाडि बढाउन सहज हुन्छ ।’
उनले इन्जिनियरिङ कार्यक्रम तत्काल थालनी गर्ने र सानो कार्यक्रमबाट सुरु गर्दै बिस्तारै बढाउँदै लगिने बताए । उनले स्थानीयको प्रतिबद्धता, व्यवस्थापन गर्ने क्षमता र भौतिक पूर्वाधारप्रति आफूहरु सकारात्मक रहेको बताए ।
जमीन खोज्नका लागि आफू तयार रहेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मन्जु मलासीले बताइन् । उनले भनिन्, ‘प्राचीनकालदेखिको ऐतिहासिक महत्व बोकेको डोटी जिल्लामा भौतिक पूर्वाधार, सामरिक महत्व, भौगालिक समदुरीका आधारमा प्रदेश राजधानी हुनु पर्ने थियो तर राजधानी खोसियो, अव यस क्षेत्रको विकासका लागि स्वास्थ्य र शिक्षामा जोड दिनु पर्छ ।’ आफुले धेरै ठाउँमा जमिनका लागि कुरासमेत चलाइसकेको उनले थपिन् ।
कार्यक्रममा संविधानसभा सदस्य हर्कबहादुर सिंहले डोटीमा इन्जिनियरिङ क्याम्पस स्थापना गर्न सके राजधानी खोसिएको क्षतिको थोरै भए पनि क्षतिपूर्ति हुने बताए । उनले थपे, ‘अब डोटी जिल्लालाई शैक्षिक राजधानीको रुपमा विकास गर्ने गरि संघ, प्रदेश र स्थानीय तहले लाग्नु पर्छ ।’
इन्जिनियरिङ क्याम्पस डोटीमा स्थापना गर्नका लागि सहयोग गर्न आफू प्रतिबद्ध रहेको प्रदेशसभा सदस्य पूर्णा जोशीले बताइन् ।
कार्यक्रममा डोटी क्याम्पस प्रमुख डिलानन्द जोशीले तत्कालका लागि कक्षाकोठा र कार्यालय प्रयोजनका लागि डोटी क्याम्पसकै भौतिक पूर्वाधार प्रयोग गरेर भए पनि इन्जिनियरिङ क्याम्पस सञ्चालन गर्न आग्रह गरे ।
प्रतिक्रिया 4