+
+

संसद विघटनविरुद्ध नेकपाका कार्यकर्ताद्वारा वीरगञ्जमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १६:५२

५ पुस, वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता कार्यकर्ताहरुले वीरगञ्जमा प्रदर्शन गरेका छन् । अन्य विकल्प हुँदा हुँदै संसद विघटनको बाटो रोजेर असंवैधानिक कदम चालेको भन्दै उनीहरुले वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा प्रचण्ड-माधव पक्षका नेता कार्यकर्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं, गणतन्त्रका पक्षधर एक हौं लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप समेत गर्न खोजेको थियो । नेकपाको जिल्ला सचिव मनोज चौधरीलाई पक्रेर प्रहरीको भ्यानमा राख्न लागेको भएपनि नेता कार्यकर्ताले विरोध गरेपछि छोडिदिएको छ । संसद विघटन खारेज गर, असंवैधानिक कदम फिर्ता गर लगायतका नारा लगाउँदै उनीहरूले वीरगञ्ज बजारको परिक्रमा समेत गरेका छन्।

नेता चौधरीले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले प्रतिगामीहरुलाई टाउको उठाउने मौका दिएको बताए । उनले गणतन्त्रको मर्ममा कुठाराघात गर्दै प्रधानमन्त्री ओलीले तानाशाही लाद्ने काम गरेको टिप्पणी गरे ।

अर्का नेता शम्भु गुप्ताले झण्डै दुईतिहाइ बहुमतको दुरुपयोग गरेर संसद विघटनको बाटो रोज्नु गलत भएको बताए । ‘जालझेल गर्न, सत्ता टिकाउन र व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री केपी ओलीले फोहोरी खेल खेलेका छन्,’ उनले भने, ‘ संसदमा विकल्पको खोजी नगरी संसद विघटन गरेर असंवैधानिक कदम चालेका छन् । यो इतिहासको कालो दिन हो ।’

नेता छोटेलाल यादवले जनताको अधिकारको विरुद्धमा संसद विघटन हुनु आपत्तिजनक कार्य भएको बताए । नेकपाका केन्द्रीय सदस्य दिनेश राईले प्रधानमन्त्री ओलीको अह‌ंकारी प्रवृत्तिका कारण आफ्नै पार्टीको सरकारको विरुद्धमा प्रदर्शन गर्नुपर्ने दुःखद् अवस्था सिर्जना भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?