+
+
रुकुम घटनाका पीडितको रोदन :

‘अदालतमै आँसु बगायौं, भेरी नदी देख्नै नपरोस् जस्तो लाग्छ’

विश्वास खड्काथोकी विश्वास खड्काथोकी
२०७७ पुष २१ गते १९:०७
रुकुम घटनामा मारिएका नवराज विककी आमा उर्मिला विक

१ पुस, काठमाडौं । हाम्रा छोराका हत्याराले कहिले सजाय पाउँछन् ? अदालतले त एकपछि अर्को गर्दै अभियुक्त छोड्दै छ त !

रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय बिहेका क्रममा हत्या गरिएका ६ जनाका आमा–बाले एकै स्वरमा सोधेको यो प्रश्नको जवाफ कसले दिने ? शायद यसको जवाफ अदालतसँग होला।

सामूहिक हत्या गरेर भेरीमा बगाइएकोहरुको न्याय भेरी नदीजस्तै तन्किन्छ कि उर्लिरहेको पीडितको मनले छिट्टै शान्ति पाउँछ ? यसको अन्तिम फैसला अब अदालतसँग मात्र छ । तर, आफ्ना सन्तान गुमाएपछि घइते भएका उनीहरुको मनको एकल इजलासमा हुण्डरी चल्दैछ । त्यहीँ हुण्डरीले हुत्ताएर उनीहरुलाई जाजारकोटबाट काठमाडौंसम्म ल्याइपुर्‍याएको छ ।

गत शुक्रबार बिहानै माइतीघरमा उनीहरु आँसुसहित उभिए । उनीहरुले आफ्नो सन्तानको न्यायका निम्ति कहाँ–कहाँ पुगेर आँसु बगाएनन् ? जिल्ला प्रशासन जाजरकोट । जिल्ला अदालत रुकुम पश्चिम, उच्च अदालत सुर्खेत र फेरि अहिले माइतीघर । सर्वोच्च अदालतले सुन्छ कि भनेर उनीहरुले सडकमै डाको छोडे । उनीहरुको क्रन्दनको तरंग खै कति टाढासम्म पुग्यो, माइतीघरमा त उनीहरुसँग थप आठ/दशजना मात्रै उपस्थित थिए । किनकि कुनै नेताको सनक र लहडको भरमा उचालिएको आन्दोलन थिएन त्यो । अक्सर निमुखाहरुको न्यायको आन्दोलनमा सीमित मुखमात्र देखिन्छन् हाम्रो देशमा ।

मृतक नवराज बिककी आमाले उर्मिलाले भनिन्, ‘रातभर उल्टी गर्दै यहाँसम्म आइपुगेका छौँ । हामीले न्याय पाउनको अझै कहाँ–कहाँ पुग्नुपर्ने हो ?’

उच्च अदालत सुर्खेतका न्यायाधीशबीचको फैसला बाझिएपछि सर्वोच्चमा आइपुगेको मुद्दाको शुक्रबार नै सुनुवाइ थियो । सुर्खेतका एक न्यायाधीशले भने, थुनामा रहेका थप छ जनालाई छोड्नुपर्छ । अर्काले भने, त्यसो गर्न मिल्दैन । तेस्रो न्यायाधीशको राय थियो, एकजनालाई थुनेर अरु पाँच जनालाई धरौटीमा छोड्दा हुन्छ ।

सर्वोच्चको शुक्रबारको सुनुवाइ रोकियो । अर्को सुनुवाइको मिति तोकिएको छैन ।

०००

मृतकका आफन्तका पाइतलाले काठमाडौंमा एकछिन फुर्सद पाएका छैनन् । संघसंस्था, मिडियादेखि प्रधानमन्त्री कार्यालयसम्म पुगेर उनीहरुले आफ्ना बिलौना पोखेका छन् । आइतबार भोकभोकै प्रधानमन्त्री कार्यालय पुगेका उनीहरुलाई प्रधानमन्त्री ओलीले छ घण्टा कुराएर १० मिनेट भेट दिए ।

भेटमा ओलीले रेडिमेड भाषण गरे, ‘घटना दुःखदायी हो, घटनाको र पीडा मेटाउन सकिँदैन । तर, पीडितका आफन्तलाई राहत दिने र घाइतेहरुको उपचार र दोषीलाई हदैसम्मको दण्ड गर्ने कुरामा सरकार प्रतिवद्ध छ । त्यसमा सरकार कसैसँग मोलाहिजा गर्दैन । तपाईंहरुले न्याय पाउनुहुन्छ ।’

प्रधानमन्त्रीले थपे ‘एक बजे पार्टीको कार्यक्रम भनेको तीन बजिसक्यो, अहिले तपाईंहरुसँग लामो समय खर्च गर्न सक्ने अवस्था छैन।’

पीडितहरू सुन्धाराको होटेलमा फर्किएर खाना खाए, जुन होटेलमा बासको व्यवस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ(एनएनडीएसडब्लूओ) ले गरेको छ ।

तीन दिनको दौडधुपले उनीहरु थकित छन् ।

धेरै थकित हुनुहुन्छ है ?

‘छोरा त गयो । उनीहरुको न्यायका लागि जति थाके पनि दौडन छोड्दैनौँ’, लोकेन्द्र सुनारकी आमा लक्ष्मीले भनिन् । उनी सानी छोरी आफन्तलाई जिम्मा लगाएर एकतले झुप्रोमा भोटे ताल्चा लगाई काठमाडौं आएकी छिन् । उनका श्रीमानको पाँच वर्षअघि दुर्घटनामा परेर मृत्यु भइसकेको छ ।

लक्ष्मी सुनार

अहिले उनी ताज महल होटेल सुनधाराको चौथो तलामा छिन् । र, उनीसँगै छन् नवराज विकका बाबा मुनलाल, टीकाराम नेपालीका बाबा सोभे नेपाली, गणेश बुढाका बुबा पदमबहादर, सञ्जु बिककी आमा सविता र गोविन्द शाहीकी आमा भीमीकुमारी शाही ।

एउटा लिलिभिङ रुङको दुईवटा बेडमा छन् उनीहरु । हो, उनीहरुका गोडा र शरीर थकित छन् । तर, अथकित मन लिएर न्यायका लागि निरन्तर दौडमा छन्, आठ महिनादेखि ।

जब उनीहरुले अदालतबाट न्यायको अनुभुत गर्नेछन्, तब मात्र उनीहरुको मनले आराम गर्नेछ । ‘जसरी मेरा छोराहरुलाई लखेटी लखेटी, कुटीकुटी, मारे । मेरा छोराहरु त अब फर्कँदैनन्, उनीहरुलाई पनि उस्तै सजायँ होस्’, उनीहरु आफ्नो इच्छा व्यक्त गर्छन् ।

०००

१ असार, २०७७ । मृतकका अभिभावकसहित दलित अधिकारकर्मीहरु जाजरकोटको खलंगामा आन्दोलनमा उत्रिएका थिए । आन्दोलनको अग्रपंक्तिमा थिए, मृतकका आमा–बाबु । उनीहरुका लागि नियमित दैनिकी थियो – न्यायका लागि आन्दोलन । कहिले जिल्ला प्रशासनमा धर्ना त कहिले प्रहरी कार्यालयमा नाराबाजी ।

१० जेठदेखि गायव नवराजका पाँच साथीहरुको विक्षिप्त शव, भेरी नदीमा बग्दै गरेको अवस्थामा  किस्ताबन्दीमा भेटिएको थियो । त्यस्तो अवस्थामा कसका आमा बाबु शान्त भएर बस्न सक्छन् ?

तर, प्रहरीले उनीहरुमाथि लाठी बर्सायो । चार राउण्ड अश्रुग्यास प्रहार गर्‍यो । उर्मिला गम्भीर घाइते भइन् । गणेशका बुबा टाउको फुटेपछि रक्ताम्य भएर भुइँमा ढले । उनले पाँचवटा टाँका लगाउनुपर्‍यो । एक दर्जन आन्दोलनकारी घाइते बने । उर्मिला भन्छिन्, ‘हातमा लागेको चोट अझै निको भएको छैन । अस्ति गाडीमा आउँदा चिसोले टनटनी दुख्यो ।’

त्यसपछि आन्दोलन रोकियो । नवराजका बुवा मुनलाल सुनाउँछन्, ‘दिनदिनै दमन हुन थाल्यो । स्थानीय हच्किए, मुद्दा अदालतमा भएकाले वकिल र अदालतले सबै काम गर्नुहुन्छ भनेपछि सडकमा जान छाड्यौँ ।’

भएको एउटा छोरा गुमाउनुपर्दा मुनलालको मनले अहिलेसम्म राम्रोसँग खान माग्न सकेको छैन । एकातिर ढाडको रोगी, अर्कोतर्फ छोराको शोक । उनको शरीरको तौल घट्दैछ, आँखा तिर्मिराउन थालेका छन् ।

सञ्जुका छोरा तीन वर्षका भए । ‘जहिल्यै बाबा कहिले आउनुहुन्छ भनेर सोध्छन् । आँगनको डिलमा गएर बोलाउँछन् । हामीले भन्छौँ विदेश गएको छ, पछि आँउछ’, आमा सविताका आँखा तिर्मिराउँछन्, ‘त्यही नातिले गर्दा पनि छोराको सम्झनाले दिनदिनै पोल्छ । घटना झन ताजा भएर आउँछ ।’

सविता विक

टीकारामका छोरा पनि त उत्रै छन् । बाबा सोभे अहिलेसम्म निदाउन सकेका छैनन् । लक्ष्मी रातमा झस्किन्छिन् र राति पनि ढोका खेलेर हेर्छिन्, कतै आएर पो बसेको छ कि ! तर, उनले देख्ने भनेको त्यही शान्त भेरी नदी । त्यसैले त कुदिरहन्छन् अदालतको ढोकासम्म ।

‘तीनपटक त हामी रुकुम जिल्ला अदालतमै गयौँ’, भीमकुमारी भन्छिन्, ‘कहिलेकाँही त हामी गरीबहरु न्यायका लागि दौडनु मात्र त रै’छ भनेजस्तो पनि हुन्छ ।’

०००

५ असारबाट जिल्ला अदालत पश्चिम रुकुममा थुनछेक बहस सुरु भयो । शुक्रबारको दिन थियो । नवराजका बुवा त्यही दिन रुकुम पुगे । ६ जनाकै बाबा–आमा अर्को दिन हुर्रिए । खलंगाबाट रुकुम पश्चिम पुग्नका लागि करिव सात घण्टाको बाटो छिचोल्नुपर्छ । भेरी नदीको पुल तरेर सोती गाउँमा पुग्दा उनीहरु झसंग हुन्थे । सविताले भनिन्, ‘हामी तीन पटकसम्म रुकुम गयौँ ।’

थुनछेक बहसका बेला अदालतमा उनीहरुले आरोपीहरुको अनुहार राम्रैसँग हेरे । अन्य आरोपीसँगै वडा अध्यक्ष डम्बरबहादुर मल्ललाई देख्दा उनीहरुले आफ्नो शालीनता गुमाए । र, खनिए, ‘तिमीहरुका छोराछोरी छैनन् ? त्यसरी मार्दा आफ्नो सन्तान सम्झिएनौ ?’ आरोपीहरु उँधोमुन्टो लगाएर मौन थिए । उर्मिला सम्झन्छिन्, ‘त्यत्रा पाखुरा भएका रै’छन् हाम्रा छोराहरुलाई के राख्थे त ।’

गणेश बुढाका बुबा पदमबहादुर

एक हप्तासमम रुकुम पश्चिममै बसेर बहस सुने उनीहरु । बिहानै १० बजे अदालतको ढोकामा पुग्थे अनि वादी–प्रतिवादी बहस सुनेर होटेलमा फर्कन्थे । प्रतिवादीको बहस सुन्दा झन् बलिन्द्र धारा आँसु बग्थे उनीहरुका । वकिलले भनिरहेका हुन्थे, ‘लकडाउनमा आएकालाई समाएर प्रहरीको जिम्मा लगाउन खोज्दा भेरीमा हामफालेर मृत्यु भएको हो ।’ वकिलको एकोहोरो रटानले पीडितको मनमा आगो दन्कन्थ्यो ।

थुनछेक बहसपछि न्यायाधीशले फैसला सुनाउनका लागि निकै लामो समय लिए । उनीहरु कुरेरै बसे । रातको साढे आठ बजे सुनुवाइ भयो । अदालतले तुलबहादुर मल्ल, दीपेन्द्र चन्द र इन्द्रबहादुर मल्ललाई साधारण तारेखमा, सुष्मा मल्लकी आमा प्रकाशी मल्ललाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो ।

अदालतको सुनुवाइमा चित्त बुझ्यो त ?

जवाफ आएन । सुन्धाराको होटलमा सन्नाटा छायो । सविता र भीमकुमारी ओच्छ्यानमा पल्टिए । लक्ष्मीले भनिन्, ‘हामीलाई देखेपछि त न्यायाधीशले पनि न्याय दिलाउलान् भनेर अदालतमा पुगेका थियौँ । अदालतमै कत्ति आँसु बगायौं, थाहा छैन । खै न्यायाधीशले हाम्रो आँसुको मुल्य बुझे कि बुझेनन् ।’

जिल्ला अदालतको फैसला सुनेर उनीहरु चुपचाप होटेलमा पुगे । उर्मिला भन्छिन्, ‘अर्काको ठाउँमा के गर्ने, के नगर्ने ।’

रुकुमपश्चिम जिल्ला अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि आरोपीहरुले जिल्ला अदालतको आदेश बदर गरी पाउँ भन्दै उच्च अदालत सुर्खेतमा निवेदन दिएका थिए । त्यसपछि मुद्दा सुर्खेततर्फ उक्लिएको थियो ।

काठमाडौंमा आयोजित एक छलफलमा रुकुम घटनाका पीडितहरु ।

०००

भदौको महिना थियो । उच्च अदालत सुर्खेतमा प्रत्येक विहीवार बहस हुन्थ्यो । मृतकका आमाबाबुहरुको कुनै भूमिका थिएन । बहस वकिलले गर्थे, फैसला न्यायाधीशले सुनाउँथे । तर, कोख रित्तिएका आमाहरुको मन मान्दैमान्दैनथ्यो । त्यसैले उनीहरु बहस सुन्न सुर्खेत नै पुग्थे । उनीहरु चाहन्थे कि अपराधी कुनै हालतमा नउम्कियोस् ।

पाँचघण्टा गाडीको यात्रा गरी सुर्खेत पुगेर उनीहरुले खेपेको दुःख पनि गनी साध्य छैन । सोभे भन्छन्, ‘हामी चारपटकसम्म सुर्खेत पुग्यौं । अन्तिमपटक त एकहप्तै बसेका थियौँ ।’

बहस सकिएपछि २३ कात्तिक, शुक्रबार अदालतको सुनुवाइ हुने दिन थियो । तर, पीडितलाई अदालतको ढोकाभित्र प्रवेश गर्नै दिइएन । प्रतिक्षालयबाट आमाहरु जबरजस्ती अदालतको ढोका बाहिरको बरण्डासम्म पुगे । प्रहरीको सुरक्षा चर्को थियो । १५/२० जनाको संख्यामा नवराजका बाबाहरुको टोली अदालत बाहिर चिच्याइरहेको थिए – हाम्रा छोराका हत्यारालाई कारवाही होस् ।

शुक्रबार दिउँसो तीनबजे बहस सकियो ।

तर, राति अबेरसम्म पनि न्यायाधीशले कुनै आदेश गरेनन् । सिरानीमा ढल्किएकी लक्ष्मीले आफैंलाई सम्झाइन्, ‘हामी पानी पनि नखाई रातको दुई बजेसम्म त्यहीँ बस्यौँ । हाम्रो पक्षमा फैसला होला भनेर हामी अदालत बाहिरको भुँईको चिसोमै पल्टियौँ । घामपानी नभनी छोराहरुको न्याय खोजिरहेका थियौँ ।’

रातको तीन बज्नै लाग्दा आमाहरुलाई एकाएक प्रतिक्षालयमा पुर्‍याइयो । प्रहरीले घेर्‍यो । पुरुषहरुलाई त गेटबाटै छिर्नै दिएको थिएन । डायरी समाएर छेउमा उभिएका मुनलालले सुनाए, ‘उनीहरुका मान्छे गाडीमा भित्रै पुग्थे, हामीलाई अदालतसम्म पनि पुग्न दिँदैनथे ।’

रातको तीन बजे माइकबाट आवाज आयो, ‘न्यायाधीशबीच मत बाझिएकाले सुनुवाइ अर्को दिन हुनेछ ।’

अर्को दिन अर्थात २५, असोज ।

अदालतको निर्णय सुन्न आतुर मृतकका आफन्त अदालततर्फ हानिए । तर, करिब दुई सय मिटर वरै प्रहरीबाट उनीहरु रोकिए । ठेलिए, अहँ, अदालतको ढोकासम्म पुग्न दिइएन ।

मुख्य न्यायाधीश कुमार चुडालले आदेश दिए, ‘प्रतिवादीहरु दिल्ली घर्ती, तुलाराम घर्ती, लोकेन्द्र घर्ती, भीमबहादुर बुढा र सविन पुनको सोती घटनामा संलग्नता नरहेकाले साधारण तारेखमा छाड्नुपर्ने ।’

तर, उच्च अदालतकै अर्का न्यायाधीश सुदर्शन भट्टले फरक राय दिएपछि तेस्रो न्यायाधीश राय लिनुपर्ने भयो । छ जना त्यसअघि नै थुनामुक्त भैसकेका थिए । ‘त्यतिबेला हाम्रो दिमाग यसरी घुम्यो कि केही सोच्नै सकेनौँ’, सोभेल भन्छन्, ‘हामी कसैले खाना खाएनौँ, बिछिप्त मन लिएर रुँदै घर फर्कियौँ ।’

उनीहरु सुन्निएका आँखा लिएर घर पुगे । नवराजका बाबा बम्किन्छन्, ‘यसरी छाड्दै जाने हो भने हामीले पनि उनीलाई…. र धरौटीमा छुट्छौँ । के सरकारले यसो गर्न दिन्छ ? कति हत्यारा त अझै पक्राउ परेका छैनन् ।’

नवराज विकका बाबु मुनलाल

अदालतबाट ११ कात्तिकमा फेरि अर्को आदेश आयो । छाड्नका लागि एक लाख धरौटी माग्यो । तर, यसको अन्तिम सुनुवाई सर्वोच्चबाट हुने भनेपछि मुद्दा सर्वोच्च अदालतसम्म आइपुगेको छ । सर्वोच्चमा १७ पुसमा पेसी तोकिएपछि पीडितहरु काठमाडौंसम्मै आइपुगे ।

अब यहाँदेखि अन्त जाने ठाउँ छैन उनीहरुको ।

तर, सर्वोच्चमा आफुहरुलाई थुनामुक्त गरियोस् भन्दै १७ जना प्रतिवादीको निवेदन पनि सँगसँगै आइसकेको छ । सर्वोच्चले वादी, प्रतिवादीको सबै मिसिल एकैठाउँमा राखेर सुनुवाइ गर्ने भन्दै बहस सारेको छ । मिति भने तोकिएको छैन ।

‘सबै ठूला मान्छेहरु काठमाडौंमै हुनुहुन्छ, यहाँ आएपछि सबै हाम्रा कुरा बुझ्लान्, न्याय पाइएला भनेर यहाँसम्म आएको हौँ’, उर्मिलाले पीडामिश्रित स्वरमा बोलिन् ।’

प्रधानमन्त्रीलाई भेटिसकेपछि अब उनीहरु फेरि जाजरकोट फर्कने तरखरमा छन् ।

०००

अहिले जाजारकोटमा पहिलेजस्तो सरगर्मी छैन । नवराजहरुको हत्या भएको डेढ महिनासम्म सांसद, मानवअधिकारकर्मी, राजनीतिककर्मी पत्रकार, अभियन्ता धुइरो लागेर पुगेका थिए । न्याय दिने मात्र होइन, जीर्ण घरलाई मजबुत बनाइदिने, सहयोग रकम दिनेजस्ता थुप्रै आश्वासनका पोका भिराएर थुप्रै मानिस फर्किए । तर, ती आश्वासन मृतकका आफन्तलाई थप निराश गराउन काफी भए ।

मृतकका आफन्तले सरकारबाट विनियोजन गरिएको १०/१० लाख राहत रकम पनि अहिलेसम्म बुझेका छैनन् । ‘राहत रकम बुझेपछि हामीले न्याय पाउँदैनौँ कि भनेर अहिलेसम्म लिएका छैनौं’, नवराजका बाबा मुनलाल भन्छन्, ‘हामीलाई पैसाभन्दा पनि न्याय चाहिएको हो ।’

घाइतेहरुलाई पनि राहत रकम उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।

एकातिर न्यायको लडाइमा छने मृतकका आफन्त अर्कातर्फ मुटु पोल्ने कतिपय सामाजिक बचन विचलित पार्छ उनीहरुलाई । ‘डोमहरु ठूलालाई हात हाल्न जादा ठिकै पर्‍यो । अझ अरु १२ जनालाई मारिदिएको भए खेल खत्तम हुन्थ्यो’, मुनलाल सम्झन्छन्, ‘कसैकसैले यतिसम्म पनि भनेको सुन्यौँ ।’

दायाँबाट क्रमश: मुनलाल, उर्मिला, लक्ष्मी, सविता र भीमीकुमारी

सबै जिजीविषालाई छाडेर न्यायको खोजीमा भौंतारिरहेका उनीहरुलाई छियाछिया पार्नका लागि कुनै शक्तिशाली बमभन्दा कम छैनन् यस्ता बचन ।

आफ्नै अगाडि बगेको भेरी नदीले पनि उनीहरुलाई उत्तिकै छियाछिया पारिरहेको छ । जहाँ १० जेठमा नवराजको शव भेटियो । र, २१ गते बग्दै गरेको गोविन्द शाहीको छैटौँ शव भेटियो । उनीहरुलाई भेरी नदी देख्नै नपरोस् जस्तो लाग्छ । तर, आफ्नै अगाडि उर्लिएको नदीसँग उठ्नेवित्तिकै आँखा ठोक्किइहाल्छ ।

भीमीकुमारी भन्छिन्, ‘जुन नदीमा हाम्रा छोराहरु बगे, अब त्यो खोलाको पानी पनि खाँदैनौँ, माछा पनि खाँदैनौँ । सकेसम्म त्यता आँखा नै लाउँदैनौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?