+
+

होटेल-रेष्टुरेन्ट संघ रुपन्देहीमा ओली समूहविरुद्ध अन्य दलको संयुक्त प्यानल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १३ गते २०:१३

१३ फागुन, बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आगामी नेतृत्वका लागि नेकपाको ओली समूहविरुद्ध नेकपाकै प्रचण्ड-माधव समूहसहित अन्य दल समर्थक व्यवसायीहरुको संयुक्त प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।

संघको यही फागुन १६ र १७ गते १० औं अधिवेशन हुँदैछ । करिब ९ सय व्यवसायी आवद्ध संघको नेतृत्वका लागि ओली समूहले एकलौटी रुपमा उम्मेदवारी घोषणा गरेपछि अन्य दलहरुको समर्थनमा बिहीबार अर्को प्यानल घोषणा भएको हो । नेकपाको प्रचण्ड-माधव समूहले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दलहरुसँग मिलेर संघका वरिष्ठ उपाध्यक्ष जीवनप्रसाद श्रेष्ठको नेतृत्वमा उम्मेदवारी सार्वजनिक गरेको हो ।

अध्यक्षका प्रत्यासी श्रेष्ठले आफू वरिष्ठ उपाध्यक्ष भएकाले अध्यक्षमा स्वतः दाबेदारी हुँदाहुँदै ओली समूहले आफूलाई बाइपास गरेर प्यानल घोषणा गरेपछि सबै दलको समर्थनमा आफूले साझा प्यानल घोषणा गरेको बताए । संयुक्त प्यानलबाट वरिष्ठ उपाध्यमा लालबहादुर केसी, प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी, द्वितीय उपाध्यक्षमा चिरञ्जीवी पोखरेल तथा महासचिवमा प्रेम बञ्जाडेले उम्मेदवारी घोषणा गरेका छन् । यसैगरी सचिवमा अर्जुन थापा, कोषाध्यक्ष चुत्रबहादुर पौडेल र सहकोषाध्यक्षमा खेमराज पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै कार्यकारिणी सदस्यका लागि प्रदीप जीसी, केशव कँडेल, दिनेश भुसाल, रिना काफ्ले, यम गलामी, कृष्ण पाण्डे, दीपक योगी, लक्ष्मण बस्याल, सुन्दर श्रेष्ठ, होमबहादुर केसी र प्रेम भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । यो प्यानललाई संघका पूर्वअध्यक्ष तथा होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, संघका पूर्वअध्यक्ष मोदनाथ बेल्बासे, पूर्वअध्यक्ष प्रेमलाल पाण्डे, पूर्वउपाध्यक्ष देवीकुमार श्रेष्ठ लगायतले समर्थन गरेका छन् । उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष तथा पदाधिकारीहरुले श्रेष्ठ नेतृत्वको प्यानल राजनीतिक हिसाबले सबै दलको साझा र क्षेत्रगत हिसाबले पनि जिल्लाभरका व्यवसायीको साझा प्यानल भएकाले जित सुनिश्चित हुने बताए ।

ओली समूहको प्यानलले संघलाई बुटवलको इट्टाभट्टी क्षेत्रका व्यवसायीको मात्रै संस्था जस्तो बनाउन खोजेको र संघमा आर्थिक पारदर्शिता कायम गर्न नसकेको संयुक्त प्यानलको आरोप छ । ओली समूहको समर्थन रहेको प्यानलले संघमा गरेको आर्थिक हिनामिनाबारे केही दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने संयुक्त प्यानलका चुनाव प्रचारप्रसार समिति संयोजक मोदनाथ बेल्बासेले बताए ।

उम्मेदवारी घोषणा कार्यक्रममा नेकपा प्रचण्ड-माधव समूहका रुपन्देही अध्यक्ष राजु गुरुङ, नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेय, कांग्रेस नेता काजीमान श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता यज्ञ पोखरेल, राष्ट्रिय जनमोर्चाका नेता टानबहादुर केसी लगायतका नेताहरुको उपस्थिति थियो । संघका वर्तमान अध्यक्ष समुन्द्र जीसीको समर्थन रहेको नेकपा ओली समूहको प्यानलमा रामप्रसाद गौतमको नेतृत्वमा यसअघि नै उम्मेदवारी घोषणा भएको छ । उक्त प्यानलबाट वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम, प्रथम उपाध्यक्षमा मोहन पाण्डे, महासचिवमा माधव खनाल, सचिवमा अर्जुन थापा, कोषाध्यक्षमा टंक पराजुली तथा सह कोषाध्यक्षमा देवु ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।

लेखकको बारेमा
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?