
१४ फागुन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायलाई जग्गा दिन नसकिने बताएका छन् । जग्गाको माग गर्दै आन्दोलनरत बादी समुदायसँग शुक्रबार आफ्नै कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।
‘प्रदेश सरकारले चाहेर पनि जग्गा दिन सक्दैन, जग्गा दिनसक्ने कानुनी अधिकार हामीसँग छैन’ मुख्यमन्त्री शाहीले भने । तर, वादी समुदायलाई आयआर्जन गर्ने, घर बनाउने लगायतका अन्य कुनै पनि सहयोग गर्न प्रदेश सरकार तयार रहेको उनले बताए।
मुख्यमन्त्री शाहीले जग्गा दिन सक्ने अधिकार स्थानीय तह र संघ सरकारसँग मात्रै भएको बताउँदा वादी समुदाय नाराबाजीमा उत्रिएका थिए । सरकारले जग्गा नदिएसम्म धर्ना जारी राख्ने उनीहरुको भनाइ छ ।
मुख्यमन्त्री शाहीले आफूहरुलाई चित्तबुझदो जवाफ नदिएको अगुवा हिक्मत वादीले बताए । अब थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए । दैलेख, जाजरकोट, कालिकोट र सुर्खेतका वादी समुदाय स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै पाँच दिनदेखि धर्नामा बसेका छन् ।
झण्डै ४ सय वादी समुदायका व्यक्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्नामा बसेका छन् ।
प्रतिक्रिया 4