
१४ फागुन, पर्सा । शहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री पद नपाउने टिप्पणी गरेका छन् ।
शुक्रबार पर्साको छिपहरमाई गाउँपालिकामा आयोजित नेकपा ओली समूहको कार्यक्रममा उनले जति षड्यन्त्र र छल गरे पनि प्रचण्ड-माधवको प्रधानमन्त्री बन्ने सपना साकार नहुने धारणा राखे । प्रचण्ड र माधव नेपालले पार्टी ध्वस्त बनाएको आरोप लगाउँदै मन्त्री साहले उनीहरू आफैँले खनेको खाल्डोमा फस्ने बताए ।
‘संसद पुनर्स्थापनापछि प्रचण्ड र माधव नेपाल सांसद किनबेच गरेर गणितीय फोहोरी खेलमार्फत् प्रधानमन्त्री बन्ने सपना देखिरहेको भए पनि पूरा हुँदैन,’ मन्त्री साहले भने, ‘सत्ता हत्याउन प्रचण्ड र माधव नेपालले रोपेको अस्थिरताको काँडाले उनीहरूलाई घोच्छ ।’
साहले नयाँ सरकार निर्माणका लागि गणितीय फोहोरी खेलको सुरु भएको पनि बताए । उनले प्रदेश २ को सरकार भ्रष्टाचारमा लिप्त रहेको पनि आरोप लगाए । मधेसी जनताको नाउँमा चुनाव जितेर प्रदेश सरकारले आफैं कमिसन लिएर ठेकदार र कार्यकर्ता पालिरहेको उनको आरोप छ ।
प्रतिक्रिया 4