Comments Add Comment

विद्यार्थीको प्रश्न- योजना छनोटमा खोई बाल सहभागिता ?

१८ फागुन, वीरगञ्ज । प्रायः कार्यक्रमहरुमा जनप्रतिनिधिहरुले आफ्ना कुरा सुनाएर जान्छन् । आफूलाई अति नै व्यस्त जनाउन तोकिएको समयभन्दा ढिलो आउने र भाषण गरेर जाने चलन छ । तर शनिबार बाराको प्रसौनी गाउँपालिकास्थित बेंगा साह माविमा दृश्य फरक देखियो । त्यहाँ न कुनै मञ्च थियो, न पाल टाँगिएको थियो ।

गाउँपालिका अध्यक्ष भोला गुप्ता र उपाध्यक्ष गीता साह विद्यार्थी बस्ने डेस्क-बेञ्च र उनीहरुकै कक्षा कोठामा थिए । उनीहरुको हातमा कलम कापी थियो । बेंगा साह मात्रै नभएर प्रसौनी गाउँपालिकाका अन्य वडाका विद्यालयका विद्यार्थीसमेत कार्यक्रममा सहभागी थिए ।

अध्यक्ष गुप्ता शिक्षण पेशाबाटै राजनीतिमा लागेका व्यक्ति हुन् । त्यसैले उनलाई विद्यार्थीको कुरा सुनौं भन्ने लागेछ । सहभागी सबै विद्यार्थी भएकोले अधिकांश प्रश्न शिक्षा र विद्यालयसँग जोडिएर आउनु स्वभाविक नै हो । तर कतिपय बालबालिकाले आफ्नो र समाजका लागि पनि प्रश्न गरे ।

बेंगा साह माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी गौरीशंकर यादवले अध्यक्ष-उपाध्यक्ष समक्ष प्रश्न सोधिहाले– स्थानीय तहले योजना छनौट गर्दा बालबालिकालाई किन सहभागी गराइँदैन ? तनु गिरीले पनि त्यस्तै प्रश्न गरिन् । उनले सोधिन्- ‘बालबालिकालाई किन कुनैपनि क्षेत्रमा सहभागी गराइँदैन ?’

जवाफमा अध्यक्ष गुप्ताले भने, ‘युवा, किसान, महिला, ज्येष्ठ नागरिक सबैलाई सहभागी गराएका छौं । बालबालिका छुटेका रहेछन्, आउँदो असारको बजेट बनाउँदा बालबालिकालाई अनिवार्य सहभागी गराउनेछौं ।’

प्रसौनी बञ्जरियाका विद्यार्थी श्रवणकुमार मण्डलले उपाध्यक्षतर्फ लक्षित गरेर प्रश्न गरे– बालविवाह रोक्न गाउँपालिकाले कस्तो रणनीति अपनाएको छ ?

जवाफमा उपाध्यक्ष साहले भनिन्, ‘बालविवाह रोक्ने रणनीति अन्तर्गत नै गाउँपालिकाले बेटी पढाऊ, बेटी बचाऊ योजना ल्याएको छ । जसअन्र्तगत बालिका बीमा योजना र कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने योजना राखिएको छ । जन्मेको ३५ दिनभित्र बालिकाको जन्मदर्ता गरेपछि बालिका बीमा योजनामा सहभागी हुनसक्छन् । २० वर्षपछि उनीहरुले एकमुष्ट रकम पाउँछन्, विवाहमा वा अगाडिको पढाइमा खर्च गर्न सकिन्छ । त्यस्तै स्नातक अध्ययन गराइसकेपछि छोरीको विवाह गर्दा गाउँपालिकाले नगद ५१ हजार रुपैयाँ पुरस्कार दिने घोषणा यसअघि नै गरेको छ । यसले पनि बालविवाहलाई घटाउन मद्दत गर्छ । यस वर्षका लागि वितरण गर्न साइकल आइसकेको छ । तर विद्यालयबाट नामावली नआएको र प्रमुख प्रशासकीय अधिकृत नहुँदा वितरण हुन सकेको छैन ।’

सरस्वती नेपाल राष्ट्रिय माविका रुपेशकुमार कुशवाहले विद्यालयमा शौचालय भएपनि शौच गर्न नमिल्ने खालको भएको गुनासो गरे । उनको गुनासो थियो– ‘विद्यालयमा लाइब्रेरी छ, तर नयाँ पुस्तक छैन । धारा छ, तर पिउनलायक शुद्ध पानी आउँदैन । विषयगत शिक्षक नहुँदा अध्यापन राम्रो हुँदैन ।’

रुपेशको गुनासो सुनेपछि अध्यक्ष गुप्ताले विद्यालयको अवस्था बिग्रिनुमा ५० प्रतिशत जिम्मेवार स्वयं विद्यालय हुने बताए । उनले २५ प्रतिशत समाज र बाँकी २५ प्रतिशत गाउँपालिकाले जिम्मेवारी लिनुपर्ने बताए । आफूले पालिकाका प्रधानाध्यापकहरुको बैठकमा उनीहरुलाई जिम्मेवार भइदिन पटक–पटक आग्रह गरेको, तर कतिपय प्रधानाध्यापक स्वयं विद्यालयमा ढिलो जाने, चाँडै निस्कने, विद्यालयको समस्या समाधानका लागि चासो नदिने गरेको पाएकोले त्यस्ता प्रधानाध्यापकलाई सरुवा गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए । विद्यालयको समस्याबारे प्रधानाध्यापकलाई गुनासो गर्न आग्रह गर्दै उनले त्यताबाट सुनुवाइ नभए गाउँपालिकाले आवश्यक कदम चाल्ने बताए ।

‘वर्षको एक पटक बजेटिङ हुन्छ, विद्यालयका लागि के के अत्यावश्यक छ ? भनेर हामीले योजना माग गरेका हुन्छौं । हामीले सकेको सहयोग गरेका छौं ।’ उनले भने ।

विद्यार्थी नेहा कुमारीले किशोरीहरु महिनावारी हुँदा पनि विद्यालयमा नियमित आउने वातावरण बनाउन गाउँपालिकाले कस्तो व्यवस्था गरेको छ भनेर प्रश्न गरिन् ।

नेहा कुमारीको जिज्ञासा मेटाउँदै उपाध्याक्ष साहले भनिन्– ‘त्यसको लागि विद्यालयमा सेनेटरी प्याड मेसिन जडान गर्ने तयारी भइरहेको छ । मेसिन जडानपछि एटीएमबाट पैसा निकाले जसरी आवश्यक पर्दा सिक्काको मद्दतबाट सेनेटरी प्याड निकाल्न सकिन्छ । विद्यालयहरुको शौचालय राम्रो थिएन । त्यसैले पहिला शौचालयको मर्मत सम्भारमा लाग्यौं । विद्युतको सुविधा भएको ठाउँमा मात्रै मेसिनले काम गर्छ । छिट्टै जडान गर्छाै‌।’

अर्की विद्यार्थी शान्ति कुमारीले सोधिन्, ‘अनाथ बालबालिकाको स्वास्थ्य शिक्षाका लागि गाउँपालिकाले के कस्तो व्यवस्था गरेको छ ?’

अध्यक्ष गुप्ताले अनाथ बालबालिकालाई निःशुल्क पढाउने जिम्मा आफैं लिने प्रतिवद्धता जनाए । ‘यो विषयमा सञ्चारमाध्यमबाट सार्वजनिक रुपमा नैै मैले पटक–पटक प्रतिवद्धता जनाइसकेको छु,’ उनले भने, ‘तपाईंहरुले पनि गएर गाउँटोल छिमेकमा सबैलाई भनिदिनुस् ।’

अर्का विद्यार्थी रोशनराज गिरीले विद्यालयले प्रत्येक वर्ष ७ सय रुपैयाँ लिने गरेको गुनासो गरे ।

अध्यक्ष गुप्ताले विद्यालयलाई कुनैपनि शुल्क लिन सहमति नदिएको बताए । ‘तर पनि यो भइरहेको गुनासो आइरहेको छ । यो विषयमा विद्यालयसँग सोधपुछ गर्छु,’ उनले भने, ‘हामीले नीति बनाउने हो, त्यसको पालना सबैले गर्नुपर्छ । तर नगर्दा समस्या उत्पन्न हुन्छ ।’

नेपाल राष्ट्रिय माविका हारुन अन्सारीले अपांगता मैत्री विद्यालय बन्न नसकेको गुनासो गरिन् ।

जवाफमा अध्यक्ष गुप्ताले हरेक विद्यालयमा अपांगता भएका बालबालिकामैत्री शौचालय र अन्य संरचना बन्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताए  । अब बन्ने संरचना अपांगता मैत्री बन्ने उनले प्रतिवद्धता जाहेर गरे ।

विद्यालयमा प्रधानाध्यापक, शिक्षक समयमा नआउने गरेको, कक्षाकोठामा झ्याल ढोका नभएको, बेञ्च पुरानो भइसकेको, कतिपय विद्यालयमा पंखा, ह्वाइट बोर्ड नभएको, शिक्षकले विद्यालयमा गुट्खा, सुर्ती खाने गरेको, ल्याब भएको तर प्रयोगमा नआएको जस्ता गुनासो बालबालिकाले गरेका छन् । त्यस्तै उनीहरुले सामाजिक सञ्जालको दुरुपयोग बढेको, गाउँ समाजमा हिंसा र दुर्व्यवहार घटना बढेको सम्बन्धमा आवाज उठाए ।

गाउँपालिका अध्यक्ष गुप्ता र उपाध्यक्ष साहले सबै समस्याको समाधान एकैपटक नहुने क्रमशः समाधान गर्दै जाने आश्वासन दिए । विद्यालयमा प्रधानाध्यापक, शिक्षक समयमा नआउने र समयसम्म नबस्ने जानकारी आफूहरुले पाएको बताउँदै त्यस्ता प्रधानाध्यापक र शिक्षकलाई कारबाहीका लागि पहल गर्ने उनीहरुको भनाइ छ ।

‘विद्यालयमा सुधारका लागि पहल भइरहेको छ, सबै कुरा एकैपटक परिवर्तन हुँदैन, सबैको साथ पाउँदा समस्या समाधान गर्न सहज हुन्छ । सबैले आ–आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नुपर्छ,’ अध्यक्ष गुप्ताले भने, ‘शिक्षा क्षेत्रका समस्या समाधानका लागि शिक्षा समितिमा कुरा राख्छु । अन्य समस्याहरु पनि क्रमशः समाधान हुँदै जान्छन् ।’

उनले आफू भाषण गर्ने नभई काम गरेर देखाउने जनप्रतिनिधि भएको भन्दै केही समयपछि नतिजा आउने दाबी गरे ।

गाउँपालिकाले पहिलोपटक राखेको विद्यार्थीसँग मेयर तथा उपमेयर कार्यक्रमको सहजीकरण गैरसरकारी संस्था संरक्षण नेपालले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment