Comments Add Comment

बीएण्डसीलाई सम्बन्धन दिने प्रधानमन्त्रीको वचन

१८ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजलाई छिट्टै काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने दाबी गरेका छन् ।

प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबावमा केयूको सिनेटबाट सम्बन्धन प्रक्रिया अगाडि बढाइएको छ । तर राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरित सम्बन्धन दिन खोजिएको भन्दै सिनेटकै सदस्यहरुले विरोध गरेका छन् ।

मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बी एण्ड सी अब छिट्टै मेडिकल कलेज बन्ने बताए । उनले भने, काठमाडौं विश्वविद्यालयलले छिट्टै सम्बन्धन दिनेछ ।’ अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उनी हिम्मत भएको मान्छे भनेका छन् ।

केयूका सहकुलपति समेत रहेका शिक्षामन्त्री श्रेष्ठले ८९ औं सिनेट सभामा बीएण्डसीलाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाउन दबाब दिएका थिए ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा नेतृत्वको विज्ञ टोलीले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२ बुझाएको थियो । माथेमा प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै डा. गोविन्द केसी पटक–पटक अनसन बसेपछि प्रतिवेदनको सिफारिस अनुसार सरकारले ऐन ल्याएको थियो ।

ऐनमा कुनै पनि विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नपाउने व्यवस्था छ । ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिइसकेको र मनसायपत्र लिई मापदण्ड पूरा गरेको उपत्यका बाहिरका शिक्षण संस्थाको हकमा आयोगले निर्णय गर्ने उल्लेख छ ।

केयूले यसअघि नै एमबीबीएसतर्फ ९ वटा मेडिकल कलेजलाई, बीडीएतर्फ ४ वटा मेडिकल कलेजलाई र बीएस्सी (नर्सिङ) तर्फ ५ वटा कलेजलाई सम्बन्धन दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment